पललाई कारागार पठाउन अदालतले टेकेको पाँच आधार

पललाई कारागार पठाउन अदालतले टेकेको पाँच आधार

काठमाडौँ :  जिल्ला अदालत तनहुँले तत्काल प्राप्त प्रमाणका आधारमा पल शाहले नाबालिगलाई फकाएर जवर्जस्ती करणी गरेको हैन भन्न नसकिने आदेश दिँदा पाँच आधार टेकेको छ। अदालतबाट जारी भएको आदेशमा ती आधारहरू टेक्दै आगामी दिनमा ठहरे बमोजिम सजाय हुने गरी शाहलाई जिल्ला कारागार दमौली पठाउन आदेश दिएको हो।

आदेश पत्रमा उल्लेख गरिएको आधार :

१- शाहले पीडितलाई जवर्जस्ती करणी गरेको कुरामा इन्कार गरे पनि निजले मौकामा गरेको बयान हेर्दा राती करिब १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरूसँग खाई बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको पाइयो।

२- एक्लै सुतेकी बालिकाको कोठामा राती १२ बजे प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन। राती पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राती निजले पीडितलाई करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।

३- शाहले आफूलाई माया प्रेम गर्ने तथा विवाह गर्ने झुटो आश्वासन दिई पहिले पनि पटक पटक करणी गरेको भन्ने पीडितको मौकामा व्यक्त गरेको घटनाको कागज उनले आफूलाई प्रतिवादीले पटक पटक करणी गर्ने गरेको कारण अप्ठेरो परेको छ भनी बताएकी भन्ने सरोज वली, योगेश शाह र दुर्गेश थापा र दुर्गा अधिकारीको बयानबाट समर्थित हुन आयो।

४- शाह पीडित नाबालिग हुन् भन्ने जानकारी रहेको। उनी ३२ वर्षका वयस्क व्यक्ति हुन्। प्रतिवादीले ब्वाइफ्रेन्ड गर्लफ्रेन्डविच सम्बन्ध हुनु नर्मल हो प्रेगनेन्ट भएको खन्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा शाहले करणी गरेको थप पुस्ट्याइँ हुन आयो।

५-घटना विवरण कागज लगायतका तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा शाहले नाबालिगलाई ललाई फकाई विवाह गर्छु भनेर करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई थुनामा राख्न कारागार कार्यालय दमौली पठाउनु।

१० चैत, २०७८, १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।