टिपर चालक यमराज बन्दा खोसियो घिसिङ परिवारको खुसी, मुर्दा घरमा कलिलाका शव, आइसियुमा बाबुको सङ्घर्ष

टिपर चालक यमराज बन्दा खोसियो घिसिङ परिवारको खुसी, मुर्दा घरमा कलिलाका शव, आइसियुमा बाबुको सङ्घर्ष

काठमाडौँ : आठ वर्षकी सृष्टि अनि चार वर्षकी श्रेया घिसिङको शव मुर्दा घरमा छ। ३२ वर्षीय रोहन घिसिङ नेपाल मेडिकल कलेज, अत्तरखेलको आइसियुमा। चिकित्सकले उनको एउटा खुट्टा काम नलाग्ने भएको छ भन्ने सुनाइसकेको छ परिवारलाई। चक्काले पेटमा कुल्चिदा उनको शरीर पनि थङथिलो भएको छ।

दुर्घटनाबारे थाहा पाएदेखि बेहोस भएकी २६ वर्षीय विनीता तामाङ पनि मेडिकल कलेजमै छिन् अर्धबेहोस अवस्थामा। बालिकाहरूको ६२ वर्षीय हजुरबुबा बुँदे घिसिङ वियोगसँगै कहिले वडा कार्यालय त कहिले अस्पताल धाइरहेका छन्।

अहिले छोरालाई कस्तो छ ? बाटोमा भेटिएका उनलाई उकेराले प्रश्न गर्दा भने'खै के भन्नु नानी। आइसियुमा छ। डाक्टरले अब एउटा खुट्टा त चल्दैन भन्या छ।  कान्छा भन्दा हुँ हुँ मात्र गर्छ।'

दुर्घटनास्थल

बुधवार रोहन सधैँ झैँ आफ्ना दुई छोरी सृष्टि र श्रेयालाई मोटरसाइकलमा राखेर विद्यालयको बस स्टपसम्म पुर्याउन हिँडेका थिए। घरबाट निस्किएको केही मिनेट अघि मात्र उनको घरभन्दा तल सञ्चालित क्रसर उद्योगको टिपर रोडा लोड गरेर मुख्य सडक निस्किन अघि बढेको थियो।

उनी टिपरको पछि-पछि मोटरसाइकलमा थिए। तर, मुख्य सडक पुग्नुभन्दा करिब ५० मिटर अघि नै एक्कासि टिपर ब्याक आएर मोटरसाइकललाई किच्यो। टिपर पछाडि आएन थालेपछि आत्तिएका उनले हर्न बजाउन थाले। हेर्दाहेर्दै दुवै छोरी टिपरको चक्कामुनि परे। उनी टिपरको चक्कामा पर्दा उनको एक खुट्टा किचिसकेको थियो।

घटनाका प्रत्यक्षदर्शीका अनुसार पहिलो चोटि ब्याक गर्दा नै सानो छोरीको टाउको टिपरको चक्कामा परिसकेको थियो। नजिकै रहेका अन्यले पछाडि अर्को बच्चा पनि छ भन्दा पनि टिपर रोकिएन। ब्याक आइरहेको टिपरको चक्काले अर्की बालिकालाई पनि किच्यो। हेर्दाहेर्दै रोहन पनि घाइते भए।

'मैले ए दाइ पछाडि अर्को बच्चा पनि छ भन्दाभन्दै चालकले टिपर ब्याक गर्यो। अर्को छोरी पनि पछाडिको चक्काले किच्यो'प्रत्यक्षदर्शी निर्जला भुजेलले उकेरासँग भनिन्।

उनका अनुसार टिपर मोटरसाइकल भन्दा अगाडि थियो। बाटो सानो। अर्को गाडी पनि त्यही बेला अगाडीबाट आइहाल्यो। त्यो गाडीलाई ठाउँ दिन चालकले टिपर  ब्याक गरे। अनि दुर्घटना भयो।

'हामीले कराएको बेलामा टिपर ब्याक नआएको भए एउटा छोरी पक्कै पनि बाँच्थिन्,' उनले भनिन्' हामी कराइरह्यौ। टिपर चालकले दुवै झ्याल बन्द गरेर कानमा इयरफोन हालेको थियो।'

बालुवाखानी

पछाडि मोटरसाइकलमा भएको बच्चा किच्यो भन्दा पनि टिपर नरोकेपछि स्थानीयले चालकलाई नियन्त्रणमा लिए।  दुर्घटनाको आधा घण्टापछि घटनास्थलमा प्रहरी आएर चालकलाई नियन्त्रणमा लिए। कलिला दुई नानी हेर्दाहेर्दै शव बनेको दृश्यले आक्रोशित स्थानीयले टिपरसँगै नजिकै रहेको क्रसरमा गएर आगजनी गरे। केही समय प्रहरीसँग भिडे स्थानीय। अश्रुग्याँस हान्यो प्रहरीले।

घाइते घिसिङलाई अस्पताल लगियो। कलिला २ बालिकाको शव टिपरमुनि कपडाले छोपेर राखियो। परिवारले तत्काल बालिकाहरूको शव उठाउन मानेनन्। राति ८ बजेतिर सम्बन्धित वडा अध्यक्ष र मेयरको उपस्थितिमा क्षतिपूर्तिको कानुनी कागजमा सहमति भएपछि बालिकाहरूको शव उठ्यो र प्रहरीले पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा महाराजगन्ज लग्यो।

OOO

पीडित परिवारको घर पुग्दा बुढी आमा र केही स्थानीय देखिए। उनीहरू अघिल्लो दिनको घटनाबारे कुरा गरिरहेका थिए। सधैँ झैँ बाइबाई गरेर स्कुल गएका नातिनीहरू घरबाट निस्केको केही समयमै ’घिसिङको नातिनीहरू मार्दियो, सबै मार्दियो’ भन्ने शब्द सुन्न परेको थियो उनले।

कुनबेला दुवै नातिनी ’माम’ भनेर अँगालो हाल्न आउँछन् जस्तो लाग्छ मलाई' ती वृद्धा नातिनीहरू सम्झिएर भक्कानिइन्।

'बाउलाई पनि मार्न खोजेको रहेछ। तर छोरी तान्न जाँदा नालीमा पुगेछ र पाङ्ग्राले खुट्टा भन्दा तलको भाग मात्र भेटेछ,' उनले भनिन्।

घरमा कुराकानी गरेर फर्कँदै गर्दा बाटैमा भेटिए ६२ वर्षीय बुँदे घिसिङ। उनी वडा कार्यालय,  प्रहरी चौकी अनि अस्पताल धाउँदाधाउँदै थकित भएर घर फर्कँदै रहेछन्। दुवै नातिनी गुमाएका यी वृद्धले शोक पनि मनाउन पाएका रहेनछन्। उनी घटनाबारे धेरै बोल्न सक्ने अवस्थामा थिएनन्। सामान्य कुराकानी मात्र भयो।

परिवारले बिहीबार पनि बालिकाहरूको शव बुझ्न मानेनन्। बिहीबार घाइते घिसिङको उपचारमा लाग्ने सम्पूर्ण खर्च टिपर गाडीको तर्फबाट बेहोरिने, कानुनी प्रक्रिया तत्काल सुरु गर्ने, पीडित परिवारलाई क्षतिपूर्ति मार्फत ४५ लाख दिइने, पीडित परिवारलाई गोकर्णेश्वर नगरपालिकाको तर्फबाट उचित राहत तथा रोजगार उपलब्ध गराउने, क्षतिपूर्ति मार्फत दिइने रकममध्ये १० लाख बिहिबारनै उपलब्ध गराउने अनि कानुनी प्रक्रियामा पीडित परिवारलाई प्रहरीले सक्दो सहयोग गर्ने सहमति भएको थियो।

नुवाकोट शिवपुरी गाउँपालिका वडा नं ४ निवासी ४३ वर्षीय टिपर चालक राजेन्द्र नगरकोटी महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा छन्। उनीमाथि सवारी ज्यान सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

तर कलिला नानीहरू गुमाएको घिसिङ परिवारलाई डर छ कतै क्षतिपूर्ति पाइहाल्यौ भनेर दोषीले कारबाहीबाट मुक्ति पाउने त हैन ? के गर्ने, के नगर्ने अन्योलमा देखिए उनीहरू।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदिप गिरी चालकलाई प्रहरीले हिरासतमा राखेर कानुन अनुसार कारबाही सुरु गरिसकेकाले प्रहरीमाथि विश्वास गर्न परिवारलाई आग्रह गर्छन्। घटनामा टिपर ब्याक आएर दुई बालिका र मोटरसाइकल चालकलाई किचेको भन्ने आएको र प्रहरीले सोही अनुसार अनुसन्धान गरिरहेको बताउँदै उनले भने' चालकले जानाजान टिपर ब्याक गरेर किचेको हो या कुनै प्राविधिक त्रुटि हो त्यो पनि हेर्छौँ। अहिले हामीले मुद्दा अगाडि बढाउने सवारी ज्यानमा हो। त्यसमा शङ्का गर्नु पर्दैन। अनुसन्धानले देखाए अनुसार कारबाही हुन्छ।'

OOO

धेरै भएको छैन मदिरामा मस्त भएर सवारी चलाएका पृथ्वी मल्लले पैदल यात्री लीला देवकोटालाई किचेर मारेको घटनाको फैसला आएको जहाँ जम्मा एक हजार जरिवाना र ६ महिना कैदको मात्र सजाय सुनाइयो। रातभर काठमाडौँका लाउन्ज र रेस्टुरेन्टमा चहार्दै सडकमा अर्थ बेहोस पारामा गाडी चलाउनेलाई अनजानमा भएको दुर्घटना भनेर फैसला आउनले देशमा सोझा घिसिङ परिवारले न्यायमाथि शङ्का गर्नु पनि जायजै त हो।

१७ चैत, २०७८, २१:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।