रायमाझीको पुरानै ‘लिगेसी’ले अर्घाखाँचीमा एमालेको उदय

रायमाझीको पुरानै ‘लिगेसी’ले अर्घाखाँचीमा एमालेको उदय

बुटवलः नेकपा विभाजनपछि पूर्वमाओवादी तथा अर्घाखाँचीका नेता टोपबहादुर रायमाझी एमालेतिर गए। अर्घाखाँचीमा उनले माओवादीबाट ‘ह्याट्रिक’ गर्दै एकछत्र दबदबा राखेका थिए।

तर, एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा उनी एमालेमा आएपछि माओवादी पंक्तिले साथ छोड्यो। उनी कमजोर भएको आकलन पनि गरियो। 

यता, रायमाझी अधिकांश समय गृहजिल्लामै बिताउन थाले। आफ्ना पुराना साथीहरूलाई सँगै राख्न योजनाबद्ध ढंगले लागे। उनले आफ्नो पुरानै ‘लिगेसी’बाट अर्घाखाँचीमा एमालेको प्रभाव बनाउन हरसम्भव प्रयास गरे।

रायमाझीलाई यसपटक गठबन्धन बनाएर ‘ब्रेक’ गर्ने गठबन्धनको रणनीति असफल भएको छ। माओवादीबाट एमालेमा प्रवेश गरेका रायमाझीले आफ्नो साख त जोगाए नै एमालेलाई अर्घाखाँचीमा पुनः उदय गराए।

त्यसैले केन्द्रमा गठबन्धन नबन्दै अर्घाखाँचीमा रायमाझीविरुद्ध गठबन्धन बनेको थियो। उनले त्यो बेला भनेका थिए– ‘विपक्षी दलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरे।’

०७९ सालको स्थानीय तह निर्वाचनमा अर्घाखाँचीको मतपरिणामले रायमाझीले भने जस्तै गठबन्धनको हार देखाएको छ। 

गठबन्धन बनाएर चुनाव लडेका कांग्रेस, माओवादी, समाजवादी, जनमोर्चा र जसपाको अर्घाखाँचीमा बिजोग भयो।

नेकपा एमालेका सचिव समेत रहेका रायमाझीले चुनाव नआउँदै जिल्लामा बसेर बनाएको रणनीतिले यतिबेला सार्थकर्ता लिएको एमालेकै नेताहरू बताउँछन्।

रायमाझीलाई यसपटक गठबन्धन बनाएर ‘ब्रेक’ गर्ने गठबन्धनको रणनीति असफल भएको छ। माओवादीबाट एमालेमा प्रवेश गरेका रायमाझीले आफ्नो साख त जोगाए नै एमालेलाई अर्घाखाँचीमा पुनः उदय गराए।

‘देशभर एमालेको अप्रत्यासित नजिता आउँदा अर्घाखाँचीमा कांग्रेसको किल्ला तोडिएको छ। पाणिनीमा अहिलेसम्म एमालेले जित्न सकेको थिएन। त्यहाँ एमाले विजयी भयो। ०७४ को चुनावमाभन्दा बढी पालिका हामीले जित्न सफल भयौँ। यसमा रायमाझीको ठूलो हात छ’, एमाले एक नेताले भने।

कुन पालिकामा कसले जिते?

अर्घाखाँचीमा ६ वटा स्थानीय तहमध्ये ०७४ सालको स्थानीय तह निर्वाचनमा ४ वटामा कांग्रेस र १/१ वटामा एमाले र माओवादीले जित हासिल गरेका थिए। 

गत निर्वाचनमा पनि कांग्रेस र माओवादी चुनावी तालमेल गरी चुनाव लडेका थिए। तर यसपटक रायमाझीले जिल्लाको नतिजा उल्ट्याइदिए।

६ पालिकामध्ये तीन वटा पालिकामा यसपटक एमाले विजयी भयो।

सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका एमालेले जितेको छ। कांग्रेसले सितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका जित्दा गठबन्धनबाट जनमोर्चाले भूमिकास्थान नगरपालिकामा विजय हासिल गरेको छ।

पाणिनी गाउँपालिकामा एमालेका टेकराज न्यौपाने विजयी भएका छन्। उनले कांग्रेसका अच्युत गौतमलाई पराजित गरे। 

न्यौपानेले सात हजार ७४९ मत ल्याउँदा पराजित भएका गौतमले सात हजार २८ मत प्राप्त गरे। 

उपाध्यक्षमा पनि एमालेकी नर्मदा गौतम पौडेल विजयी भइन्। उनले सात हजार ६६१ मत प्राप्त गरिन्। यो पालिकामा ०७४ सालमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको थियो।

मालारानीमा एमालेले आफ्नो विरासत जोगाएको छ। त्यहाँ एमालेका दलबहादुर भट्टराई विजयी भए। 

उनले गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका पदम क्षेत्रीलाई पराजित गरे। विजयी भएका भट्टराईले आठ हजार २८३ मत ल्याउँदा क्षेत्रीले ६ हजार ७२६ मत प्राप्त गरे। 

उपाध्यक्षमा पनि एमालेकी दीपा पोखरेलले आठ हजार १५५ मत प्राप्त गर्दै विजयी भइन्।

सन्धिखर्क नगरपालिकामा एमालेका कृष्णप्रसाद श्रेष्ठ विजयी भए। उनले ११ हजार १३५ मत प्राप्त गरे। 

उनका प्रतिस्पर्धी कांग्रेसकी शान्ता भण्डारीले नौ हजार ३३४ मत प्राप्त गरेकी छिन्। उपप्रमुखमा पनि एमालेकी मिश्रा आचार्य विजयी भइन्। 

उनले नौ हजार ६४६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादीका राजेन्द्र भुसालले नौ हजार १६८ मत प्राप्त गरे। 

यसअघि ०७४ को पहिलो स्थानीय तह निर्वाचनमा कांग्रेसका कमलप्रसाद भुसालसँग एक हजार १०३ मतले पराजित भएका श्रेष्ठ ५ वर्षपछि त्यही नगरमा फराकिलो मतले विजयी भएका हुन्।

शितगंगा नगरपालिकामा नेपाली कांग्रेसका छविलाल पौडेल विजयी भए। उनले १० हजार ७८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका वसन्तकुमार श्रेष्ठले नौ हजार ८९२ मत प्राप्त गरे। 

उपप्रमुखमा एमालेकी गीता भाट विजयी भइन्। उनले १० हजार २८८ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी माओवादीका टीकाराम रेश्मी मगरले आठ हजार ५७ मत प्राप्त गरे।

छत्रदेव गाउँपालिकामा कांग्रेस विजयी भयो। कांग्रेसका चन्द्रमान श्रेष्ठ सात हजार ४०७ मतका साथ विजयी भए। उपाध्यक्षमा भने एमालेकी मणि पन्थी सात हजार ५१९ मतका साथ विजयी भइन्। 

०७४ मा यहाँ कांग्रेस विजयी भएको थियो।

भूमिकास्थान नगरपालिकामा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले अध्यक्षमा विजय हासिल गरेको छ। जनमोर्चाका झविलाल थापा आठ हजार ३२४ मतले विजयी भए। 

उनका प्रतिस्पर्धी एमालेका रेशम थापाले सात हजार ५२४ मत प्राप्त गरे। उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका बालकृष्ण वञ्जाडे विजयी भए। उनले सात हजार ५५८ मत प्राप्त गरे।

५ जेठ, २०७९, १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।