पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालन गर्ने चीनको अनुरोध अस्वीकृत

पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालन गर्ने चीनको अनुरोध अस्वीकृत

एजेन्सीः पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालनका निम्ति चीनले गरेको अनुरोधलाई पाकिस्तानले अस्वीकार गरेको छ। चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी खोल्न गरेको अनुरोधप्रति आपत्ति जनाउँदै इस्लामावादले त्यसलाई अस्वीकार गरेको हो। 

गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा कुनै पनि देशले सुरक्षा कम्पनी स्थापना गर्न नसक्ने बताएका छन्। यता चीनले पाकिस्तानमा रहेका आफ्ना नागरिकहरूमाथि बढ्दो आक्रमणलाई दृष्टिगत गर्दै सुरक्षा कम्पनी खोल्न चाहेको बताइएको छ।

चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) परियोजनाअन्तर्गतका ग्यास पाइपलाइन र विद्युत् टावरहरूलाई लक्षित गरी बलुच विद्रोहीहरूले नियमित आक्रमण गरिरहेका छन्। यस्तै केही समयअघि कराँचीमा भएको आत्मघाती हमलामा परी तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको थियो।

चिनियाँ नागरिकमाथिको आक्रमण नियन्त्रण गर्न इस्लामावाद प्रहरीले विदेशी सुरक्षा इकाई स्थापना गरेको छ। विशेष गरी चिनियाँ नागरिकको सुरक्षाका निम्ति उक्त इकाई स्थापना गरिएको हो।

पाकिस्तानी अधिकारीहरूका अनुसार हाल इस्लामावादमा एक हजारभन्दा बढी चिनियाँ नागरिक दर्जनौँ विकास परियोजना, कम्पनी र व्यवसायमा संलग्न छन्। सीपीईसी परियोजनामा संलग्न चिनियाँलाई पाकिस्तानी सुरक्षा बल र अर्धसैनिक बलले सुरक्षा दिइरहेका छन्।

४ असार, २०७९, १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।