निजीमा काम नगर्न मन्त्रालयले दिएको निर्देशन टेरेनन् सिभिलका निर्देशकले, बोर्डबाट कारबाहीको तयारी

निजीमा काम नगर्न मन्त्रालयले दिएको निर्देशन टेरेनन् सिभिलका निर्देशकले, बोर्डबाट कारबाहीको तयारी

काठमाडौँ :  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) का कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेललाई मन्त्रालयमा बोलाएर निजी अस्पतालमा लगानी रहेको र काम गरिरहेकोबारे स्पष्टीकरण सोध्दै काम छाड्न निर्देशन दिए पनि उनले अस्विकार गरेका छन्। निर्देशन नमानेपछि अस्पतालको बोर्ड बैठक बसेर  कारबाहीको गर्ने मन्त्रालयका सचिवले बताए। 

कार्यकारी निर्देशक डा. पौडेलले काठमाडौँको गोङ्गबु स्थित विनायक अस्पताल तथा प्रसूति गृहमा लगानी रहेको  कैलालीको धनगढी स्थित कैलाली अस्पतालमा नियम विपरीत काम गरिरहेकोबारे उकेराले खुलासा गरेपछि मन्त्रालयले उनलाई बोलाएर एक साताभित्र अन्य अस्पतालमा काम गर्न छाड्न भनेको थियो। तर उनी अहिले पनि विनायक अस्पतालमा काम गरिरहेका छन्। 

उकेरामा प्रकाशित समाचारको आधारमा मन्त्रालयले उनलाई बोलाएर प्रस्टीकरण लिँदा उनले निजीमा काम गर्ने गरेको अब नगर्ने भन्ने जवाफ दिएको मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए। अधिकारीले उनलाई एक हप्ता भित्रमा निजी अस्पतालमा काम छाड्न निर्देशन दिएको र सो निर्देशनको पालना नगरे कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए।

सचिव अधिकारीले भने,‘अब एक हप्ताभित्रमा उहाँलाई त्यो (निजी अस्पतालमा काम गर्न) छोडाइन्छ।’ निजी अस्पतालमा लगानीबारे भने उनले अस्वीकार गरेका छन्। जबकि उकेरासँगको कुराकानीमा उनी आफैँले विनायक अस्पतालमा आफ्नो सेयर रहेको बताएका थिए।

सचिव अधिकारीले कार्यकारी निर्देशक डा. पौडेललाई  कानुन अनुसार नमिल्ने भन्दै निजीमा काम नगर्न निर्देशन दिएर पठाएको दाबी गरे। ' मैले डाइरेक्टर भइराखेको मान्छे। कानुनमा पनि त्यस्तो छैन। काम नगर्नु भनेर पठाएको छु।’

प्रतिउत्तरमा पौडेलले निजी अस्पतालमा काम नगर्ने भनेर मन्त्रालयबाट गएको उनले दाबी गरे। अधिकारीले भने ,‘बिस्तारै छोड्छु भन्नुभयो।’ उनले काम छाड्छु भने पनि विनायकमा गएर काम गरिरहेका छन्। सचिव अधिकारीले पनि काम छाड्छु भने पनि निजी अस्पताल गइरहेको पुष्टि भए निजामती अस्पतालको बोर्ड बैठक राखेर कारबाही गर्ने बताए।

'डा. पौडेलले निजी अस्पतालमा काम गर्न नछाडे निजामती अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी छाड्नुपर्छ,' सचिव अधिकारीले भने।

बोर्ड बैठकमा प्रस्टिकरण सोध्ने तयारी

केही दिनमा नै ‘निजामती कर्मचारी अस्पताल विकास समिति’को बैठक बस्दै छ। बैठकमा अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले निजी अस्पतालमा काम गरेको विषय पनि अजेण्डा बन्ने भएको छ। मुख्यसचिवको अध्यक्षतामा बोर्ड बस्न लागेको र सो बैठकमा यसबारे छलफल हुने बताए। निजी अस्पतालमा काम गर्न नछोडेको अवस्थामा लिखित पत्र काटिने सचिव अधिकारीको तर्क छ।

सरकारका मुख्य सचिव ‘निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४’को अध्यक्ष हुने व्यवस्था छ। त्यसै गरी सामान्य प्रशासन मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, कानुन तथा न्याय मन्त्रालयका सचिव र स्वास्थ्य मन्त्रालयका सचिव विकास समितिका सदस्य रहने व्यवस्था छ।

चिकित्सा क्षेत्रमा कार्यरत वरिष्ठ चिकित्सकहरू मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना चिकित्सक सदस्य रहने व्यवस्था छ। अस्पताल विकास समितिको सदस्य सचिव अस्पतालको कार्यकारी निर्देशक हुने व्यवस्था रहेको छ।

निजीमा धाउन छाडेनन् डा. पौडेलले

निजी अस्पतालमा टिकट काटेर बिरामी नजाँचेको दाबी गरे पनि कार्यकारी निर्देशक डा. पौडेलले अहिले पनि टिकट काटेरै बिरामीको स्वास्थ्य जाँच गरिरहेका छन्। सोमबार डा. पौडेलले आफैँले टिकट काटेर नहेरेको तर कन्सल्टेशन गरिदिने गरेको दाबी गरे।

तर, उकेराले सोमबार बेलुका सम्पर्क गर्दा निजामती अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल विनायक अस्पतालमा काम नछोडेको पुष्टि भयो। सोमबार बेलुका विनायक अस्पतालमा सम्पर्क गरी बिधाननिधि डाक्टरसाबको पालो भोलि बिहान कति खेर पर्छ? भन्ने जिज्ञासामा अस्पतालकी कर्मचारीले भनिन्,‘साढे सात बजेदेखि साढे आठसम्म।’

सिभिल अस्पतालका कार्यकारी निर्देशक निजी अस्पतालका मालिक, नियम विपरीत गर्छन् तीनतिर काम

निजी अस्पतालमा लगानी गर्ने निजामती अस्पतालका निर्देशकबारे सामान्य प्रशासनका सचिवले भने' यो गम्भीर विषय भयो'

पाँच बेइमान चिकित्सक जो सरकारी संस्थाको नेतृत्वमा बसेर निजी अस्पतालमा काम गर्छन्

डा. पौडेलसँग स्वास्थ्य परीक्षण गराउनका लागि ६ सय टिकट ‘फि’ लाग्ने ती कर्मचारीले जानकारी दिइन्।  उहाँ (डा. पौडेल)सँग जँचाउन टिकट ‘फि’ कति लाग्छ? भन्ने जिज्ञासामा विनायक अस्पतालकी कर्मचारीले भनिन्,‘६ सय।’

निजी अस्पतालमा काम गर्न नछाड्ने मुडमा डा. पौडेल

डा. पौडेल नियम विपरीत निजी अस्पतालमा काम गरिरहने मुडमा देखिएका छन्। नियम विपरीत किन निजी अस्पतालमा काम गरिरहनु भएको? भन्ने जिज्ञासामा अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले उल्टै प्रश्न गरे?,‘म त्यहाँ छाडेपछि के गर्ने? तपाईँले बिरामी हेरेर भएन। मैले पत्रकारिता गरेर भएन। आफ्नो पेसा त गर्नै पर्यो।’

निजीमा काम गर्नै नपाइने नियम

‘निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७’ को परिच्छेद–४ को बुँदा नं.–२१ को ‘२’ अनुसार कार्यकारी निर्देशकको पूरा समय अस्पतालको हुने र निजले अस्पताल बाहेक अन्यत्र स्वास्थ्य उपचार लगायतका सेवा उपलब्ध गराउन पाउने नपाउने व्यवस्था छ।

तर, कार्यकारी निर्देशक डा. पौडेलले भने उकेरासँगको कुराकानीमा उल्टै विनियमावलीमा अन्यन्त्र काम गर्न नपाउने व्यवस्था नै संशोधन गर्नुपर्ने बताएका थिए। उनी अहिले पनि निजी अस्पतालमा काम गर्न पाउनुपर्ने भन्दै काम गरिरहेका छन्। कार्यालय समयमा अन्यत्र गएर काम गर्नु महा अपराध हुने भन्दै कार्यालय समय भन्दा बाहिर काम गर्नु अनुचित नहुने उनले तर्क गरे।

 

२२ चैत, २०७८, २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।