यस्तो देखियो माडि नगरपालिकाको अवस्था

यस्तो देखियो माडि नगरपालिकाको अवस्था

चितवन : मौन अवधिको समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माडी नगरपालिका पुग्दा त्यो राष्ट्रिय चासोको विषय बन्यो। प्रधानमन्त्री बनिसकेका नेताले निर्वाचन आयोगको संहिता नाघेर गरेको गतिविधिका कारण प्रदेश प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी अनि जिल्लाको एसपी समेत आयोगको नजरमा परे।

आयोगले प्रचण्डसँगै चारै जनालाई स्पष्टीकरण सोध्यो। गठबन्धनबाट उम्मेदवार बनेका  प्रचण्डको दाउ ऋषि राम काफ्लेको पक्षमा माहौल बनाउने देखिएको थियो जो उनकै पार्टीबाट मेयरको उम्मेदवार बनेका थिए।

तर प्रारम्भिक मतको रुझान हेर्दा उनको संहिता उलघंनको गतिविधि भारी परेझैँ देखिन्छ। अहिले एमाले र राप्रपाको गठबन्धनबाट मेयरको उम्मेदवार बनेका ताराकुमारी काजी महतोले लिड गरिरहेकी छिन्। गठबन्धनको उम्मेदवारले पच्छ्याइरहेका छन्।

वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदवार कृष्णराज अधिकारीका अनुसार उपमेयरमा पनि कांग्रेसका उम्मेदवारभन्दा राप्रपाका उम्मेदवार मदनप्रसाद पौडेल अगाडि छन्।

'हामीले नगरपालिकामा राप्रपासँग तालमेल गरे पनि वडामा भने स्वस्थ प्रतिस्पर्धा गरेका छौँ,' एमालेबाट उम्मेदवार बनेका उनले भने' अहिले वडा एकको मत गनिएको छ। मत गन्ने क्रम बढेसँगै हाम्रो अग्रता नि बढ्छ।'

अधिकारी २०७४ को निर्वाचनमा समेत वडाध्यक्षमा निर्वाचित भएका थिए। आफ्नो कार्यकालको कामका कारण मतदाताले आफूलाई समेत विजयी बनाउने उनको विश्वास देखियो।

उनको वडामा कांग्रेसबाट मुक्तिनाथ न्यौपाने र राप्रपाबाट वीरेन्द्रबहादुर भण्डारी उम्मेदवार छन्। कांग्रेसलाई सघाउन माओवादीले भने उम्मेदवारी दिएन।

अहिले वडा १ बाट मत गन्न सुरु भए पनि सर्वदलीय बैठकमा अगाडिको र पुछारको वडाको मत गन्ने सहमति भएकाले आइतबारसम्ममा आफ्नो वडाको नतिजा आउने उनले बताए।

३१ बैशाख, २०७९, १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।