संघले बनायो सडक, तिलोत्तमा हाईहाई, बुटवलको बदनामी

संघले बनायो सडक, तिलोत्तमा हाईहाई, बुटवलको बदनामी

बुटवल : संघीय सरकारको बजेटबाट बन्दैछ, बुटवल-बेलहिया ६ लेन सडक। अहिले निर्माणाधीन अवस्थामा रहेको बुटवलको चौराहादेखि गोलपार्कसम्मको खण्डका कारण भने सिंगो बुटवलको बदनामी भएको छ। 

संघ अन्तर्गत निर्माणधीन रहेको यो सडक बुटवल उपमहानगरपालिकाको क्षेत्रभित्र पर्दैन। सडक निर्माणका क्रममा सहर नै अस्तव्यस्त हुँदा बुटवलका नगर प्रमुख शिवराज सुवेदीको बदनाम गर्ने काम समेत भएका छन्। उनको विरोध गर्नेहरु सडक बन्न दिनुहुन्न भनेर अदालतसम्म पुगे।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा बुटवलकै बाटो देखाएर विपक्षीले ‘प्रहार’ गरिहेको छ। आफ्नै क्षेत्रधिकार नभएको सडककै कारण बुटवलका नगर प्रमुख सुवेदीले अपजस पाउँदा त्यही सडक निर्माण सम्पन्न भएको तिलोत्तमा भने ‘हाईहाई’ छ।

‘लामो समय मुद्दा-मामिला गरेर सडकलाई अल्झन पार्ने काम बुटवलबासीले गरे। अहिले काम भएन भनेर बदनाम गराउने कुरा कति न्यायसंगत हो। हलो अड्काएर गोरु चुट्ने काम बुटवलबासीले गरेको कसलाई थाहा छैन र?,’ एक व्यवसायीले भने।

अहिले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकालाई आम नागरिकले दाँजेर हेर्दा सडकलाई दाज्ने गरेका छन्। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले यही संघले बनाएको सडककै कारण ‘उत्कृष्ट पुरस्कार’ समेत पाइसकेका छन्। भित्री सडक अस्तव्यस्त हुँदा संघले बनाएको सडकको जस तिलोत्तमाले पाइरहेको छ। सडकलाई हरियाली बनाउन, सफा राख्न र झिलिमिली बत्ती राख्ने काम भने नगरपालिका आफैंले गरेको छ।

तिलोत्तमामा संघले बनाएको सडक भए पनि नगर प्रमुख घिमिरेकै ‘हाईहाई’ छ। बुटवलमा यही बाटोले मेयर सुवेदीले गाली मात्र खाएका छैनन्, बदनामी कमाएका छन्।

बिहान, दिउँसो सडकमा धुलो उड्न नदिन पानी राख्ने काम भए पनि बुटवलको आकाशमा दिनभरजसो धुलो मराडिन्छ। संघले बनाएको सडक स्थानीय जनप्रतिनिधिले छिटो सम्पन्न गराउन दबाब दिनु बाहेक अरु विकल्प हुँदैन। हस्तक्षेप गर्न मिल्दैन।

बुटवलमा प्रतिपक्षले विरोध गरेको संघ सरकारले बनाउँदै गरेको सडक बाहेक अरु विषय छैनन्। ५ वर्षको अवधिमा उपमहानगरपालिकाभित्र भूमि व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणको लगत संकलन तथा प्रक्रियाको सुरुवात, सहरी कृषि प्रवर्धन, फसल धितो राखेर अनुदान कार्यक्रम, अल्पसंख्यकको उत्थान, ज्येष्ठ नागरिकलाई मिलन केन्द्र, युवालाई सिप र इलम कार्यक्रम, बुटवल उपमहानगर र चीनको सियानसँग भगिनी सम्बन्ध कायम, निर्माण सामग्रीको गुणस्तर जाँच्ने आफ्नै प्रयोगशाला निर्माण, सबै घरको डिजिटल नम्बर र पञ्जीकरण पनि डिजिटलमा राख्ने काम भएको छ। 

त्यति मात्र होइन, टोलटोलमा शिविरमार्फत स्वास्थ्य सेवा विस्तार, ज्येष्ठ नागरिकको घरदैलोमै निःशुल्क घुम्ती सेवा र निःशुल्क औषधि, उपप्रमुख महिला उद्यमशीलता कार्यक्रममार्फत महिलालाई उद्यमी बनाउने कार्य भएको छ।

त्यस्तै बिटिआईमा प्राविधिक उच्च शिक्षाको पठनपाठन, बैठौलिया कपरकट्टी तालको संरक्षण, विस्तार र नौका विहार सञ्चालन, थारु सांस्कृतिक संग्रहालय निर्माण, बटौली जितगढी युद्ध संग्रहालय निर्माण, मुलुककै पहिलो नमुना ढुवानी ग्राम निर्माण, बटौली चिनाउने स्थानीय पाठ्यक्रम निर्माण जस्ता अति महत्वपूर्ण र नागरिकको दैनिक जीवनसँग जोडिएका धेरै काम भएका छन्।

‘जनप्रतिनिधि आएपछि धेरै काम भए। चर्चा मात्र कम भएको हो। चर्चा नहुनुमा नगर प्रमुख सुवेदीकै आफ्नो कार्यशैली पनि एक हुनसक्छ,’ बुटवलका एक वडा अध्यक्षले भने।

मुख्य राजमार्ग क्षेत्रमा संघ सरकारले काम गर्दा ढिलाइ गरे पनि बुटवलका आन्तारिक बाइपास सडक भने चिटिक्ट बनेका छन्। अबको एक महिनामा मुख्य राजमार्ग बाहेक बुटवलका सबै बाटोहरु नाली सहित फराकिला र चिटिक्क बन्ने नगर प्रमुख शिवराज सुवेदीले बताए।

‘हामी निर्वाचित हुनुभन्दा अगाडि बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको विषयमा मुद्दा परेको थियो। ३ वर्षसम्म त मुद्दामा अड्कियो। पछि मुद्दा जितेर काम सुरु गर्दा संघदेखि प्रदेशका सरकार फेरबदल भए। त्यसपछि काममा झन ढिलाइ भएको हो,’ उनले भने।

उनले बुटवलको सडकमा संघीय सरकारले, सडक विभागले ठेक्का लगाएका ठाउँमा दोहोरो खर्च गर्न नपाइने भएकाले आफैंले लगानी गर्न नसकेको बताए।

‘यही सडकले बुटवलबासीलाई अन्याय भएपछि मैले केन्द्रीय सरकारलाई भनेको छु, ठेकेदारलाई निलम्बन गरेर बुटवल अख्तियारी दिनूस्। डेढ महिनामा सडक पिच हुन्छ। तर विभागले यो सुन्दैन,’ उनले भने।

अहिले बुटवलका सुख्खानगर, दीपनगर, हिलपार्क क्षेत्र, देवीनगरका सडकहरु बनिसकेका छन् भने केही योजना निर्माणका क्रममा छन्। अधिकांश सडकका योजना चैत मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको छ। 

बुटवलको बेलभरिया चोकदेखि कर्साघाटसम्म कालोपत्रेको काम भइरहेको छ। बुटवल–११ मा देवसिद्ध चौकदेखि सीमारोडसम्म १ करोड ८० लाख ५ हजार लागतमा कालोपत्रे सडक धमाधम चलिरेहको छ। वडा नम्बर ५ र ६ थोक मण्डी जाने बाटो सम्झौताको चरणमा रहेको छ। यसका लागि २७ लाख २३ हजार रुपैयाँ छुट्याइएको छ।

यसैगरी वडा नम्बर ७ लखनपथ सडक निर्माण पनि भइरहेको छ। ४२ लाख ६८ हजार ठेक्का सम्झौतामा सिभिल बिल्डर्स एण्ड इञ्जिनियरिङ कम्पनीले निर्माण थालेको हो। चैत मसान्तसम्ममा यो सडक पूरा गर्नुपर्ने छ।

यसैगरी अमरसिंह पथका लागि २८ लाख ५३ हजारमा सडक निर्माण गरिरहेको छ। त्यस्तै प्रदेश सरकारले निर्माण गरेको कालिकापथ पनि धमाधम निर्माण भइरहेको छ। तीनकुनेदेखि तल कालोपत्रे भइरहेको छ।

उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले चैत मसान्तसम्म सक्ने गरी बुटवलका अधिकांश बाटाहरुको ठेक्का भएको र त्यही अनुसारको काम भएको बताए। ‘कोभिडले केही समय सडक बनाउने काम पनि रोकियो। अहिले एकै पटक सुरु गर्दा आवाज-जावतमा नागरिकलाई केही समस्या पनि भएको हुनसक्छ। नागरिकलाई अवरोध नहुने गरी काम गर्न निर्देशन दिएका छौं,’ उनले भने।

बुटवलका भित्री सडक भने फराकिला र चिटिक्क
चौराहादेखि गोलपार्कसम्मको सडक धुलाम्मे भए पनि बुटवलका आन्तारिक बाइपास सडकहरु भने धेरै सम्पन्न भइसकेका छन्। कतिपय निर्माणधीन अवस्थामा छन्। हिलपार्क, सुख्खानगर, दीपनगरका सडक फराकिला बनेका छन्।

जेसिज चोकबाट उत्तरतर्फको सडक फराकिलो बनेको छ। भानुपथ-मिलनचोक सडक फराकिलो र चौडा बनेको छ। मुख्य राजमार्गको होराइजन चोकदेखि देवीनगर होराइजन चोकसम्मको सडक पनि चौडा बनेको छ। तीनकुने–वाणिज्य क्याम्पस रोड पनि निर्माण सम्पन्न भएर फराकिलो बनेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।

तिलोत्तमाका भित्री सडक धुलाम्मे
संघले बनाएको मुख्य राजमार्गमा केही सिंगारपटार गरेको तिलोत्तमाका भित्री सडक अधिकांश बिग्रिएका छन्। चुनावी प्रतिबद्धता अनुसार भित्री सबै बाटा ग्राभेल भए पनि कालोपत्रे हुन सकेका छैनन्। जनप्रतिनिधि नआउँदै कालोपत्रे भएका सडक बिग्रिएर खाल्डा पर्दा समेत नगरपालिकाले कालोपत्रे गर्न सकेको छैन्।

मंगलापुरबाट पूर्वतर्फ जाने बाटोको अवस्था बिजोग छ। तिलोत्तमा कलेजदेखि बनबाटिका, बनबाटिका हुँदै दीपनगर जाने बाटोको कालोपत्रे उक्किएको छ। भलबारी भित्रका सडकको अवस्था पनि उस्तै छ।

हालै मात्र मंगलापुर–कान्छीबजार सडक निर्माणका लागि ग्लोबल टेण्डर आह्वान भएको छ। विश्व बैंकको सहयोगमा सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजिआइपी) मार्फत यो सडक बन्ने क्रममा छ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेका अनुसार अस्फाल्ट मेट्रियलको प्रयोग हुने यो सडक आयोजनाको कुल लागत ७९ करोड ५५ लाख रहेको छ। फुटपाथ, नाली सहित ४३ फुटको सडक हुनेछ। त्यस बाहेक अरु सडक पनि ठेक्का लागि सम्झौता भइसकेको उनले बताए।

चौराहा-गोलपार्क सडक बनाउन पटक–पटक ताकेता
बुटवलको मुख्य बजार क्षेत्र चौराहा–गोलपार्क सडक खण्ड अन्तिम पटक थपिएको म्याद २०७९ असार ३० गतेसम्म छ। यो सडक २०७३ चैत १७ गते ठेक्का सम्झौता भएर काम अघि बढेको थियो। ४ किलोमिटरको सडक अहिले थपिएको म्यादमा पनि पूरा हुन्छ/हुँदैन भन्न सकिँदैन।

यो सडकमा अहिले नालीको काम भइरहेको छ। चौराहादेखि पाल्पा बसपार्कसम्म नाली बनाउने काम भइरहेको छ। निर्माणधीन सडकका कारण बदनामी कमाएको बुटवलले सडक निर्माणका लागि पटक–पटक डिभिजन सडक कार्यालय बुटवल र ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको छ।

‘संघीय प्रणालीमा सबै संघले हेर्छ। हामीले गर्ने भनेको खबरदारी, सहजीकरण, समन्वय हो। यो धेरै पटक ठेकेदार, तालुकदार निकाय र जिल्ला प्रशासनमा समेत भएको छ,’ नगर प्रमुख सुवेदीले भने।

निर्माण व्यवसायीलाई २०७६ पुस २० गतेदेखि नै निरन्तर ताकेता गरिएको छ। कार्यालयमा फाइलिङ गरिएका पत्रका आधारमा मात्रै पनि २० पटकसम्म ताकेता गराइसकिएको छ। यतिसम्म कि, डिभिजन कार्यालयका प्रमुख, आयोजना हेर्ने इन्जिनियरहरू र ठेकेदार कम्पनीका इन्जिनियर समेत सहभागी भई सर्वपक्षीय छलफलले समेत ठेकेदारलाई पटक–पटक ताकेता गरिएको नगर प्रमुख सुवेदीले बताए। 

५३ करोड ९७ लाख ९९ हजार मा द कञ्चनजंगा विरुवा जेभीसँग ठेक्का सम्झौता भएकोमा ठेकेदारले हालसम्म १० करोड ८० लाख रुपैयाँ भुक्तानी लगेको छ। 

२९ चैत, २०७८, ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।