अदालतले पलका म्यानेजर जोशीलाई बलात्कारको मतियार देखेन, उजुरी नदिन धम्क्याएको देख्यो

अदालतले पलका म्यानेजर जोशीलाई बलात्कारको मतियार देखेन, उजुरी नदिन धम्क्याएको देख्यो

काठमाडौँ : नाबालिग बलात्कारमा मतियारको भूमिका निभाएको अभियोग खेपेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले मतियार मान्न अस्वीकार गरेको छ। नाबालिगमाथि बलात्कार भएको दिनको घटनासँग जोशीको सम्बन्ध नदेखिएको तर घटनापछि उजुरी नदिन धम्क्याएको देखिएको भन्दै एक लाख धरौटी मागेको आदेशमा देखिन्छ।

आदेशमा भनिएको छ 'प्रस्तुत मिसिल कागजात हेर्दा तनहुँको दलेगौंडास्थित प्रदीप थापाको घरमा मिति २०७८ वैशाख १४ गतेको घटना वारदातको सन्दर्भमा जोशी उक्त म्युजिक भिडियो सुटिङ टोलीमा गएको वा निजले पीडित समेतलाई थापाको घरमा बस्ने व्यवस्था मिलाएको वा पीडितलाई जबरजस्ती करणी गर्ने सिलसिलामा शाहसँग सरसल्लाह गरी चाँजोपाँजो मिलाई दिएको भन्ने कुरा जाहेरी लगायत मिसिल संलग्न कुनै पनि कागजातबाट वस्तुनिष्ठ तवरले खुल्न आएको देखिँदैन।'

आदेशमा वारदातको प्रकृति, आरोपित कसुरको गम्भीरता र घटना वारदात पश्चात् पीडितप्रति प्रतिवादीले देखाएको गैरजिम्मेवारपूर्ण क्रियाकलापलाई दृष्टिगत गर्दा शाहको फौजदारी दायित्वलाई निरपेक्ष रूपबाट हेर्न सकिने अवस्था नरहेको उल्लेख छ।

उनले अभियोगबाट पूर्ण सफाई भने पाएका छैनन्। भोलीका दिनमा मुद्धा अगाडि बढ्दा उनले मतियारको भुमिका निभाएको देखिएमा सजाय हुनसक्छ। तत्कालका लागि अदालतले उनले पीडितलाई उजुरी दिन अवरोध गरेको देखिएको आदेशमा उल्लेख छ। यस्ता घटनाबारे जानकारी पाएर लुकाउनु समेत कानुन अनुसार कारबाहीयोग्य ब्यवहार हो। जोशीले त पल विरुद्ध जाहेरी परेपछि अन्तर्वार्ता दिँदै पललाई फसाउन आफु पनि संलग्न रहेको र त्यसवापत सजाय भोग्न तयार रहेको बोलेका थिए।

आदेश पत्रमा जोशीबारे उल्लेख गरिएको विवरण

कृष्ण जोशी भन्ने कृष्ण प्रसाद जोशीको हकमा निजले पल शाह भन्ने पूर्णविक्रम शाह र पीडित वालिकाका बिच सुमधुर सम्बन्ध जुटाउने वातावरण मिलाई दिएको तथा उक्त घटना वारदातापछि सह-प्रतिवादी शाहलाई जोगाउने उद्देश्यले उक्त घटना प्रकाशमा नल्याउन तथा उजुरवाजुर नगर्न पीडितलाई दबाब दिने तथा धम्क्याउने लगायतका क्रियाकलाप गरी जबरजस्ती करणी सम्बन्धी कसुरको मतियारको कार्य गरेको भन्ने अभियोग पत्रबाट देखिन्छ।

जाहेरवालाले सुरुमा जाहेरी दिँदा तथा पीडितले कागज गर्दा जोशीलाई पोलेको नभै पछि आएर परक जाहेरी परेको र त्यस्तो लगत्तै पीडितले पनि निजको नाम समेत लेखाएको देखिन आयो।

मिसिल कागजात हेर्दा शाहले पीडितलाई पहिले पहिले पनि जबरजस्ती करणी लगायत यौनजन्य दुर्व्यवहार गरेको सन्दर्भ उल्लेख भए तापनि मूलतः २०७८ वैशाख १४ गतेको घटना वारदातलाई लिएर यो मुद्दा दायर भएको हुँदा प्रस्तुत मुद्दाको कारबाही र निर्णय सोही घटना वारदातसँग मात्र सीमित रहनु पर्ने कुरामा विवाद रहेन।

जोशीले मौकामा र यस अदालतमा समेत बयान गर्दा आफू सह-प्रतिवादी शाहले दिएको तलबमा काम गर्ने म्यानेजर भएको नाताले निज र पीडित दुवै जनासँग राम्रो सम्बन्ध भएको र पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको कुरा पीडितले भनेपछि मात्र थाहा पाएको हुँ। मैले सह-प्रतिवादी शाहलाई त्यस्तो नराम्रो काम गर्न कहिल्यै पनि सहयोग गरेको छैन भनी अभियोग दाबीमा पूर्णतः इन्कार रहेको देखिन्छ।

मतियार भनेको कुनै पनि घटना वारदातसँग प्रत्यक्ष-अप्रत्यक्ष रूपमा संलग्न रहेको व्यक्ति हो। मतियारले पनि कुनै कसुरजन्य कार्य गर्ने गराउने मनसायपूर्वक मुख्य कसुरदारलाई कसुर गर्न सहयोग हुने गरी कुनै काम कारबाही वा क्रियाकलाप गरेको हुनाले उसले गरेको कार्य अनुसार निजलाई पनि फौजदारी दायित्वप्रति कुनै न कुनै रूपमा जिम्मेवार बनाइएको हुन्छ।

प्रस्तुत मिसिल कागजात हेर्दा तनहुँ जिल्लाको दुलेगौंडास्थित थापाको घरमा घटेको घटना वारदातको सन्दर्भमा प्रतिवादी जोशी उक्त म्युजिक भिडियो सुटिङ टोलीमा गएको वा निजले पीडित समेतलाई प्रदीप थापाको घरमा बस्ने व्यवस्था मिलाएको वा पीडितलाई जबरजस्ती करणी गर्ने सिलसिलामा शाहसँग सरसल्लाह गरी चाँजोपाँजो मिलाई दिएको भन्ने कुरा जाहेरी लगायत मिसिल संलग्न कुनै पनि कागजातबाट वस्तुनिष्ठ तवरले खुल्न आएको देखिँदैन ।

जहाँसम्म जोशीले उक्त घटना वारदातपछि शाह विरुद्ध उजुरवाजुर नगर्न तथा त्यसरी न्यायिक कारबाहीतर्फ गए नराम्रो हुनेछ भनी पीडितलाई डर त्रास देखाई धम्की समेत दिएको भन्ने सन्दर्भ छ, तत्सम्बन्धीमा यी प्रतिवादीले गरेको उक्त कार्य कसुरबारे सूचना दिन वाधा अवरोध गरेको विषयसँग सम्बन्धित देखिन्छ।

त्यस्तो कार्यका निम्ति कानुनले छुट्टै फौजदारी दायित्वको व्यवस्था गरेको पाइन्छ। प्रस्तुत मुद्दामा उल्लेखित विषयतर्फ अभियोजन पक्षबाट समुचित ध्यान पुग्न सकेको पाइएन।

हाम्रो न्यायिक विधि शास्त्रीय दृष्टिकोणतर्फ हेर्दा कनै व्यक्तिलाई मतियार भनी सजाय गर्नको लागि उसलाई कसुरका अनिवार्य तत्त्वबारे जानकारी रहन पर्ने एउटा पूर्वशक्त हो भने कसुरबारे जानकारी र साझा योजनामा सहभागिताको अतिरिक्त उसले गरेको कार्यबाट मूल कसुरदारमा उत्साह थपिएको स्पष्टता देखिन्छ वा देखिँदैन भन्ने कुराहरू पनि मतियारको आपराधिक दायित्व यकिन गर्ने क्रममा हेरिनु पर्ने हुन्छ।

जोशीले वारदात गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरेको भन्ने कुरा जाहेरवालाले पछि दिएको पूरक जाहेरी र पीडितले पछि पुनः गरी दिएको घटना विवरण कागज बाहेक अन्य वस्तुनिष्ठ आधार प्रमाणबाट देखिन नआएकाले जोशीलाई थुनछेकको सन्दर्भमा थुनामा नै राख्नु पर्ने सम्मको अवस्था देखिएन।

तत्काल प्राप्त प्रमाणको उक्त अवस्थाको विद्यमानताको बाबजुद यी प्रतिवादीले सो घटना वारदातबारे समयमै थाहा पाएर पनि पीडितलाई न्यायिक उपचारमा जान सल्लाह सुझाव दिनुको सट्टा उल्टै पीडितलाई उजुर वाजुर गर्न अवरोध पुर्याउने तथा धम्क्याउने र डर त्रास देखाउने जस्ता कार्य गरेको तथ्य मिसिल कागजातबाट देखिन्छ। सो कुरालाई प्रतिवादी स्वयंले अधिकारप्राप्त अधिकारी समक्ष बयानको क्रममा समेत स्वीकार गरेको अवस्था छ।

साथै उक्त तथ्य पूरक जाहेरी ब्यहोरा तथा पीडित लगायत घटना विवरणको कागज गर्ने गर्दा अधिकारीको कागजबाट समेत समर्थित भएको पाइन्छ। अतः प्रस्तुत घटना वारदातको प्रकृति, आरोपित कसुरको गम्भीरता र घटना वारदात पश्चात् पीडितप्रति प्रतिवादीले देखाएको गैरजिम्मेवारपूर्ण क्रियाकलापलाई दृष्टिगत गर्दा यी प्रतिवादी उपर रहन सक्ने फौजदारी दायित्वलाई निरपेक्ष रूपबाट हेर्न सकिने अवस्था देखिएन। 

१० चैत, २०७८, २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।