सिभिल अस्पतालका कार्यकारी निर्देशक निजी अस्पतालका मालिक, नियम विपरीत गर्छन् तीनतिर काम

सिभिल अस्पतालका कार्यकारी निर्देशक निजी अस्पतालका मालिक, नियम विपरीत गर्छन् तीनतिर काम

काठमाडौँ : निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)का कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल आफैँ निजी अस्पतालका सञ्चालक रहेको खुलेको छ। कानुन अनुसार उनले  सिभिल बाहेक अन्त काम गर्न पाउँदैनन्। उनी अहिले पनि निजामती अस्पतालबाहेक अन्य २ अस्पतालमा काम त गर्छन् नै उनकै अनुसार उनी एक अस्पतालको त लगानीकर्ता नै हुन्। 

‘निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७’ को बुँदा नम्बर २१ को ‘२’ अनुसार ‘कार्यकारी निर्देशकको पूरा समय अस्पतालको हुनेछ। निजले अस्पताल बाहेक अन्यत्र स्वास्थ्य उपचार लगायतका सेवा उपलब्ध गराउन पाउने छैन।’

तर कार्यकारी निर्देशक डा. पौडेल काठमाडौँको गोङ्गबु स्थित ‘विनायक अस्पताल तथा प्रसूति गृह’ अनि कैलालीको धनगढी स्थित ‘कैलाली अस्पताल’मा काम गर्दै आएका छन्। विनायक अस्पतालमा त उनको लगानी नै रहेको उनैले उकेरासँग स्वीकार गरे।

यस विषयमा उनीसँग उकेराले जिज्ञासा राख्दा उनले विनायकमा काम गरिरहेको र आफ्नो लगानी नै रहेको बताए। उनले कैलालीको अस्पतालमा काम नगरेको दाबी गरे पनि उनी महिनाको २ दिन सो अस्पतालमा नियमित जाने गरेको उकेराले प्राप्त गरेको विवरणले पुष्टि गर्छ।

विनियमावली विपरीत काम गरिरहेका डा. पौडेल उल्टो विनियमावलीमा भएको व्यवस्था नै संशोधन गर्नुपर्ने बताउँछन्। निजी अस्पतालमा काम गर्न पाउनुपर्ने तर्क गर्दै उनले भने‘यो (विनियमावली) संशोधन गर्नुपर्छ। किनकि यो संस्थाले मात्रै मलाई बाँधेर राख्ने हैन। नेपालको ऐन कानुनमा के लेखेको छैन?’

अस्पतालले आफूलाई क्वाटरलगायतको सुविधा दिएको खण्डमा भने बिहान–बेलुका पनि अस्पतालकै सेवा गर्ने उनको तर्क छ। उनले बिरामी हेर्नु भनेको सेवाको काम भएको बताउँदै निजी अस्पतालमा गएर सेवा गर्नु गलत हो भने आफ्नो भन्नु केही नभएको कुतर्क गरे।

संस्था बनाउनका लागि जिम्मेवारी पाउनुभएको तपाईँले निजी अस्पतालमा नैतिक रूपमा पनि काम गर्न मिल्छ र? भन्ने जिज्ञासामा डा. पौडेलको जवाफ छ,‘डाक्टर भएर जुवा तास खेल्नुहुन्छ, फटाहागिरी गर्नुहुन्छ, अरुनै बिज्नेश गर्नुहुन्छ, नचाहिने काम गरेर समय बिताउनुहुन्छ भने त्यो कसरी नराम्रो काम भयो?’

विनायकमा लगानीबिहान-बिहान धाउने

कार्यकारी निर्देशक डा. पौडेल प्रत्येक दिन बिहान गोङ्गबु स्थित ‘विनायक अस्पताल तथा प्रसूति गृह’मा पुगेर बिरामीको स्वास्थ्य परीक्षण गर्छन्। उनी महिनाको दुई दिन कैलालीको धनगढी स्थित ‘कैलाली अस्पताल’ पुग्छन्।

कैलाली अस्पतालमा उनको शुल्कबारे जानकारी लिँदा प्रति बिरामी आठ सय शुल्क रहेको पुष्टि भयो। सोमबार उकेराकर्मी विनायक अस्पतालमा पौडेलबारे जानकारी माग्दा उनी बिहान सात देखि साढे आठ बजेसम्म अस्पतालमा उपलब्ध हुने जानकारी दिए।

उनले आफू नियमित रूपमा कुनै अस्पतालमा नगएको दाबी गर्दै परामर्शदाताका रूपमा भने कहिलेकाहीँ जाने गरेको दाबी गरे। उनले भने,‘विनायक अस्पतालमा पनि कहिलेकाहीँ गएर बिहानमा त्यो (परामर्श) दिने कुरा छुट्टै हो। रेगुलर गएर, मेरो नाममा टिकट काटेर मैले बिरामी चाहिँ हेर्दिन।’ तर उकेराको अनुगमनमा उनले गरेको दाबी गलत देखियो।

गोङ्गबु स्थित विनायक अस्पताल तथा प्रसूति गृहमा बिहान साढे ११ बजे सम्पर्क गरेर डा. पौडेलबारे जानकारी माग्दा उनलाई दैनिक बिहान भेट्न सकिने एक कर्मचारीले जानकारी दिए। उकेराकर्मीले बिरामीको रूपमा पौडेलबारे जिज्ञासा राख्दा कर्मचारीले ,‘बिहान साढे सात देखि साढे आठ सम्ममा आउनु’ भने।

उहाँको कुन कुन बार हो भन्ने जिज्ञासामा ती कर्मचारीले भने ‘सधैँ हुन्छ।’ सिभिल अस्पतालका विधाननिधि डाक्टरसाब हैन त? भन्ने जिज्ञासामा ती कर्मचारीले भने,‘हजुर हो।’ उनले विनायक अस्पतालमा आफ्नो अट्याचमेन्ट नै भएको बताए। ‘त्यहाँ (विनायक) त मेरो एट्याच्मेन्ट छ। म त १५ वर्षसम्म त्यहीँ बसेको हो नि,’ उनले भने।

उनले कुरैकुरामा विनायक अस्पतालमा आफ्नो केही लगानी रहेको खुलाए। उनले भने,‘त्यहाँ मेरो अलिअलि लगानी पनि छ।’

उनले धेरै सेयर झिकिसकेको भन्दै अहिले सानो सेयर मात्र भएको बताए। उनले भने,‘अहिले त मेरो लगानी जति झिकिसकेँ। मेरो लगानी छैन भन्दा पनि हुन्छ। सानो सेयर होला।’

त्यसो भए विनायक अस्पतालमा सानो सेयर छ हैन त? भन्ने जिज्ञासामा उनले पछि कुरा चपाउँदै भने,‘नोमिनल राखिदिएको थाहा छैन। कहिलेकाहीँ उनीहरूले प्रमोसन गर्न पनि सेयर राखिदिन्छन्। पैसा नभएको भएर सबै सेयरहरू झिकेँ।’

महिनामा दुई पटक पुग्छन् कैलाली

उनी धनगढीस्थित ‘कैलाली अस्पताल’ मा समेत जाने गरेको देखियो। उनी महिनाको २ पटक त्यहाँ पुग्छन्। तर, डा. पौडेलले कैलाली अस्पताल जान छाडेको दाबी गरे। तर अस्पतालमा उकेराकर्मीले उनीबारे जिज्ञासा राख्दा अहिले पनि महिनामा २ पटक आउने गरेको जानकारी दिए।

कैलाली अस्पतालको प्रचार सामाग्री

डा. पौडेलले भने कैलाली अस्पतालमा पहिला जाने गरे पनि कोभिडपछि जान छाडेको दाबी गरे। अस्पतालले भने अहिले पनि उनको नाममा प्रचार गरिरहेको सामाग्री उकेराले प्राप्त गरेको छ।

उनले उकेराकर्मीलाई कैलालीमा जान्न भन्दा उताका कर्मचारीले भने वैशाखको दुई र तीन गते डा. पौडेल अस्पतालमा आउने जानकारी दिइरहेका थिए।

निजामती अस्पतालमै आकर्षक सुविधा

कार्यकारी निर्देशक डा. पौडेलले अस्पतालबाट पाउने सुविधा पनि कम लोभलाग्दो छैन। ‘निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७’ को परिच्छेद–४ को बुँदा नं.२१ मा कार्यकारी निर्देशकको पारिश्रमिक, सेवा सर्त तथा सुविधाको व्यवस्था गरिएको छ।

विनियमावलीको बुँदा नं.–२१ को ‘१’ को ‘क’ मा कार्यकारी निर्देशकले मासिक एक लाख तलब र वार्षिक एक महिनाको तलब बराबरको चाडपर्व खर्च पाउने व्यवस्था छ।

त्यसै गरी ‘ख’ मा नेपाल सरकारले तोकेको महँगी भत्ता र वार्षिक पोसाक खर्च पाउने व्यवस्था छ। तर, उनले निजामती कर्मचारीले लगाउने पोसाक नै लगाएका थिएनन्। त्यसै गरी ‘ग’ मा मासिक तीन हजार सञ्चार खर्च पाउने व्यवस्था छ।

विनियमावलीको बुँदा नं.–२१ को ‘१’ को ‘घ’ मा कार्यकारी निर्देशकले प्रत्येक वर्ष एक महिनाको तलब बराबरको औषधि उपचार खर्च पाउने उल्लेख छ। त्यसै गरी ‘ङ’ मा भनिएको छ,‘ङ’ मा कार्यकारी निर्देशकले ‘सुरु तलबमानको प्रचार  प्रतिशत बराबरको मासिक भत्ता’ पाउने व्यवस्था छ। उनको मासिक तलब एक लाख हुने भएकाले यो भत्तासहित जोड्दा एक लाख ५० हजार त तलब र भत्ता मात्रै पाउने देखिन्छ।

त्यसै गरी ‘च’ मा अस्पतालको आय अनुसार कार्यसम्पादन प्रोत्साहन कोषबाट दामासाहीले प्राप्त हुने प्रोत्साहन भत्ता पाउने व्यवस्था छ।

विनियमावलीको बुँदा नं.–२१ को ‘१’ को ‘छ’ मा व्यवस्था भए अनुसार कार्यकारी निर्देशक डा.पौडेलले एक जना निजी सहायक (अस्पतालको वरिष्ठ पाँचौँ सरह) र एक जना कार्यालय सहयोगी पाउँछन्। ‘ज’ मा एउटा सवारी साधन, सोको लागि लग बुक अनुसारको इन्धन तथा मर्मतको व्यवस्था र एक जना हलुका सवारी चालक पाउने व्यवस्था छ।

त्यसै गरी ‘झ’ मा कार्यकारी निर्देशकले अस्पताललाई विशेषज्ञ सेवा उपलब्ध गराएमा अन्य विशेषज्ञ चिकित्सकले पाए सरहको सुविधा पाउने व्यवस्था रहेको छ। अस्पताल स्रोतका अनुसार अस्पतालका विशेषज्ञ चिकित्सकले ७५ प्रतिशत भत्ता पाउँछन्। डा. पौडेल पनि विशेषज्ञ चिकित्सक भएकाले उनी यो भत्ताको भागिदार हुन्छन्।  उनको तलब एक लाखमा यो भत्ता ७५ हजार थपिँदा एक लाख ७५ हजार हुन्छ।

यसरी हेर्दा कार्यकारी निर्देशक डा. पौडेलले करिब दुई लाख ५० हजार त मासिक तलब भत्ता मात्रै पाउने देखिन्छ। अन्य सुविधा त छँदैछ।

मुख्य सचिवले भने,–थाहा छैन बुझ्छु

सरकारका मुख्य सचिव ‘निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४’ को अध्यक्ष अध्यक्ष हुने व्यवस्था रहेको छ। अस्पताल विकास समितिका अध्यक्ष समेत रहेको मुख्य सचिव शङ्कर दास वैरागीलाई डा. पौडेलले अस्पतालको विनियमावली विपरीत निजी अस्पतालमा काम गरिरहेको विषयमा जिज्ञासा लिँदा उनले थाहा नपाएको बताए।

मुख्य सचिव वैरागीले भने,‘उहाँले के प्राइभेट प्राक्टिस पनि गरिरहनु भएको छ अहिले?’ मुख्य सचिव वैरागीले थपे,‘आधिकारिकता के हो अहिलेसम्म केही भन्न सक्दिनँ। के हो म हेर्छु नि त।’

त्यसै गरी अस्पताल विकास समितिको सदस्य स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हुने व्यवस्था रहेको छ। स्वास्थ्य सचिव डा. रोशन पोख्रेलसँग डा. पौडेलले नियम विपरीत निजी अस्पतालमा काम गरिरहेको विषयमा जिज्ञासा लिँदा उनले विनियमावलीमा जे लेखेको छ त्यही हुने जवाफ दिए।

उनले भने,‘नियममा बस्नपर्यो नि। बिनियमावलीमा त्यो लेखेको छ भने जे लेखेको छ त्यही हुनुपर्यो ।’  सचिव पोख्रेलले यो विषय स्वास्थ्य भन्दा सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले हेर्ने बताए।

सामान्य प्रशासन मन्त्रालयका सचिव निजामती कर्मचारी अस्पताल विकास समितिको सदस्य रहने व्यवस्था छ। यसबारे सचिवसँग बुझ्न पटक-पटक फोन गर्दा उनले फोन उठाएनन्।

७ चैत, २०७८, २२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।