सिभिलका कार्यकारी निर्देशकको नर्सिङ इन्चार्ज पदको मोह : मिति नै केरमेट, निवेदन अगाडि नै नियुक्ति

सिभिलका कार्यकारी निर्देशकको नर्सिङ इन्चार्ज पदको मोह : मिति नै केरमेट, निवेदन अगाडि नै नियुक्ति

काठमाडौँ : निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)का कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले नियुक्ति पत्रको मिति नै सच्याएर अस्पतालको नर्सिङ प्रमुख नियुक्त गरेको खुलेको छ। उकेराले प्राप्त गरेको प्रमाणले नर्सिङ विभागको प्रमुखका लागि मंगलमाया प्रजापतिले दिएको निवेदनभन्दा नियुक्त गरेको मिति ६ दिन अगाडिको छ।

उनी इन्डोर नर्सिङ इन्चार्ज थिइन्। कार्यकारी निर्देशक डा. पौडेलले प्रजापतिलाई निमित्त नर्सिङ प्रमुखको जिम्मेवारी दिँदा नियुक्ति पत्रमा केरमेट गरिएको छ। निवेदन दिनुभन्दा एक साता अगाडिको मितिमा नियुक्ति पत्र दिएको मिति राखिएको छ।

प्रजापतिले २०७८-०९-१ मा अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल समक्ष नर्सिङ प्रमुखको जिम्मेवारी पाउन हस्तलिखित निवेदन दिएकी थिइन्। अस्पताल प्रशासनमा निवेदन २०७८-९-६ मा दर्ता भएको देखिन्छ। तर उनलाई नर्सिङ प्रमुखको नियुक्ति पत्रमा २०७८-९-१ को मिति राखिएको छ।

उनलाई पुस २ गतेदेखि नर्सिङ प्रमुखको रूपमा काम गर्न पत्रमा भनिएको छ। नियुक्तिका लागि दिएको निवेदनको मितिभन्दा नियुक्त गरेको मिति अगाडि परेपछि निवेदनमा रहेको मिति सच्याएर ‘६’ लाई एक बनाइएको छ। तर प्रशासनमा भएको दर्ता मिति भने ६ गते नै देखिन्छ।

प्रजापतिले कार्यकारी निर्देशक समक्ष पेस गरेको निवेदनमा ‘क. प्र, आ. का.(कर्मचारी प्रशासन, आवश्यक कारबाही)’ लेखिएको छ। त्यसभन्दा तल हस्ताक्षर छ। अस्पताल स्रोतका अनुसार यो उनै कार्यकारी निर्देशक पौडेलको हस्ताक्षर हो।

हस्ताक्षर भन्दा तल मिति ‘२०७८-०९-०१’ लेखिएको देखिन्छ। तर, सो मिति केरमेट गरेर सच्याइएको प्रस्टै देखिन्छ। मिति सच्याइए पनि पत्रको माथि दर्ता नम्बर भने ‘२०७८-०९-०६’ नै उल्लेख छ। यसबाट प्रजापतिले निमित्त नर्सिङ प्रमुखको जिम्मेवारी पाउन कार्यकारी निर्देशक समक्ष पेस गरेको निवेदनको मिति भन्दा पछि उनलाई निमित्त नर्सिङ प्रमुखको जिम्मेवारी दिएर पछि मिति सच्याएको देखिन्छ।

कार्यकारी निर्देशकले ‘२०७८-०९-०१’ मा प्रजापतिलाई निमित्त नर्सिङ प्रमुखको जिम्मेवारी दिँदै दिइएको पत्रमा ‘तपाईँलाई २०७८-०९-०२  देखि अर्को आदेश वा व्यवस्था नभएसम्मको लागि यस अस्पतालको निमित्त नर्सिङ प्रमुखको जिम्मेवारी तोकिएको' उल्लेख छ।

मिति सच्याएको थाहा नभएको डा. पौडेलको तर्क

उता पौडेल भने प्रजापतिलाई मिति सच्याएर निमित्त नर्सिङ प्रमुखको जिम्मेवारी दिएको पत्रबारे जानकारी नभएको दाबी गरे। नियुक्तिका लागि निवेदन दिएको मिति भन्दा अगाडिकै मिति राखेर केरमेट गरी सच्याएर किन नियुक्ति पत्र दिनुभयो? भन्ने जिज्ञासामा डा. पौडेलले भने,‘मलाई त थाहा भएन त्यो कुरा।’

तर, मिति पत्रमा ‘क. प्र, आ. का.लेखेर तपाईँकै सही छ नि त? भन्ने जिज्ञासामा उनको जवाफ छ,‘प्रशासन केही होला। मलाई याद छैन। प्रशासनबाट कसैले लेखेर आयो होला। प्रशासन हेर्नेहरूलाई नै थाहा होला।’

प्रजापतिसँग यसबारे जिज्ञासा राख्दा उनले मिति केरमेट गरेकोबारे आफूलाई जानकारी नभएको तर निवेदन दिनु पूर्व नै नर्सिङ प्रमुखको जिम्मेवारीमा रहेको दाबी गरिन्।

नर्सिङ प्रमुखमा जिम्मेवारी पाउने निवेदन दिएको मिति भन्दा अगाडि नै कसरी निमित्त नर्सिङ प्रमुखको जिम्मेवारीको पत्र पाउनुभयो त? भन्ने जिज्ञासामा प्रजापतिले भनिन्,‘यो चाहिँ मलाई थाहा भएन। नर्सिङ प्रमुखको जिम्मेवारी त अगाडी देखिनै लिइरहेको थिएँ। चिठीचाहिँ मैले पाएको थिइन।’

श्रेष्ठलाई हटाएर प्रजापतिलाई जिम्मेवारी

डा. पौडेल कार्यकारी निर्देशकको रूपमा निजामती अस्पताल पुगेपछि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको नर्सिङ क्याम्पसकी नर्सिङ निरीक्षक कल्पना श्रेष्ठलाई  झिकाएका थिए।

नर्सिङ निरीक्षक श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा असार २३ गते पत्र लेख्दै निजामती कर्मचारी अस्पतालमा काम गर्न जान सम्मति दिन अनुरोध गरेकी थिइन्।

सोही पत्रको बायाँपट्टि तल्लो भागमा मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै त्यही मितिमा कार्यकारी निर्देशक डा. पौडेलले लेखेका छन्,‘श्रीमान् सचिव ज्यू यस अस्पतालमा निज (कल्पना श्रेष्ठ)को सेवा अति आवश्यक भएको र पद पनि रिक्त भएकाले सिफारिस साथ अनुरोध गर्दछु।’

नियुक्तीका लागि दिएको निवेदन र तोकको केरमेट गरिएको पत्र र ६ गतेको निवेदनमा एक गतेको नियुक्ती पत्र

त्यसपछि छैटौँ तहकी नर्सिङ निरीक्षक श्रेष्ठ असार २७ गते निजामती कर्मचारी अस्पतालमा काज सरुवा भइन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत  उनी काजमा निजामती अस्पताल पुगेकी थिइन्। निजामती अस्पताल पुगेपछि श्रेष्ठलाई कार्यकारी निर्देशक डा.पौडेलले असार ३१ गते नर्सिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिए।

पौडेलले श्रेष्ठलाई दिएको जिम्मेवारी पत्रमा २०७८-०४-०१ गते देखि नर्सिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको उल्लेख छ। श्रेष्ठ अस्पताल पुग्दा प्रजापति इन्डोर प्रमुख थिइन्।

श्रेष्ठले नर्सिङ प्रमुखको जिम्मेवारी पाएको दुई दिनमा नै कार्यकारी निर्देशक पौडेलले आफैँले असार ३१ मा गरेको निर्णय उल्ट्याउँदै साउन एक गतेको मिति राखेर नर्सिङ निरीक्षक श्रेष्ठको जिम्मेवारी कटौती गर्दै बहिरङ्ग विभाग अन्तर्गतको नर्सिङ इन्चार्ज (आउटडोर इन्चार्ज)को जिम्मेवारी दिए।

त्यसपछि निजामती अस्पतालमा इन्डोर इन्चार्ज प्रजापति र आउटडोर इन्चार्ज प्रमुख श्रेष्ठ भए। पाँचौँ तहकी प्रजापति र छैठौँ तहकी श्रेष्ठको जिम्मेवारीको हैसियत समान भयो।

काजमा बोलाउँदा आउन्न भन्दा पनि डा. पौडेलले अनुरोध गरेर ल्याएर पछि अपमानित गरेको श्रेष्ठले उकेरासँग बताइन्।‘दुई दिनमा नै मेरो प्रस्तुतिको मूल्याङ्कन कसरी भयो? दुई दिनमा नै म कसरी अन क्वालिफाइड भएँ?’

सिभिल अस्पतालका कार्यकारी निर्देशक निजी अस्पतालका मालिक, नियम विपरीत गर्छन् तीनतिर काम

निजी अस्पतालमा लगानी गर्ने निजामती अस्पतालका निर्देशकबारे सामान्य प्रशासनका सचिवले भने' यो गम्भीर विषय भयो'

पाँच बेइमान चिकित्सक जो सरकारी संस्थाको नेतृत्वमा बसेर निजी अस्पतालमा काम गर्छन्

निजीमा काम नगर्न मन्त्रालयले दिएको निर्देशन टेरेनन् सिभिलका निर्देशकले, बोर्डबाट कारबाहीको तयारी

सामान्य प्रशासन मन्त्रालयले श्रेष्ठलाई कार्तिक २५ गते काज फिर्ताको निर्णय गर्यो। निजामती कर्मचारी अस्पतालमा दर्ता भएको पत्र हेर्दा उनलाई अस्पतालले मङ्सिर १७ गते काज फिर्ता गरेको देखिन्छ। तर, मन्त्रालयले निर्णय गरेको करिब एक महिनामा मात्रै आफूले काज फिर्ताको जानकारी पाएको उनले बताइन्।

काज फिर्ता पठाउने प्रक्रियामा नै रहेका बेला इन्डोर इन्चार्ज प्रजापतिलाई डा. पौडेलले नर्सिङ प्रमुखको जिम्मेवारी दिए। श्रेष्ठले सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएर काज थमौती गरेर निजामती अस्पतालमै फर्किइन्।

समान तहकी प्रजापतिलाई मापदण्ड बिनै नर्सिङ प्रमुखको जिम्मेवारी दिएको भन्दै अस्पतालका अन्य नर्सिङ स्टाफले कार्यकारी निर्देशकलाई विरोध पत्र दिएका थिए। तर पौडेलले श्रेष्ठलाई हाजिरै गर्न दिएनन्। अनि उनी वीर अस्पताल फर्किइन्।

वरिष्ठता मिच्दै जिम्मेवारी

सिभिल अस्पतालमा दोस्रो पटक २०६६ मा ३२ जना नर्सिङ स्टाफ भर्ना गरिएको थियो। दोस्रो पटकमा भर्ना हुने स्टाफ नर्समा प्रजापति पनि थिइन्। उनी पाँचौँ तहमा २०६६ माघमा नियुक्त भएको अस्पतालको रेकर्डमा देखिन्छ।

त्यसपछि प्रजापति सहित अन्य दुई जना गरी पाँचौँ तहका तीन जना नर्सिङ स्टाफलाई नर्सिङ इन्चार्जको जिम्मेवारी दिइएको थियो। प्रजापतिले नर्सिङ इन्चार्जको जिम्मेवारी पाउनुअघि अन्य दुई जना सिस्टर तह र वरिष्ठ स्टाफ नर्स तहका नर्सिङ इन्चार्ज थिए।

प्रजापतिसहित तीन जना थपिएपछि अस्पतालमा नर्सिङ इन्चार्जको सङ्ख्या पाँच पुग्यो। प्रजापतिसँगै नर्सिङ इन्चार्जको जिम्मेवारी पाएका दुई जना इन्चार्जकै रूपमा काम गरिरहेको अस्तालस्रोतले जानकारी दिएको छ।

अहिले अस्पतालमा नर्सिङ इन्चार्जको सङ्ख्या १४ पुगेको निमित्त नर्सिङ प्रमुख प्रजापतिले जानकारी दिइन्। निजामती अस्पतालमा हाल करिब एक सय ८० नर्सिङ स्टाफ रहेको प्रजापति बताउँछिन्। सबै पाँचौँ तहका नर्सिङ स्टाफ रहेको उनले जानकारी दिइन्। 

२७ चैत, २०७८, १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।