कल सेन्टरको आवरणमा बढ्दै चिनियाँ अपराध अखडा

कल सेन्टरको आवरणमा बढ्दै चिनियाँ अपराध अखडा

काठमाडौँ : आपराधिक काम हुने गरेको आशङ्कामा प्रहरीले एकपछि अर्को कल सेन्टरमा छापा मार्दै भारतीय र चिनिया नागरिकलाई पक्राउक्रम बढाएको छ।

कल सेन्टरको नाममा सङ्गठित रूपमा साइवर क्राइम गर्ने गरेको आशङ्कामा प्रहरीले काठमाडौँभित्र र बाहिरका शङ्कास्पद स्थानमा छापा मारिरहेको छ।

प्रहरीले शनिवार रुपन्देहीको जानकीनगरमा छापा मारेर नौ जना चिनिया नागरिकलाई पक्राउ गरेको थियो। सोमबार काठमाडौँको तीनकुनेमा छापा मारेर ३६ जनालाई पक्राउ गरेको छ।

तीनकुनेमा 'स्काई वर्ल्ड सर्भिस सेन्टर'को नाममा व्यक्तिगत गोपनीयता ह्याकिङ गरेर रकमको मोलमोलाइ गर्ने र धम्क्याउने, प्रलोभनमा पारेर ठगी गर्ने लगायतका गतिविधि हुने गरेको सूचनाको आधारमा प्रहरीले छापा मरेको हो। 

पक्राउपर्नेमा एक चिनियाँ र दुई जना भारतीय नागरिक सहित ३६ जना छन्। आठ लाख रुपैयाँ, तीन सय ३२ थान ल्यापटप, सात सय ४८ थान डेस्कटप कम्प्युटर र एउटा डीभीआर  प्रहरीले बरामद गरेको छ।

नेपालमा बसेर अनलाईनमार्फत ठगी, व्यक्तिगत सूचना चोरी, चिट्ठा लगायतको प्रलोभनमा पारेर ठगी गर्ने जस्तो अपराधमा संलग्न भएको शंकामा तीन वर्ष अगाडि प्रहरीले चिनिया नागरिक लक्षित गरेर काठमाडौँ र काठमाडौँ बाहिर समेत छापा हानेर पक्राउ गरेको थियो।

प्रहरीले १५ हजार बढीको सूचना सङ्कलन गरेर अप्रेशन सुरु गरेको थियो। तर सोचेजस्तो सफल भने भएन।  १२२ जना मात्र समातियो। उनीहरूले नेपालमा बसेर गरेको अपराधबारे छानबिनै भएन। सबैलाई डिपोर्ट गर्यो सरकारले।

सामाखुसी र भक्तपुरमा पनि प्रहरीले छापा मारेर चिनियाँ र त्यहाँ कार्यरत नेपाली कामदारलाई पक्राउ गरेर मुद्दा चलाएको थियो।

९ साउन, २०७९, २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।