मतगणना सकिएका अनि गणना भइरहेका वडाको मतको ट्रेन्ड एक मत लौरो र उपमेयरमा सूर्यमा खसेका छन्। बाँकी छ मत कि पाँच दलीय गठबन्धनलाई कि एमालेका उम्मेदवारहरूले पाएका छन्।
बालेनलाई गएका यस्ता अधिकांश मतपत्रमा एमालेका उम्मेदवारले मत पाएका छन्। मत गणनाको प्रारम्भ नै एमालेको पकड बलियो मानिने क्षेत्रहरूबाट भयो। जहाँ मेयरका उम्मेदवार केशव स्थापितले पाएको मतभन्दा उपमेयर अनि वडाका उम्मेदवारहरूले पाएको मतसंख्यामा धेरै उतारचढाव छ।
यसले बालेनको प्रभाव रुखमा मत दिन सक्ने मतदातामा भन्दा सूर्यमा मत हाल्ने मतादातामा बढी प्रभाव देखियो। अधिकांश वडाहरूमा सिर्जना सिंहले पाएको मत र अन्य उम्मेदवारले पाएको मतमा धेरै अन्तर छैन।
वडा नं ३,४,५,६,३१ र ३२ गणना चलिरहँदा बालेन झन्डै दोब्बर मतले अघि छन्। स्थापितका मत र सिंहको मत जोड्दा बालेनले प्राप्त गरेको मत बराबर हुन आउँछ।
उकेराले कुरा गरेका स्थापितको कोर टिमका केही सदस्यहरू अहिले गणना भइरहेको स्थानमा बालेनले अग्रता लिएकोमा भन्दा बढी सिंहको मत र कांग्रेसका उम्मेदवारहरूले पाएको मतबिच त्यति धेरै अन्तर नदेखिनुले चिन्तित देखिए।
उनीहरू वडा नम्बर ११ देखि २६ सम्मको गणना सुरु भएपछि मात्रै स्थापितको अवस्था प्रस्ट हुने दाबी गर्छन्।
'गणना सकिएका र गणना भइरहेका वडामा मेयर र वडाका उम्मेदवारले पाएको मतमा धेरै अन्तर देखियो। तर त्यही रूपमा कांग्रेसलाई प्रभाव परेको देखिएन,' नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने' हाम्रो चासो वडा ११ देखि २८ सम्मको हो। यसमा बालेनसँगै सिंहको आउने मतसंख्याले पनि हाम्रो उम्मेदवारको स्थान पक्का गर्छ।'
यस अगाडि एमालेले नेतृत्व गरेको अनि अहिले पनि वडाध्यक्ष जितेको २ वटा वडासँगै गणना भइरहेको वडामा एमालेको मेयर र वडाका उम्मेदवारहरूले पाएको मतमा धेरै अन्तर छ नै। त्यो रूपमा कांग्रेसमा कम अन्तर देखियो।
जस्तो गणना कसिएको वडा १ मा ६ सय २२ मत ल्याएर एमालेका भरतलाल श्रेष्ठ अध्यक्षमा जिते। तर त्यहाँ स्थापितले ३ सय ६५ मात्र मत पाए। बालेनको ७८३ मत आयो। सो वडामा सदस्यमा पनि सबैभन्दा कम मत ल्याउनेले पाँच सय पाँच ल्याएका छन्।
कांग्रेसका वडा अध्यक्षका उम्मेदवार किरण श्रेष्ठले ५ सय ९८ मत पाउँदा सिंहले ४ सय ५१ मत पाएकी छिन्।
वडा २ मा वडा अध्यक्षले १ हजार ३ सय ७७ मत ल्याए। एमालेका वडा सदस्यका उम्मेदवाहरुले पनि १३ सय भन्दा कम मत पाएनन्। तर स्थापितले ७ सय २८ मात्र पाए।
त्यही कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सूर्यलाल महर्जनले ९ सय ६३ मत ल्याउँदा सिंहले ४ सय ९७ मत पाइन्। वडा नम्बर ३ को मतगणना जारी छ। अहिलेसम्म वडा अध्यक्ष र सदस्यहरूमा ११ सय भन्दा बढी नै मत आइसकेको छ। कांग्रेसका उम्मेदवारले ६ सय माथि मत ल्याइरहेका छन्।
स्थापितले वडाका उम्मेदवारभन्दा आधा ६ सय ७८ मत ल्याएका छन् भने सिंहले ६ सय ३०। वडा ४ मा वडा अध्यक्षका उम्मेदवारले १ हजार ७ सय २६ मत ल्याउँदा स्थापितले ८ सय पाएका छन्। रुखका वडाका उम्मेदवारले ८ सय ७० मत पाउँदा सिंहले ६ सय ८८ पाएकी छिन्।
'कांग्रेसको मेयरले जति मत पाएका छन् वडाका उम्मेदवारले पनि लगभग त्यही हाराहारीमा मत पाएकाले बालेनको त्यति धेरै प्रभाव परेको देखिएन। तर एमालेको हकमा वडाको टिमले पाउने मत र मेयरमा खसेको मतमा धेरै नै फरक देखियो। यो अब कोर क्षेत्रले मात्र पुरा गर्न सक्छ,' अर्का एक सदस्यले भने।
‘०७४ मा विवेकशील साझाको यस्तै ह्वीम थियो। अहिले त्यो बिर्से जस्तो छ,' एमाले काठमाडौँ महानगर अध्यक्ष निर्मल देउलाले भने, ‘रिङ रोड क्षेत्रको गणना भइरहेको छ। जति भित्र जान्छ वास्तविक तस्बिर त्यहाँ देखिन्छ।’
स्विङ भयो होला त रैथाने मत ?
महानगरको ३२ वडाका ३ लाख २ सय ४२ मतदातामध्ये यो पाली १ लाख ९१ हजार १ सय ८६ जनाले मतदान गरेका छन्। त्यसमा हरेक निर्वाचनमा रैथाने मतदाताको मत निर्णायक हुने गरेको देखिन्छ।
२०७४ को स्थानीय तहको निर्वाचनमा विद्यासुन्दर शाक्यसँग पराजित भएका राजुराज जोशी आफ्नो हारको मुख्य कारण रैथानेको १२ हजार मत शाक्यलाई जानु रहेको दाबी गर्छन्।
रैथाने बस्तीको ७३,४१९ मतमा ४९,७१० मत खसेको छ। यो मत स्विङ भएको छ या छैन यसले नै निर्णय दिने देखियो। विगतको निर्वाचनको ट्रेन्ड हेर्ने हो भने यी मत त्यति धेरै स्विङ हुने गरेको छैन।
महानगरपालिकाका ३२ मध्ये भित्री सहरका १२ वटामा खसेको मतको प्रतिशत पनि राम्रो छ। १२, १३, १७, १८, १९,२०, २१, २२, २३, २४, २५, २७ मा मखन, महाबौद्धदेखि कालीमाटीसम्म पर्छन्। रैथाने बस्तीको ७३,४१९ मतमा ४९,७१० मत खसेको छ।
रैथानेको बहुमत रहेकोमध्ये वडा नम्बर १३ र १७ मा आधा जसो मतदातालाई रैथानेभन्दा बाहिरको मानिन्छ। १ लाख ४१ हजार ४ सय ७६ मत कोर क्षेत्रबाहिर देखिन्छ।
एमालेका प्रतिनिधि यही क्षेत्रको मतमा बढी विश्वस्त देखिए। गत वर्षको तुलनामा योपालि मतदान गर्ने लाइनमा युवाहरूको सङ्ख्या उल्लेख्य रहेको र तीमध्ये अधिकांश मत बालेनतिर जान सक्ने भए पनि बहुमत भने आफ्नो पक्षमा आउने उनीहरूको आकलन देखियो।
‘कोर सिटी प्रवेश गर्दै गर्दा हरेक वडाको पछि परेको मत उल्ट्याएर अघि बढ्छौँ,’ उनले दाबी गरे' प्रतिस्पर्धा हुने एमाले र काङ्ग्रेसबिच नै हो।'
एमाले आफ्नो उम्मेदवारले जित्नेमा अलि बढी नै ढुक्क देखिए पनि कांग्रेसका भने अलमलमै देखिए।
कांग्रेस काठमाडौँ महानगर सभापति नीलकाजी शाक्य भित्री सहरी क्षेत्रको मत गणना सुरु भएपछि दृश्य बदलिन सक्ने भए पनि अहिले यसै हुन्छ भन्न गाह्रो रहेको बताउँछन्।
भित्री सहरमा बालेन भन्दा सायमी को डर
मत गणना भैसकेको १, २ अनि गणना भइरहेको ३,४ र ३२ वडा एमालेको राम्रो पकड भएको क्षेत्र मानिन्छ। वडा नम्बर १६ र ३१ मा आस गर्न सकिने एमाले नेता बताउँछन्। मतगणना हुन बाँकी ७, १३, १५, १८, २०, २१, २२, २४, २७ मा एमाले बलियो रहेको र वडा नम्बर ८, १२, १४, २३, २५ र ३० मा कांग्रेसँग टक्कर पर्ने उसको अनुमान देखियो।
कांग्रेसले ७, ८, १३, १४, १६, २३, २६ मा आफू बलियो रहेका अनि २२, २५, ३० मा त कसैसँग प्रतिस्पर्धा नै नभएको कांग्रेसको दाबी छ। आगन्तुक मतदाता रहेको क्षेत्रमा बालेनले मत काटेझैँ कतै भित्री सहरमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पो मत काट्ने हो कि भन्ने भय भने देखियो एमालेका नेताहरूमा।
सायमीले भित्री सहर बाहिर पाँच सय ५८ मत ल्याइसकेका छन्। निर्वाचन प्रचारको क्रममा भित्री सहरमा उनको बलियो प्रभाव देखिएको थियो। उनको पृष्ठभूमि कम्युनिस्ट भएको र सम्पदा संरक्षण र सडक विस्तार अभियान विरुद्ध लागेकाले रैनाथेहरुको मत उनलाई जानेमा एमाले र कांग्रेसका नेताहरू सहमत देखिए।
'सायमीले भित्री सहरमा १० हजार मत ल्याए भने हामी प्रतिस्पर्धी मात्रै हुन्छौँ,' एमालेका एक नेताले भने' अहिले हाम्रो चासो अब बालेनले कति ल्याउलान् भन्दा पनि सायमीले कति ल्याउलान् भन्नेमा छ।'
गुठीको त्रास पनि आश पनि
काठमाडौँको गुठी परम्पराबारे जानकारसँगको कुराकानीमा काठमाडौँ महानगरको ७ वडादेखि २८ वडैसम्म यसको प्रभाव रहेको देखियो। मुख्य त जात्रा चलाउने र मृत्यु संस्कारको अलग गुठी रहेको र यसमा जात्रा चलाउने गुठी प्रभावकारी हुने गरेको देखियो।
मुख्यतः काठमाडौँमा महर्जन, खड्गी र मानन्धर गुठीलाई बलियो मानिन्छ। यी बाहेक तुलाधर, शाक्य, बज्राचार्य लगायतकाको गुठीको प्रभाव पनि देखिन्छ चुनावमा। आँखीझ्याल चिन्ह लिएर उठेका सुमनको मानन्धर गुठीमा समेत राम्रो प्रभाव रहेकाले त्यसको प्रभाव मतदानमा परेको भए स्थापितलाई जित्न मुस्किल हुने कोर टिमको सदस्यहरूको निष्कर्ष देखियो।
'यस अगाडि एमालेबाट मेयर बनेका विद्यासुन्दर शाक्यको बाहिर जति आलोचना भए पनि गुठीमा उनको राम्रो प्रभाव छ। उनले भूकम्पबाट भत्किएका गुठीका आँगन घरदेखि सबैको मर्मत गर्न र नयाँ बनाउन सहयोग गरेका छन्। त्यसको प्रभाव मतमा देखिने हाम्रो आस हो,' ती सदस्यले भने' यो पटक युवाहरूले गुठीले भनेको मान्ने देखिएन। तर अन्यको भोट अन्त जान गाह्रै देखिन्छ।'
कांग्रेसको पनि गुठीकै भोटमा आस गरेको देखियो। अनी सायमीले बालेनझैँ भोट काटिदिने त्रास पनि देखियो। शाक्य बज्राचार्य र खड्गी गुठीको राम्रो मत आउनेमा कांग्रेसका नेता अलि विश्वस्त देखिए। तर उनीहरू ठोकुवै गर्ने अवस्थामा भने देखिएनन्। त्यसको कारण सायमीको भित्री क्षेत्रमा रहेको प्रभावै देखियो।
‘अहिले सबै अनुमान फेल भइरहेको छ। कोर सिटीको आकलन मिल्दैन, अहिले नगरौँ,’ शाक्यले भने, ‘कोर एरियामा कुन ट्रेन्डले भोट आउँछ त्यसमा भर पर्छ। क्यालकुलेशनमा सबै गल्ती भइरहेको छ।’