राष्ट्रिय पुस्तकालय भवन बनाउन र फिनिसिङ गर्न अलग-अलग टेन्डर को योजना खुलेपछि रद्द भयो टेन्डर

राष्ट्रिय पुस्तकालय भवन बनाउन र फिनिसिङ गर्न अलग-अलग टेन्डर को योजना खुलेपछि रद्द भयो टेन्डर

काठमाडौँ : पटक-पटक टेन्डर गर्नुपर्ने गरी जमलमा नेपाल राष्ट्रिय पुस्तकालय भवन बनाउन  टेन्डर गरेको खुलेपछि रद्द भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले अनुगमनमा भवन बनाउन २ पटक टेन्डर गर्नुपर्ने गरी पहिलो टेन्डर गरेको खुलेपछि फागुन ३० मा टेन्डर प्रक्रिया रद्द भएको हो।

अनुगमनमा भवन बनाउने एक पटकको टेन्डर र भवन बनाइसकेपछि फिनिसिङ गर्न दोस्रो पटक टेन्डर गर्नु पर्ने गरी टेन्डर आह्वान गरेको खुलेको थियो। पुस्तकालय प्रमुख दशरथ मिश्रका अनुसार न्यून प्रतिस्पर्धा भएको कारण टेन्डर रद्द गरिएको दाबी गरे।

‘म यहाँ मंसिरबाट मात्रै आएको हुँ। सरकारले पहिलो पटक स्थगन गर्नु अघि नै डिपिआर भइसकेको थियो। टेन्डर को लागि सबै प्रक्रिया भइसकेर सूचना मात्रै लिन बाँकी थियो,’ उनले भने 'त्यही अनुसार सूचना निकालियो। न्यून प्रतिस्पर्धा भएको भन्दै शिक्षा मन्त्रालयले रद्द गरेको हो।’

कम्पनीको टर्न ओभर ५४ करोड १४ लाख ५ हजार हुनुपर्ने तर सेक्युरिटी भने २ करोड ९ लाख ३४ हजार ५ सय राख्नुपर्ने सर्त टेन्डरमा थियो।। टेन्डर परिसकेपछि २ वर्ष भित्र बनाइसक्नुपर्ने सर्त राखिएको थियो।

सोही टेन्डर अनुसार काम सुरु भएको भए भवन बन्न ७४ करोड लागत लाग्ने थियो। फिनिसिङ गर्न अर्को टेन्डर आह्वान गर्नु पर्ने थियो।

मन्त्रालयका एक अधिकारीले एकै पटक हुने काम किन दुई पटक गरिएको आफूले बुझ्न नसकेको बताए। ‘कसको के इन्ट्रेस्ट हो मलाई थाहा भएन,’उनले भने, ‘ भवन बनाउँदा सम्पूर्ण काम सक्ने गरी टेन्डर आह्वान गरिन्छ। दुई पटक टेन्डर बनाउने गरी गरियो। अहिले भने रद्द गरियो।’

 २०७२ को भूकम्प पछि पुस्तकालय रहेको साबिकको हरिहर भवन ध्वस्त भएको थियो। अहिले नेपाल राष्ट्रिय पुस्तकालय अस्थायी रूपमा मानव स्रोत तथा विकास केन्द्र सानो ठिमी भक्तपुरमा रहेको छ।

सम्बन्धित समाचार

१४ चैत, २०७८, १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।