टिपरले किचेर अस्तु बनाएका २ छोरीको कपडा हेरेर टोलाइरहन्छिन् विनीता

टिपरले किचेर अस्तु बनाएका २ छोरीको कपडा हेरेर टोलाइरहन्छिन् विनीता

काठमाडौँ : फागुन १६ बिहानसम्म विनीता घिसिङलाई बिहान दुई छोरीलाई विद्यालय पुर्याउन हतार हुन्थ्यो सधैँ। अहिले पनि उनी हतारिन्छिन् छोरीहरूको कपडा राखेर घेवाका लागि तयार बनाइएको स्थानमा खाना, फलफूल र बत्ती बाल्न। घर नजिकैको खानीबाट निस्किएको ट्रकले कलिला २ छोरीलाई किचेर मारेको खबर सुनेदेखि अर्ध बेहोस रहेकी उनी २ दिन भो बोल्न थालेको। तै पनि उनी अझै सामान्य अवस्थामा आउन सकेकी छैनन्।

कोठामा बलिरहेको दुई वटा दियो थियो। केही फलफूल र दुई छोरीको अस्तुलाई उनीहरूकै कपडाले बेरेर राखिएको थियो। २६ वर्षीय विनीता अहिले पनि धक फुकाएर बोल्न सकेकी छैनन्। उकेराकर्मी उनको घर पुग्दा मेरा छोरी अब यिनै हुन् भनेर कोठामा छोरीहरूको कपडाले बेरेर राखेको अस्तुतिर देखाइन्। उनका आँखा आँसुले भरिएपछि धेरै बेर बस्नै सकिनन् कोठामा।

चैत १६ गते गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ खड्का गाउँमा मोटरसाइकलमा राखेर विद्यालय लगिरहेको मोटरसाइकललाई बालुवा बोकेर ट्रकले ब्याक आएर किच्दा आठ वर्षकी सृष्टि अनि चार वर्षकी श्रेयाको मृत्यु भयो। बुबा रोहन घिसिङ गम्भीर घाइते भए। उनी उपचारककाक्रममा अहिले पनि अत्तरखेलमा रहेको अस्पतालमै छन्।

दुर्घटनास्थल र ट्रकमुनी २ बालिकाको शव

३ दिन पछि मात्र दुवैको दाहसंस्कार गरियो। पोस्टमार्टम रिपोर्टले घटनास्थलमै उनीहरूको मृत्यु भइसकेको पुष्टि गरेको छ। दुर्घटनामा गम्भीर घाइते भएका रोहनलाई बल्ल अस्पतालको आइसियुबाट वार्डमा सारिएको छ। यता विनीता बौद्ध संस्कार अनुसार दुई छोरीको आत्माको बिदाइ गरिरहेकी छिन्।

टिपर चालक यमराज बन्दा खोसियो घिसिङ परिवारको खुसी, मुर्दा घरमा कलिलाका शव, आइसियुमा बाबुको सङ्घर्ष

जुन खानीको टिपरले दुई बालिका किचेर मार्यो त्यो अवैध, सञ्चालकलाई मेयरदेखि प्रहरीसम्मको संरक्षण

चैत १६ गते गोर्केणेश्वर नगरपालिका वडा नम्बर एकको हाइवे कालोपत्रे हुँदै थियो। कालोपत्रे हुने भएपछि बाटो ठप्प पारेर काम भइरहेको थियो। बालुवा प्रशोधन उद्योगको ट्रक प्रशासनको आँखा छलेर बालुवा उठाउन गएको थियो। हतार-हतार आउँदा दुर्घटना भएको प्रहरी हिरासतमा रहेका चालकको दाबी छ। तर प्रत्यक्षदर्शीहरूले चिच्याएर मोटरसाइकलमा भएका नानीहरूलाई किच्यो भन्दा पनि नरोकिई ब्याक आएर मारेको बताउँछन्। ४३ वर्षीय टिपर चालक राजेन्द्र नगरकोटी महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतका छन्।

३ पटकमा क्षतिपूर्ति

दुर्घटनापछि पीडित र पीडक पक्षबिच भएको कानुनी सहमति अनुसार पीडित परिवारले ४५ लाख रकम पाउने भने पनि अहिलेसम्म १० लाख मात्र पाएका छन्। सहमति पत्रमा १० लाख १७ गते नै दिने र बाँकी रकम मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमा पेस हुनु अगावै दिनुपर्ने उल्लेख छ।

सहमती पत्र

पीडित परिवारका अनुसार उनीहरूलाई सो क्षतिपूर्ति ३ किस्ता गरेर दिने बताइएको थियो। पैसा दिन ढिलाइ गर्दा घाइतेको उपचारमा कमी आउने हो कि भन्ने उनीहरूको डर छ। रोहनको उपचारका लागि अहिलेसम्म उनीहरूले अस्पताललाई करिब २ लाख बुझाई सकेका छन्।

'हाम्रो परिवारमा यस्तो दुर्घटना घटेको छ। यसको क्षतिपूर्ति त कसैले पुरा गर्न सक्दैनन्। दुइटा नानीहरू हामीसँग छैन। एक जना अस्पतालमा थला परेर बस्या छ। यस्तो बेलामा हामी क्षतिपूर्ति पाइन्छ भनेर कहिलेसम्म बस्ने, कहाँ -कहाँ जाने?’ घाइते रोहनको बुबा बुदे घिसिङले उकेरासँग भने'बल्ल बिरामी अलि-अलि बोल्न थालेको छ। त्यसको उपचारमा कमी भयो भने कसले जिम्मा लिने ? त्यसलाई पनि केही भइहाल्यो भने हामी के गर्ने ?’

सान्त्वना मात्रै दिन्छन्, न्याय हुन्छ की हुन्न थाहा छैन

घिसिङ परिवारको घर

घिसिङका अनुसार पीडित परिवारलाई भेट्न स्थानीय जनप्रतिनिधिहरू आएका छन्। उनीहरू आएर केही राहत दिन्छन् जान्छन्। तर परिवारका लागि सबैभन्दा ठुलो राहत टिपर चालकले गरेको अपराध अनुसारको सजाय हो। त्यही सजाय हुन्छ कि हुन्न भन्नेमा शङ्का छ उनीहरूमा।

'टिपर चालकलाई कारबाही हुने हो कि होइन! कारबाही भए नातिनीहरूको आत्माले शान्ति पाउँथ्यो’ उनले भने। महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डिराज न्यौपाने टिपर चालकविरुद्ध सवारी ज्यानको आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको बताउँछन्।

उनले भने ‘उनको मुद्दा दर्ता भइसकेको छ। अनुसन्धान भइरहेको छ। अब न्याय अदालतले दिलाउँछ।’

२२ चैत, २०७८, १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।