स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण : पानीको फोका हो कि ब्यालेट क्रान्ति !

स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण : पानीको फोका हो कि ब्यालेट क्रान्ति  !

काठमाडौँ : २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका रञ्जु दर्शना र किशोर थापाले काठमाडौँ महानगरपालिकाको मेयरमा पाएको मतले दलले नगन्ने तर समाजमा केही पहिचान बनाएकाहरूलाई चुनावमा होमिन उत्साहित बनायो। तर उनीहरू एकीकृत भएर जब विवेकशील साझा पार्टीमा गए दुवै हराए। स्वतन्त्र हुँदै वैकल्पिक राजनीतिको नारा दिएका दुवैले आफूलाई विश्वास गरेका मतदाताको मतको मान राख्न सकेनन्।

त्यसले २०७९ को स्थानीय तहको निर्वाचनमा नकारात्मक प्रभाव पार्ने राजनीतिक पण्डितहरूको विश्लेषण बढेका थिए। त्यसैको प्रभावले सामाजिक सञ्जालबाट र्यापर बालेन साह अनि पोखरामा गनेस पौडेलले मेयरमा उम्मेदवारी घोषणा गरेपछि' म पनि मेयरमा उम्मेदवारी घोषणा गरिदिऊँ कि क्या हो' पाराका धारणाहरू बढेका थिए एक समय।

पाँच दलीय गठबन्धनबाट असन्तुष्ट नेताहरू पार्टीको निर्णय नाघैर स्वतन्त्र उम्मेदवार बन्ने क्रम सुरु भएसँगै उनीहरूको चर्चा शुरुहुँदा स्वतन्त्र उम्मेदवारको घोषणालाई त्यत्ति गम्भीर रूपमा लिएको देखिएको थिएन समाजले।

काठमाडौँका बालेन हुन् या पोखराका गनेश अनि धरानका हर्क साम्पाङ वा बुढानीलकण्ठका सुमित खरेल। सबैको उम्मेदवारीलाई रहरको रूपमा हेरेको समाज अहिले मत परिणाम सार्वजनिक हुँदा भने छक्क परेर उनीहरूकै मतमा चासो राखिरहेका छन्।

यी उम्मेदवारहरूले पाएको मतलाई आधार मानेर मूलधार मानिने राजनीतिक दलको कमजोरीको रूपमा अर्थ्याउने होडबाजी समेत सुरु भइसकेको छ। कतिपयले विवेकशील साझाले घटाएको वैकल्पिक राजनीति यी स्वतन्त्र उम्मेदवारहरूले ब्युँताएको विश्लेषण समेत सुरु गरिसकेका छन्।

अहिलेसम्म स्वतन्त्र उम्मेदवारमध्ये काठमाडौँमा बालेन अनि धरानमा हर्क बलिया देखिएका छन्। अन्यले चुनौती दिन सकेका छैनन् दलका उम्मेदवारलाई।

OOO

निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तहको निर्वाचनमा देशभर १२ हजार ७ सय ८९ जना स्वतन्त्र उम्मेदवार बने। काठमाडौँ महानगरमात्र होइन धरान उपमहानगर, धनगढी उपमहानगर, जनकपुर उपमहानगर, धुलिखेललगायत नगरपालिकामा समेत स्वतन्त्र उम्मेदवार बनेका छन्।

उनीहरू ४० प्रकारका चुनाव  चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए। त्यसमा एकै समूहका नभए पनि अधिकांश लौरो चिन्ह छानेका उम्मेदवारहरू बलिया देखिए। उनीहरूले बलियो सङ्गठन अनि राष्ट्रिय सञ्जाल भएका दलका उम्मेदवारहरूलाई राम्रै टक्कर पनि दिइरहेका छन्।

काठमाडौँमा बालेनले नै अगाडि छन् मङ्गलवार बेलुकाको मत परिणामसम्म। आँखीझ्याल चुनाव चिन्ह पाएका सुमन सायमीको उपस्थिति बलियो देखिएको छैन अहिलेसम्म। तर काठमाडौँको भित्री सहरको मत गन्न थालिएपछि उनी दोस्रो बालेन हुने सम्भावना देखिन्छ।

धनगढी उपमहानगर पालिकामा सुरुवाती नतिजाबाटै गोपाल हमालले अग्रता लिइरहेका छन्। उता पोखरामा गनेस प्रतिस्पर्धाबाट अलि टाढिँदै गएका छन्। धरानका हर्कले दोस्रो नम्बरमा टक्कर दिइरहेका छन्।

स्वतन्त्रको अङ्क गणित

काठमाडौँ महानगरको ३३ हजार ९ सय २६ मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन १३ हजार एक सय ८९ सहित पहिलो नम्बरमा छन्। दोस्रोमा ७ हजार १ सय १६ मतका साथ एमालेका केशव स्थापित र तेस्रोमा ६ हजार २ सय ४७ मत सहित कांग्रेस उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन्।

उता धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल १९ सय मत सहित पहिलो नम्बरमा छन्। कांग्रेसका नृपबहादुर वडले ११६० र एमालेका रणबहादुर चन्दले २०६ मत ल्याएका छन्। जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह ३१५९ मतसहित पहिलो नम्बरमा छन्। एमालेका शिवशङ्कर साह १४९१ मत र अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ८३६ मत ल्याएका छन्।

त्यहाँ लोसपाका मनोज चौधरीले ७३१, जसपाको लाल किशोर साह ४२९ मत ल्याएका छन्। जसपाका उम्मेदवार लाल किशोर निवर्तमान नगर प्रमुख अनि गठबन्धनका साझा उम्मेदवार हुन्।

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कले सुरुवाती अग्रता लिएका थिए। उनी अहिले तेस्रो स्थानमा छन्। कांग्रेसका किशोर राईको ५०३६, एमालेकी मञ्जु भण्डारीको ४३१० मत आउँदा हर्कको ४०३४ मत आएको छ।

महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्रीले अग्रता लिएका छन्। उनको राजनीतिक यात्रा भने स्वतन्त्र हैन। कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन्।

उनले ७१८४ मत ल्याएर अग्रता लिइरहेका छन्। माओवादीका राजु खड्काले ३६७६ र एमालेका टेकबहादुर बलम्पाकीले २३१४ मत ल्याएका छन्। कांग्रेसका चिरञ्जीवी हमालले जम्मा ४१४ मत ल्याएका छन्।

जुम्लाको चन्दनाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार फराकिलो अग्रतामा छन्। स्वतन्त्र उम्मेदवार राजु सिंह कठायतले १४८१ मत ल्याएर प्रतिस्पर्धीसँग दोब्बर मतान्तरले लिड गरिरहेका छन्। कांग्रेसका पदमबहादुर शाही ८१४, माओवादीका जीवनबहादुर बुढा थापाले ५४१, एमालेका धर्मेन्द्र रोकायाले ४२६ मत ल्याएका छन्। 

धुलिखेल नगरपालिकामा प्रारम्भिक अग्रता लिएका वीर बहादुर बस्नेत अहिले दोस्रोमा झरेका छन्। उनले दलका उम्मेदवारहरूलाई चुनौती भने दिइरहेका छन्। एमालेका उम्मेदवार अशोक ब्याञ्जु ५७४८ मत सहित अगाडि छन्।

वीर बहादुर बस्नेतले ३७०७ मत ल्याएर ब्याञ्जुलाई पछ्याइरहेका छन्। गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका दया सागर श्रेष्ठले १७३१ मत ल्याएर तेस्रो स्थानमा छन्। 

०००

मेयर माओवादी केन्द्रलाई दिएपछि रिसाएर स्वतन्त्र उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल तेस्रोमा छन्। माओवादीबाट उम्मेदवार बनेकी रेनु दाहाल र एमालेबाट उम्मेदवार बनेका विजय सुबेदीबिच पहिलो स्थानमा को पुग्ने होडबाजी चलिरहेको बेला काङ्ग्रेसबाट पौडेलले ल्याउने मत विजेता छान्न निर्णायक हुने देखियो।

पोखराका स्वतन्त्र उम्मेदवार खडक राज पौडेल (गनेश पौडेल) अन्य उम्मेदवार भन्दा सङ्गठित देखिएका थिए। अटेरी अभियानै चलाएर उनले एकल हैन वडामा समेत उम्मेदवारीहरू दिन लगाए। गठबन्धन तथा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य करिब ६ हजार, एमालेका कृष्णबहादुर थापाले करिब ५ हजार मत पाउँदा पौडेल ४ सयमा पुगेका छन्।

उमेश यादवले जसपाबाट विद्रोह गरेर मोरङको विराटनगर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिए। तर उनले मत परिणाममा भने अग्रता लिन सकेका छैनन्। कांग्रेसका नागेश कोइरालाले १० हजार, एमालेका सागर थापाले ७ हजारको आँकडामा मत ल्याउँदा यादवले ३ हजारको आँकडामा मत ल्याएका छन्।

वडामा राम्रै प्रभाव

सुस्त गणनाका कारण महानगर लगायतका प्रभावशाली स्थानीय तहको अन्तिम परिणाम आउन अझैँ केही दिन कुर्नैपर्छ। तर वडा तहमा भने स्वतन्त्र उम्मेदवारहरूले जित निकालीसकेका छन्। तर त्यसमा पार्टीबाट टिकट नपाएर स्वतन्त्र बनेकाहरू धेरै छन्।

ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भए। उनले ६६१ मत ल्याएका थिए। उनी कांग्रेसको टिकट नपाएर स्वतन्त्र भएका थिए। बझाङको जयपृथ्वी नगरपालिका–१ मा पनि स्वतन्त्र चिन्ह लिएका डम्मर बहादुर सिंह विजयी भए। उनी कांग्रेसका नेता हुन्।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भए। उनी पनि कांग्रेसको चिन्ह नपाएपछि स्वतन्त्र भएका थिए। धादिङकै ज्वालामुखी गाउँपालिका–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर गुरुङ विजयी भए। उनको पृष्ठभूमि पनि काङ्ग्रेसै हो।

गोरखा नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार दिलीप जोशी विजयी भए। उनले नेपाली कांग्रेसका उम्मेदवार आनन्द गुरुङ (काजी)लाई हराउँदै वडाध्यक्ष जिते। जाजरकोटको बारेकोट गाउँपालिका ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विशाल किरण बस्नेत निर्वाचित भए।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार प्यानल सहित विजयी भए। स्वतन्त्र उम्मेदवार धनबहादुर कामीले दुई सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जिते। उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाही दुई सय २० मत ल्याएर पराजित भए। वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जितेका हुन्। महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्ले विजयी भएकी छिन्।  दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजयी भइन्। कनकासुन्दरी–८ मा वडाध्यक्षसहित चार जना स्वतन्त्र उम्मेदवार जितेका छन्।

यी आँकडाले स्वतन्त्र उम्मेदवारहरूप्रति मतदाताको आकर्षण रहेको देखिन्छ नै। जो पार्टीको टिकट नपाएर स्वतन्त्र भए ती भोलि पार्टीको संरचनामा फर्किने छन् नै। जो कुनै संरचनाको आड नलिई उम्मेदवार बनेका छन् उनीहरूले हारे पनि जिते पनि स्थानीय मुद्दामा सक्रिय भइरहने हो भने भोलिका निर्वाचनमा यसको सकारात्मक प्रभाव पर्ने पक्का छ।

दर्शना अनि थापा हराए पनि उनीहरू स्वतन्त्र उम्मेदवार बनेर पाएको मतले नै अन्य स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवार बन्न साहस दिएको सत्य हो। तर इतिहासले सधैँ एकै लय समात्दैन। मतदाता सधैँ परीक्षणको मुडमा नहुन पनि सक्छन्। त्यसैले स्वतन्त्र उम्मेदवारहरूले अहिले पाएको मत दलप्रतिको वितृष्णा नभई उनीहरूप्रतिको आकर्षणै हो भन्ने प्रमाणित हुन भोलिका दिनमा उनीहरू राजनीतिक दृश्यबाट हराउँछन् या कुनै न कुनै रूपमा स्थानीय मुद्दामा जोडिएर सक्रिय हुन्छन् त्यसले नै निर्धारण गर्ने पक्का छ।

नत्र यो लहर उही पानीको फोका समान हुनेछ।  

३ जेठ, २०७९, २३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।