बालेनको 'एकला चलो रे' शैली : सँगै र्‍याली त गर्न नसक्नेले पाँच वर्ष मिलेर काम गर्लान् !

बालेनको 'एकला चलो रे' शैली : सँगै र्‍याली त गर्न नसक्नेले पाँच वर्ष मिलेर काम गर्लान् !

काठमाडौँ : सभा नगरौँ भनेका काठमाडौँ महानगरपालिका मेयर निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले विजयी र्यालीकै शैलीमा धन्यवाद र्यालीको आयोजना गरे शुक्रवार। र्यालीमा उनले कालो टोपी लगाएर हल्का हुलिया बदलेका थिए। उनी सवार गाडिमा सँगै थिए अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी जो चौथो भएर मेयरमा पराजित भए।

स्वतन्त्र उम्मेदवारको प्रतिनिधित्व गर्दै उनले सायमीलाई पनि जसरी महत्त्व दिएर आफूसँगै धन्यवाद सभामा लिएर गए त्यसले उनी सबैसँग मिलेर महानगरको मेयरको रूपमा काम गर्न इच्छुक भएको सन्देश गयो।

उपमेयरमा पपुलर मत ल्याएर निर्वाचित भइन् सुनिता डङ्गोल। भोलिका दिनमा बालेन्द्र उर्फ बालेनले निर्णयदेखि महानगरको कार्य योजनामा सबैभन्दा बढी विश्वासमा लिनुपर्ने उनैसँग हो। त्यसको प्रारम्भ मतदातालाई सँगै धन्यवाद दिएर हुन सक्थ्यो।

तर बालेनको र्यालीमा सुनिताको सहभागिता भएन। उनले एक्लै विजय र्याली निकालिन्। उनी एक्लै सहभागी भइन्। सुनिता एमालेको टिकटमा उपमेयरको उम्मेदवार बने पनि उनले पाएको मतसंख्या र एमालेको मेयरका उम्मेदवार केशव स्थापितले पाएको मतसंख्याले नै उनलाई मतदाताले केवल एमालेको उम्मेदवारको रूपमा मात्रै छानेको हैन भन्ने देखाउँछ नै।

उनले महानगरको नेतृत्वको यात्रा स्वतन्त्र उम्मेदवारकै रूपमा सुरु गर्ने प्रयास गरेकी थिइन् मेयरको स्वतन्त्र उम्मेदवारको रूपमा। पछि उनलाई एमालेले उम्मेदवार बनाउने भएपछि उपमेयरमा झरेकी थिइन् र विजयी पनि भइन्।

बालेनले काठमाडौँलाई विश्वको उत्कृष्ट सहर बनाउने दाबी गर्दा सुनिताले कान्तिपुर नगरी बनाउने घोषणा गरिन्। यसमा पनि उनीहरूबिचको सोच र योजनामा भिन्नता छ भन्ने देखायो नै। उनी पार्टीको उम्मेदवार भएकाले संगै र्याली नगरेको हुनसक्छ। संगै देखिएको भए महानगरको समस्या समाधानमा हातेमालो शुरु भएको राम्रो सन्देश जाने थियो।

मेयरलाई बालेनले कुनै कम्पनीको सिइओको रूपमा व्याख्या गर्दै आएका छन्। जब उनले मेयरको रूपमा आफ्नो जिम्मेवारी सुरु गर्नेछन् मेयर र सिइओको जिम्मेवारी कति फरक छ भन्ने उनले पक्कै बुझ्ने नै छन्। उनले महानगरबारे सार्वजनिक गरेका योजना गजवका छन्।

तर ती पुरा गर्न उनी एक्लैको प्रयासले मात्र सम्भव हुन्न। न त उनले भनेझैँ महानगरको हरेक बैठक लाइभ गरेकै भरमा बालेनले सधै महानगरवासीको साथ पाउन सम्भव छ। यो महंगो शहरमा बाँच्न काममा खटिने कि सधै बालेनलाई साथ दिन जाने ! महानगरले शानदार मत दिएर आफ्नो जिम्मेवारी निभाए। अब पालो बालेनको हो।

बालेनको पाँच वर्षीय कार्यकाल महानगरका जनप्रतिनिधीहरुसँग उनले कसरी सहकार्य गर्नेछन् भन्नेमै निर्भर हुने पक्का छ। महानगरभरी बालेनका शुभेच्छुक र समर्थक पक्कै छन्। तर महानगरको जनप्रतिनिधिमा उनी एक्लै छन्। भोलिको नगर सभामा उनी एक्लै हुने पक्का छ।

त्यो बेलामा उनले चाहे अनुसारको योजना कार्यान्वयन हुन उनलाई विशेष गरी कांग्रेसका जनप्रतिनिधीहरुसँगै एमालेका जनप्रतिनिधीहरुको साथ र सहयोग हुन आवश्यक छ। नत्र उनका योजनाहरू केवल उनकै मस्तिष्कमा मात्रै सीमित हुने जोखिम हुने छ नै।

किनकि अब बोलेर मात्रै काम छैन। अब महानगरवासीले उनको काम हेर्नेछन्। केही महिना नयाँ छन् भनेर महानगरवासी पर्खन सक्छन्। तर सधैँ बालेन एक्ला छन् अनि कांग्रेस र एमालेका जनप्रतिनिधिले काम गर्नै दिएनन् भनेर मात्र पत्याउने छैनन्।

सुनिताको साथमा ३२ मध्ये १२ वडाको वडाध्यक्ष छन्। त्यतिकै वडा सदस्यहरू पनि छन्। एक रूपमा उनको भूमिका प्रतिपक्षीको हुनसक्छ महानगरमा। मेयरमा कांग्रेस उम्मेदवार पराजित भए पनि कांग्रेसको आधिकारिक उम्मेदवारहरू १९ वडाको वडाध्यक्ष अनि त्यही रूपमा सदस्यहरू निर्वाचित भएका छन्। गठबन्धनमै रहेको एकीकृत समाजवादीले एक वडाध्यक्ष र केही सदस्य जितेको छ।

हिजो जनप्रतिनिधिको रूपमा काठमाडौँमा उल्लेखनीय काम हुन नसक्नुमा विद्यासुन्दर शाक्य जति दोषी छन् त्यतिकै दोष उपमेयर अनि वडा अध्यक्षहरूको पनि थियो नै। तर अपजसको एकलभारी शाक्यको काँधमा मात्र आयो। उनी एक्ला दोषी भए। कारण उनी नेतृत्वको पहिलो नम्बरमा थिए र महानगरवासीलाई मेट्रो रेल देखि मोनोरेलसम्मको सपना उनले देखाएका थिए।

रानीपोखरीको पुनर्निर्माणदेखि खुल्लामञ्चमा बसपार्क बनाउनेसम्ममा शाक्य जति जिम्मेवार थिए उपमेयर हरिप्रभा खड्की पनि उत्तिकै जिम्मेवार थिइन्। तर पाँच वर्षसम्मको उनको कार्यकाल जहाँ-जहाँ मेयरको विरोध हुन्छ त्यहाँ गएर कतै जस्तापाता हटाउने त कतै ताल्चा काट्ने नै सीमित भएको थियो।

उनले पाँच वर्ष महानगरको उपमेयरको रूपमा भन्दा पनि नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर जसको दायित्व एमालेबाट मेयर जितेका शाक्यको कामको विरोध गर्नु हो भन्नुझैँ देखिए। उनी सधैँ प्रतिपक्षीकै भूमिकामा रहिन्। महानगरमा वडाध्यक्ष र सदस्यहरू आफ्नै पार्टीकाहुँदा पनि शाक्यलाई खड्गीको चुनौतीको सामना गर्न हम्मे हम्मे भएकै हो।

यदि भोलिका दिनमा उपमेयर सुनितासँगै एमालेका जनप्रतिनिधि अनि कांग्रेसका जनप्रतिनिधीहरुले आफूलाई मेयरको सहयोगीको रूपमा नभई प्रतिपक्षीको भूमिकामा केन्द्रित गरेमा बालेनको काठमाडौँ बदल्ने सपना केवल सपनामै सीमित हुने पक्का छ।

अर्को महानगरको कर्मचारी प्रशासन। कर्मचारी प्रशासनमा सुधार र काम गर्ने जाँगर नभरिएसम्म जनप्रतिनिधीहरुले चाहेर पनि परिवर्तन सम्भव छैन। महानगरको कर्मचारी प्रशासन कसरी कांग्रेस अनि एमालेका कार्यकर्ताहरूबाट भरिएको छ भन्ने उनले केही महिनामै पक्कै अनुभव गर्ने नै छन्। जब उनले दिएको निर्देशक कार्यकारी अधिकृतले' हजुर यो त नियम अनुसार मिल्दैन नि' भनेर पन्छिने छन् अनि बल्ल बुझ्ने छन् मेयरको अधिकारको क्षेत्राधिकार।

त्यसैले उनले अब एक्लै हैन जनप्रतिनिधि अनि कर्मचारी प्रशासन मिलाएर सामूहिक रूपमा हिँड्ने अनि सामूहिक रायको आधारमा निर्णय गर्ने अभ्यासको प्रारम्भ गर्न जरुरी छ। तर उनी निर्वाचित भएको पहिलो दिनमै उनले यो सामूहिक भावना देखाउन चुकिसके। 

त्यसको प्रमाण धन्यवाद र्यालीमा उपमेयर सुनितासहितलाई सहभागी नगराउनु मात्रै हैन काठमाडौँको फोहोरको दीर्घकालीन समस्या समाधान गर्न उनी एक्लै सिसडोल र बन्चरे डाँडा पुगेर' फोहोर समस्या समाधान नगरेसम्म उत्सव मनाउदिन अनि अन्तर्वार्ता नि दिन्न' भन्ने बेतुके घोषणाले पनि त्यही देखाउँछ।

उनले साङ्केतिक रूपमा विजयोत्सव नमनाउने अनि अन्तर्वार्ता नदिने भनेका होलान्। तर समस्याका अगाडि यसको कुनै अर्थ छैन। दैनिक पर्ने पानीले सडकमा थुप्रिएको फोहोर कुहिएर हरेक चोक र गल्ली नै डम्पिङ साइड समान बनेका छन्। दिनकै महोत्सव मनाए पनि हुन्छ। तर फोहोर उठ्नुपर्यो। फोहोर सडकमा थुप्रिएकै थुप्रिएकै हुने अनि मैले त्यही भएर त उत्सव मनाएको छैन भन्नुको कुनै अर्थ हुन्न।

मेयरको सपथ लिएसँगै उनले वातावरण विभागका कर्मचारी बोलाएर तत्काल सडकको फोहोर एकै ठाउँमा संकलन गर्नसक्ने उपायबारे छलफल गरेको भए प्रभावकारी हुनसक्थ्यो कि। त्यसमा पनि उनले फोहोर ब्यवस्थापनसँगै महानगरको हरेक महा-समस्याबारे रिसर्च गरेको दाबी गरिरहेका छन्। सपथ खाएर गर्ने पहिलो निर्णय नै यही काठमाडौँको दिर्घरोग बनेको फोहोर ब्यवस्थापनको अचुक अश्त्रबारे गरे झन् गजव हुन्थ्यो।

तर शुक्रबार उनको पहिलो दिन हो। सपथ खानै बाँकी छ। नगर कार्यपालिकाको निर्वाचन हुनै बाँकी छ। पहिलो दिनकै काम गराइ हेरेर पाँच वर्षको समिक्षा गर्नु त्यति उत्तम पक्कै हुन्न। तर घामको पहिलो किरणले दिनको अवस्था देखाउँछ भने जस्तै उनको पहिलो दिनको काम गराईले पनि धेरै संकेत त गरेको छ नै। जुन सुखद देखिएन।

त्यसैले बालेन अनि उनका टिमले 'एक्लै हिँड्दा कहीँ पुगिँदैन' भन्ने जति चाँडो बुझ्छन् काठमाडौँवासीले त्यति चाँडो असल जनप्रतिनिधि चयन गरेको अनुभव गर्न पाउनेछन्। बालेन यसरी नै एक्लै हिँडे काठमाडौँवासी पाँच वर्ष बालेनको एकल महत्त्वाकाङ्क्षाको सिकार बन्नेछन्। र अर्को निर्वाचनको पर्खाइमा रहनेछन्।

१३ जेठ, २०७९, २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।