सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

सप्तरीः आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्वपश्चिम राजमार्गमा कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिब ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो।

उनको सनाखत हुन नसकेको उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले बताए।

विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो। घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको छ।

अन्य चार जना घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

९ असार, २०७९, १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।