निजी अस्पतालमा लगानी गर्ने निजामती अस्पतालका निर्देशकबारे सामान्य प्रशासनका सचिवले भने' यो गम्भीर विषय भयो'

निजी अस्पतालमा लगानी गर्ने निजामती अस्पतालका निर्देशकबारे सामान्य प्रशासनका सचिवले भने' यो गम्भीर विषय भयो'

काठमाडौंः सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)का कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेलले अन्य अस्पतालमा समेत काम गर्नु गम्भीर विषय भएको बताएका छन्।

सचिव अधिकारीले उकेरासँगको कुराकानीमा भने,‘निजामती सेवा अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलज्यूले बाहिर पनि काम गर्नुभयो, जुन कर्मचारी बिनियमावलीभन्दा विपरीत छ। यो गम्भीरै विषय भयो।’

कानुन अनुसार डा. पौडेलले निजामती अस्पताल बाहेक अन्त्र काम गर्न पाउँदैनन्। तर उनले काठमाडौँको गोङ्गबु स्थित ‘विनायक अस्पताल तथा प्रसूति गृह’ र कैलालीको धनगढी स्थित ‘कैलाली अस्पताल’मा समेत काम गर्छन्।

विनायक अस्पतालमा त आफ्नो लगानी समेत रहेको उकेरासँगको कुराकानीमा डा. पौडेल आफैँले स्वीकारेका थिए।

‘निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७’ को परिच्छेद–४ को बुँदा नं.–२१ को ‘२’ अनुसार ‘कार्यकारी निर्देशकको पूरा समय अस्पतालको हुनेछ। निजले अस्पताल बाहेक अन्यत्र स्वास्थ्य उपचार लगायतका सेवा उपलब्ध गराउन पाउने छैन।’

सिभिल अस्पतालका कार्यकारी निर्देशक निजी अस्पतालका मालिक, नियम विपरीत गर्छन् तीनतिर काम

विनियम वलीको विपरीत काम गरिरहेका कार्यकारी निर्देशक डा. पौडेलले उल्टै विनियमावलीमा अन्यत्र काम गर्न नपाउने व्यवस्था नै संशोधन गर्नुपर्ने बताएको थिए। डा. पौडेलले निजी अस्पतालमा काम गर्न पाउनुपर्ने तर्क गर्दै भनेका थिए,‘यो (विनियमावली) संशोधन गर्नुपर्छ। किनकि यो संस्थाले मात्रै बाँधेर राख्ने हैन।’ तर, डा. पौडेलको यो तर्कनै गलत भएको सचिव अधिकारीले बताए। नियम, कानुनको पालना सबैले गर्नुपर्ने बताउँदै व्यक्ति अनुकूलको नियम नबन्ने समेत उनले बताए।

‘कानुनको, नियमको पालना सबैले गर्नु नै पर्छ,’सचिव अधिकारीले भने,‘व्यक्ति अनुसार नियम बन्ने हैन। नियम अनुसार व्यक्तिले आफ्नो अनुशासन, मर्यादा, आचार व्यवहार गर्नुपर्छ भन्ने नै मान्यता हो।’

सचिव अधिकारीले निजामती अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलसँग निजामती कर्मचारी अस्पताल भन्दा अन्यत्र काम गरेको हो हैन भन्ने विषय सोध्ने बताए।

बोर्डमा छलफल हुने

निजामती अस्पताल बाहेक अन्यत्र काम नगर्नु भन्दा डा.पौडेलले नमानेको खण्डमा त्यसपछिको प्रक्रियाका बारेमा बोर्ड (निजामती कर्मचारी अस्पताल विकास समिति) मा समेत छलफल गर्ने उनले बताए।

‘त्यो बोर्डमा पनि छलफल हुन्छ। र, त्यो बोर्डले आवश्यक निर्देशन उहाँलाई दिन्छ,’सचिव अधिकारीले भने,‘त्यसलाई पक्कै पनि उहाँले पालना गर्नुहोला। पालना गर्नुभएन भने त्यसपछिको विषयमा फेरी कुरा गरौँला।’

सरकारका मुख्य सचिव ‘निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४’को अध्यक्ष हुने व्यवस्था रहेको छ। त्यसै गरी सामान्य प्रशासन मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, कानुन तथा न्याय मन्त्रालयका सचिव र स्वास्थ्य मन्त्रालयका सचिव विकास समितिका सदस्य रहने व्यवस्था छ।

चिकित्सा क्षेत्रमा कार्यरत वरिष्ठ चिकित्सकहरू मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना चिकित्सक सदस्य रहने व्यवस्था छ। अस्पताल विकास समितिको सदस्य सचिव अस्पतालको कार्यकारी निर्देशक नै हुन्छन्।

कार्यकारी निर्देशक डा. पौडेलले विनियमावली विपरीत निजामती अस्पताल बाहेक अन्त्रत पनि काम गर्ने विषयमा विकास समितिका अध्यक्ष समेत रहेका मुख्य सचिव शंकरदास वैरागीसँग जिज्ञासा लिँदा उनले के हो भन्ने बुझ्ने बताएका थिए।

तीनतिर काम

डा. पौडेलले काठमाडौँको गोङ्गबु स्थित ‘विनायक अस्पताल तथा प्रसूति गृह’  परामर्शदाताका रूपमा कहिलेकाहीँ जाने गरेको दाबी गरे पनि दैनिक बिहान साढे सातदेखि आठसम्म बिरामीको स्वास्थ्य परीक्षण गर्ने गरेको पाइएको हो। विनायक अस्पतालमा १५ वर्ष देखिको अट्याच्मेन्ट भएको समेत बताउँदै उनले त्यहाँ अलिअलि लगानी भएको बताएका थिए।

कैलालीको धनगढी स्थित ‘कैलाली अस्पताल’मा महिनाको दुई दिन पुग्ने गरेको पाइएको छ। कैलालीको अस्पतालमा उनले काम नगरेको दाबी गरे पनि उनी महिनाको दुहिदिन सो अस्पतालमा नियमित जाने गरेको उकेराले विवरण प्राप्त गरेको थियो। डा. पौडेलले कैलाली अस्पताल नजाने दाबी गरे पनि आउने वैशाख दुई र तीन गते समेत उनी जाने समय निश्चित भइसेको अस्पतालले उकेरालाई जानकारी दिएको थियो।

डा. पौडेलले परामर्शका रूपमा विनायक अस्पतालमा काम गर्ने गरेको बताएका थिए। तर, कुनै पनि रूपमा काम गर्न नपाइने सचिव अधिकारीले प्रस्ट पारेका छन्। अन्यत्र काम गर्न नपाइने विषय विनियमावलीमा नै प्रस्ट उल्लेख छ।

निजामती अस्पतालमा नै उनले पाउने सुविधा निक्कै लोभलाग्दो छ।

 ‘सेयर लगानी गर्न पाइन्छ, कम्पनी स्थापना गर्न पाइन्न’

कम्पनीहरूले सेयर निष्कासन गरेको समयमा व्यक्तिनेजस्तै कर्मचारीले सेयर लगानी भने गर्न पाउने सचिव अधिकारीले बताए। तर, व्यापार व्यवसाय गर्न तथा कम्पनीको स्थापना गर्न भने नपाइने उनले बताए। अधिकारीले भने,‘धेरै कर्मचारीले सेयर लगानीका कामहरू गरेका छन्। तैपनि व्यापार व्यवसाय गर्न हुन्न, कम्पनीको स्थापना गर्न हुन्न भन्ने छ।’

तर, कम्पनीले खोलेका सेयरमा कानुन बमोजिम सहभागी भने हुन पाउने उनले बताए। त्यसैले सेयर मात्रै लगानी गरेको कुरा त्यति ठुलो नहुने उनी बताउँछन्।

अस्पतालमा आफ्नै मात्रै लगानी हो भने अर्को छानबिनको विषय हुन सक्ने उनले बताए। सेयर लगानी गरेकै कारण त्यो संस्थामा काम गर्न पाउनुपर्छ भन्ने विषय उचित नभएको र त्यो गर्न नपाइने प्रस्ट पारे। 

९ चैत, २०७८, ००:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।