'मैले मेयरमा उम्मेदवारी दिएपछि इन्टेन्सनल्ली पुराना भिडियोहरु भाइरल गराइयो'

'मैले मेयरमा उम्मेदवारी दिएपछि इन्टेन्सनल्ली पुराना भिडियोहरु भाइरल गराइयो'

एक दशकदेखि हिपहप म्युजिकमा तहल्का मच्चाइरहेका र्यापर बालेन्द्र शाह स्टेजमा बालेनको नामले परिचित छन्। नेपहप गीतमा सक्रिय काठमाडौंमा रैथाने बालेन पेसाले इन्जिनियर हुन्।

सिभिल इन्जिनियरिङ अन्तर्गत पर्ने स्ट्रक्चरल इन्जिनियरिङमा भारतबाट एमटेक गरेका उनले निर्माणका धेरै काम सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।

२०७२ मा भूकम्प गएपछि देशका ६५ जिल्ला घुमेर निर्माण कार्य गरेका बालेन यतिखेर भने आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेर चर्चामा छन्।

मेयरको उम्मेदवारी, विकासको मोडल र आगामी योजनाको सेरोफेरोमा रहेर र्यापर बालेनसँग उकेराकर्मी पुष्पा थपलियाले गरेको कुराकानीको सम्पादित अंशः

काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गर्ने बित्तिकै अन्तर्वार्ताका लागि दौडधुप छ है?
दौडधुप नै त हैन। कतै-कतै मात्र हो। प्रचार भन्दैमा जस्तो पायो त्यस्तै मिडियामा अन्तर्वार्ता दिँदै हिँड्ने कुरा हुँदैन। कतिपय मिडियाहरु धेरै कुरा गरेको ठाउँबाट केही मात्रै राखिदिन्छन्, त्यो पनि ताल न बेतालको हेडलाइन सहित। आफूले भन्न खोजेको कुरा सही तरिकाले ठाउँमा पुग्दैन भने धेरै मिडियामा अन्तर्वार्ता दिएर मात्रै के काम? 

स्ट्रक्चरल इन्जिनियर हुनुहुन्छ, तपाईंको नजरमा विकास भनेको के हो?
विकास भनेको सबै क्षेत्रबाट मानिस खुसी हुनु हो। सन्तुष्ट हुनु हो। जुन ठाउँमा शिक्षा, स्वास्थ्य जस्ता विषय मान्छेले थाहा पाउनुअघि, माग्नुअघि पुगिसकेको होस्, त्यही नै विकास हो।

स्वर्गीय बिपी कोइरालाले भनेजस्तो, कुनै गाउँमा भौतिक पूर्वाधारको विकास त भएको छ तर त्यहाँका गाउँले खुसी छैनन् भने त्यो विकास होइन।

मेरो भनाइ पनि त्यही हो। तर स्ट्रक्चरल इन्जिनियरको आँखाबाट हेर्ने हो भने विकासको प्रमुख आधार भौतिक पूर्वाधार नै हो। विकट क्षेत्रमा सडक, बिजुल पुगेपछि नै त्यहाँका मानिसमा सोच्ने तरिका फराकिलो हुने हो। देशका जनता सचेत भएपछि नै नेतृत्वमा रहेका मानिसलाई खबरदारी गर्न सक्ने हो। 

सडक विस्तारका क्रममा आन्दोलन हुन्छ। मुआब्जा कम दिँदा जनता दुःखी हुन्छन्। तर निर्माण कार्य सम्पन्न भएपछि त सहज महसुस हुन्छ नि हैन र?
अहिले नेतृत्वमा पुगेका मानिसले यही कमजोरी गरिरहेका छन्। काठमाडौं महानगरपालिकामा अब भौतिक निर्माण गर्नुपर्दैन। जति निर्माण गरियो, त्यसलाई मेन्टेन गरे पुग्छ। कोटेश्वर-बानेश्वर सडक विस्तार गरियो। चक्रपथ  फराकिलो बनाउने क्रम जारी छ। जति सडक बढायो, उति सवारी साधन थपिन्छन्। फेरि उस्तै जाम हुन्छ। अहिले जति सडक छ, त्यसैलाई व्यवस्थित बनाए इनअफ हुन्छ। 

व्यवस्थित गर्न छुट्टै निकाय खडा गर्नुपर्ने पनि हैन। अहिले सबैको बाहिर निस्कने समय एकै छ। रातभर सडक खाली, बिहान ९/१० बजेतिर श्वासै फेर्न नसकिने जाम। यसको सट्टा स्कुल बिहान ८ बजे, सरकारी कार्यालय १० बजे, गैरसरकारी संस्था १२ बजे गरेर मिलाउने हो भने पिक आवर भनेर जामको समस्या भोग्नै पर्दैन। बरु राति काम गर्नेहरुका लागि जोखिमयुक्त ठाउँमा सिसी क्यामरा जडान गर्न सकिन्छ। बत्तिको व्यवस्था गर्न सकिन्छ।

२४सै घण्टा काठमाडौंलाई चलायमान बनाउने हो भने, जत्ति सवारी साधन चलाए पनि जाम हुँदैन। व्यवस्थापन गर्न नजान्ने अनि विकास भन्दै अर्काको घरबास उठाएर कंक्रिडको थुप्रो लगाउनु विकास विरोधी कार्य हो।

भन्नाले हामीले कमजोर नेतृत्व चुन्यौं?
हामीले चुन्यौंभन्दा पनि, अप्सन नै दिइएनभन्दा ठिक होला। सबै फेल भएका मानिस छन्, एउटा रोज्नैपर्ने छ। यस्तोमा फेल भएको तर त्यसमा पनि सबैभन्दा उत्कृष्ट नै छानेका होलान्। (हाँस्दै) अब भने काठमाडौं महानगपालिकाका लागि छान्ने अप्सनमा उत्कृष्ट मानिस पनि छन्।

अब छान्नुपर्ने भनेको म, रन्जु दर्शना जस्ता युवा हो। रेखा थापा, कोमल ओली जस्ता कलाकार हो। बाबुराम भट्टराई, रविन्द्र मिश्र जस्ता पढेलेखेका मानिस पनि हो। उहाँहरुले तीन जनालाई भोट हाले बराबरको म एक भोट हो।

हिपहप म्युजिकबाट धेरै फ्यान फलोइङ बटुल्नुभयो। तपाईंले र्याप ब्याटलमा बोलेका अश्लील शब्द र लैंगिकतामाथि गरिएको मजाकका कारण भोट काटिएलाजस्तो लाग्दैन?
मैले शिक्षामा समस्या छ त्यही कारणले त भनिरहेको छु। मलाई स्कुल लेबलमा यस्ता शब्द बोल्न हुँदैन। यस्तो बोल्दा मानिसलाई असर गर्छ भन्ने कुरै सिकाइएन। विदेशीको सिको गरेर गीत गाएको हो। त्यता यस्ता शब्द सजिलै बोल्छन्। त्यसैले हामीले नेपालीमा बोल्यौं।

अहिलेको अवस्थामा म आफैंलाई ती भिडियो हेर्दा नराम्रो लाग्छ। बोल्न नहुने कुरा बोलिएछ भनेर पछुतो लाग्छ। मैले मेयरमा उम्मेदवारी दिएपछि यस्ता छाडा मानिस मेयर पदमा सुहाउँदैन भनेर इन्टेन्सनल्ली नै पुराना भिडियोहरु भाइरल गराइएको छ।

उहाँहरुका लागि भन्छु, बच्चा बेलामा केही गल्ती गर्यो भने ठूलो भएपछि पनि त्यसैसँग तुलना गरेर मानिसको जज गर्न मिल्दैन। त्यो एउटा क्यारेक्टर हो, काम सकिएपछि त्यो मर्छ।

अर्को कुरा, ब्याटल भनेको र्यापको एउटा फर्म हो। त्यसमा जे बोल्न पनि छुट छ। त्यही कुरा बाहिर आएर बोल्ने छुट छैन। यसलाई कलाको एक प्रकारका रुपमा लिइदिनुहुन अनुरोध गर्दछु।

मैले रेकर्ड गरेका म्युजिकहरुमा छाडापन भए, कसैको शरीरलाई लिएर, लैंगिकतालाई लिएर गीत गाएको भए सायद म गलत हुन्थें होला।

निर्वाचनमा उम्मेदवार बनिसक्नुभएको छ। पाँच वटा योजना सुनाउनूस् त?
शिक्षा भनेको अधिकार हो। सामुदायिक स्कुलको शिक्षा उपलब्धिमुलक बनाउने, शिक्षकको क्षमता बढाउने, म्याथ, साइन्स जस्ता कुराहरु ग्लोबल्ली सिकाउने, इतिहास पढाउने, काठमाडौंको  कला, संस्कृति, जात्राका बारेमा अनिवार्य सिकाउने।

कुनै विद्यार्थी पढाइ सकेर व्यवसाय गर्न चाहन्छ भने महानगरपालिकाले सिड मनी उपलब्ध गराउनु जरुरी छ। कम ब्याजमा, प्रमाणपत्रको आधारमा सिड मनी उपलब्ध गराउन सकियो भने उसलाई काम गर्न हौसला मिल्छ।

एक वडामा एक सामुदायिक स्वास्थ्य चौकी बनाउने जसमा प्रयोगशाला सहितको ल्याब टेक्निसयन, नर्स, डाक्टर पनि होस्। रोगको उपचारका लागि सुरुवाती समयमै थाहा पाउन जरुरी हुन्छ, जसका लागि सामुदायिक स्वास्थ्य चौकीको भूमिका ठूलो हुन्छ। चिकित्सक नेपालमै बस्ने व्यवस्था गर्ने।

फोहोर व्यवस्थापनका लागि हामीले धेरै कामको तयारीमा छौं। सडक व्यवस्थापनमा उस्तै तयारी छ।

धुलो व्यवस्थापनमा लागि इन्फास्टक्चर एम्बुलेन्सको धारणा ल्याएका छौं। भौतिक पूर्वाधार एम्बुलेन्समा कतै धुलो उडेको देख्दा फोन गरेर खबर दिने अनि त्यहाँ तुरुन्तै पुगेर सामान्य मर्मत-सम्भार गर्ने। 

अहिलेसम्म घोषणापत्र भनेर लिखित रुपमा निकालिसकेका छैनौं। मौखिक प्रचार मात्रै हो।

शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन। यस्ता मिठा कुरा त पहिले अरुले पनि गरेका थिए नि!
भिजन र एजेन्डाको कुरा फरक हुन्छ। एकै कक्षामा उही पाठ्यक्रम पढेका विद्यार्थी पनि कोही फर्स्ट हुन्छन्, कोही फेल। कसले काम सफल तरिकाले गर्छ र को फेल हुन्छ भनेर छुट्याउने नतिजाले हो। अघिल्ला नेतृत्व असफल भए, म सफल हुन्छु।

७ फागुन, २०७८, ०७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।