इजलासमा मोहनाले तस्बिर देखाउँदै प्रश्न गरिन्' ती नाबालिकालाई पनि श्रृषा बनाउने हो त श्रीमान् !

इजलासमा मोहनाले तस्बिर देखाउँदै प्रश्न गरिन्' ती नाबालिकालाई पनि श्रृषा बनाउने हो त श्रीमान् !

तनहुँ : नाबालिगको बलात्कार गरेको अभियोग लागेका पल शाह र कृष्ण जोशीबारे जारी थुनछेक बहसमा पीडितको तर्फबाट बहस गर्दै अधिवक्ता मोहना अन्सारीले नायकको छवि बनाएकाले गरेको अपराधलाई अदालतले थप गम्भीर रूपमा लिनुपर्ने तर्क गरिन्।

बुधवार पीडितको तर्फबाट जिल्ला अदालत तनहुँमा बहसका क्रममा उनले समाजमा प्रभावशाली छवि बनाएका पल शाह जस्ता व्यक्तिले जसरी नाबालिग हो भन्ने जान्दाजान्दै ललाइफकाई गरेर बलात्कार गरेका छन् यदि उनले उन्मुक्ति पाउने हो भने समाजमा त्रास फैलने तर्क समेत गरिन्।

उनले चलचित्रमा नायकको छवि बनाएकाको खलनायक छविलाई अदालतले स्वीकार गर्नुपर्ने भन्दै उनका म्यानेजर जोशीले एक नाबालिगलाई बलात्कारका लागी सहज वातावरण बनाउन सघाएकाले उनलाई समेत कडा सजाय हुनुपर्ने माग राखेकी थिइन्।

उनले इजलासमै आत्महत्या गरेकी अभिनेत्री श्रृषा कार्कीको तस्बिर न्यायाधीशतिर देखाउँदै इजलासमा प्रश्न सोधिन्' श्रीमान् ती नाबालिकालाई पनि श्रृषा कार्की नै बनाउने हो त?' उनको प्रश्नपछि इजलासमा रहेका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले कार्कीको तस्बिरसहित प्रकाशित समाचारको एक कपी मागेका थिए।

पलविरुद्ध बहसकर्ताले इजलासमा पेस गरेका आठ नजिर जसले काट्छ निर्दोष भन्ने तर्क

अभियुक्तको बयान र प्राप्त प्रमाणहरूले शाहले नाबालिगलाई करणी गरेको पुष्टि हुने भन्दै उनले यस्तालाई तारेख वा धरौटीमा छाड्दा समाजमा गलत सन्देश जाने भन्दै दुवै जनालाई पुर्पक्षमा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन्।

अधिवक्ता राधिका खतिवडाले बलात्कार सम्बन्धी सर्वोच्च अदालतले प्रतिपादन गरेका ११ नजिर पेस गर्दै नाबालिगको केसमा अदालतले के-केलाई प्रमाण मान्ने, केलाई नहेर्ने भन्ने उदाहरणसहित बहस गरेकी थिइन्।

पीडितको पक्षबाट जिल्ला महान्यायाधिवक्ता रामचन्द्र शर्मा र  अधिवक्ता सरिता तिवारीले समेत बहस गरेका थिए। शाहको पक्षका अधिवक्ताहरूले शाह निर्दोष रहेको दाबी गर्दै धरौटीमा छाड्न माग गरेका थिए।

इजलासमा पल शाहले प्रहरीमै दिएको बयान दोहोर्याएका थिए भने जोशीले भने प्रहरीले करकापमा बयान गर्न लगाएको दाबी गर्दै पल शाह निर्दोष रहेको, उनले महिलाको सम्मान गर्ने गरेको र नाबालिगसँगको सम्बन्धबारे आफूलाई केही जानकारी नभएको दाबी गरेका थिए।

१० चैत, २०७८, १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।