भेटौला नि भन्दै दाइसँग छुट्टिएकी उर्मिलालाई विवेकहीन भिडले खोसेर लग्यो

भेटौला नि भन्दै दाइसँग छुट्टिएकी उर्मिलालाई विवेकहीन भिडले खोसेर लग्यो

इटहरी : सरकारी जागिर खाने लक्ष्य भए पनि प्रहरी नै बन्ने सोचेकी थिइनन् उर्मिला श्रेष्ठले। उनका परिवारका अन्य सदस्यहरू प्रहरीमै थिए। तर उनी लोकसेवा पास गरेर सरकारी जागिरे हुन चाहन्थिन्। संयोग, लोकसेवा परीक्षामा असफल भएपछि उनी परिवारका अन्य सदस्य झैँ प्रहरी सेवामै प्रवेश गरिन्। सफल पनि भइन् र आफ्नो काममा रमाइरहेकी थिइन् पनि।

२०५२ कात्तिक १४ मा खोटाङ बराहपोखरी गाउँपालिकामा जन्मिएकी उनी सानै देखी समाजसेवामा रुचि राख्थिन्। स्थानीय बालकन्या उच्च माविबाट प्लस टु सकेर थप शिक्षाको लागी उनी उदयपुर आएकी थिइन्।

उदयपुरको त्रियुगा क्याम्पसबाट विएडको परीक्षा सकाएपछि उनी लोकसेवा परीक्षाको तयारीमा लागेकी थिइन्। दाजु भुवनले उनलाई परीक्षाको तयारीमा साथ दिए। लोकसेवा तयारी कक्षाको लागी प्रेरित गरे।

लोकसेवामा नाम ननिस्किएपछि केही हतास भएकी उनलाई दाजु भुवनले साथ दिए। भुवन २०७२ सालदेखीनै प्रहरी सेवामा थिए। दाजुको बर्दीले उर्मिलालाई आकर्षित गर्यो। त्यसपछि उर्मिलाले पनि प्रहरी सेवामा जाने इच्छा देखाएको भुवन सम्झिन्छन्।

२०७६ साउन १ मा उनले प्रहरी जवानबाट आफ्नो भविष्य सुरु गरिन्। सशस्त्र प्रहरी बल विराटनगर गणमा उनको पोस्टिङ भयो।

जीवनका संयोगहरू जुर्दै गए। परिवार नै प्रहरी सेवामा लागेको थियो। उनका दाजु र भाउजू पहिला देखी नै प्रहरी सङ्गठनमै थिए। अर्को संयोग, गत वर्ष वैशाखमा उदयपुर त्रियुगाका प्रहरी जवान नवीन श्रेष्ठसँग उनको विवाह भयो। उनी इलाममा कार्यरत छन्।

परिवारकी एक्ली छोरी भएकाले परिवारमा उनको भनाई महत्त्वपूर्ण हुन्थ्यो। दाइ भुवनले पनि उनको कुरालाई प्राथमिकता दिन्थे। उनको निर्णय नै अन्तिम हुन्थ्यो घरमा। तर आइतबार जिम्मेवारी पुरा गर्दागर्दै आक्रोशित भिडले विवेक गुमाउँदा कलिलै उमेरमा श्रेष्ठको भौतिक शरीर विलीन भयो।

OOO

होली खेल्ने क्रममा गत शुक्रवार एक विद्यार्थीलाई लेटाङ नगरपालिका ५ का शिक्षक मनोज न्यौपानेले घरमै गएर दुर्व्यवहार गरेको आरोप लाग्यो। १२ बर्सिया बालीकाको आरोपपछि शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक पौडेललाई प्रहरीमा बुझाउने तयारी हुँदै थियो। तर विद्यालयले ढिलाइ गर्यो। दिउस आफ्ना छोराछोरीलाई खाजा खुवाउन आएका अभिभावकले यो चाल पाएपछि आक्रोशित भए। विद्यालय बाहिर भिड जम्मा हुन थाल्यो।

विद्यालयमा अभिभावक र स्थानीयको भिड जम्मा भएको थाहा पाएपछि आएको प्रहरीले भिडलाई विद्यालय परिसर भित्र छिर्न रोक्ने कोसिस गरिरहेको थियो। आरोपीलाई बचाउन लागेको भन्दै विद्यार्थी र अभिभावकसँगै स्थानीय पनि विद्यालय तोडफोड गर्नतिर लागे।

एक महिना अगाडी विद्यालयबाट घर फर्कँदै गरेकी १२ बर्सिया बालीकाको बलात्कारपछि हत्या भएको घटना सेलाएको थिएन। लगत्तै शिक्षकले घरमै गएर १२ वर्षकी विद्यार्थीलाई दुर्व्यवहार गरेको सुनेपछि गाउँले आक्रोशित भए।

आइतबार दिउँसो २ बजेदेखि तनाव बढ्दै गयो। जिल्ला प्रहरी कार्यालय मोरङले थप सहायताको लागी सशस्त्र प्रहरी बलको सहयोग माग्यो। प्रदेश १ सशस्त्र प्रहरी बल विराटनगरबाट ५० जनाको टोली घटनास्थल पुग्यो। विद्यालयमा धेरै महिला अभिभावकहरू पनि जम्मा भएको खबर आएकाले टोलीमा महिला प्रहरी पनि राखियो। त्यही टोलीमा थिइन् उर्मिला श्रेष्ठ।

प्रहरी थपिएपछि झनै भिड अनियन्त्रित भयो। लेटाङ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भुमसुर्य मगरका अनुसार भिडले हातहतियार सहित आक्रमण सुरु गर्यो। प्रहरीले निक्कै संयम अपनाएको उनले सुनाए। प्रहरीकै संयतमाको कारण थप घटना हुनबाट जोगिएको उनको भनाई छ।

त्यही भिडले चक्कु निकाली कसैले उर्मिलाको गलामा हान्यो। उर्मिला घटनास्थलमै ढलिन्। साँझ उनलाई उपचारको लागी कोसी अस्पताल पुर्याइयो। अस्पताल पुग्नै नपाई उनको मृत्यु भइसकेको थियो।

OOO

गत असारमा हजुरबाको देहावसान भएपछि फागु मनाउन नहुने अवस्थामा थिए भुवन र उर्मिला। दिनभर ड्युटी खटिएका दाजु बैनीको फागु पूर्णिमाको दिन साँझतिर एक छिन भेट भयो। त्यो क्षण सम्झँदै दाजु भुवन भन्छन्, ' उनको स्वास्थ्यमा समस्याहरू देखिएपछि बैनीको उपचार गराउने कुरा भयो। आयुर्वेदिक उपचार भए पनि गराउने। तर राम्रो ठाउँमा उपचार गराउने कुरा भइरहेको थियो। बर्दीमै भएकाले धेरै समय कुरा भएन। भेटौला नि भन्दै छुट्यौ। तर अहिले अकल्पनीय अवस्था आयो.।'

७ चैत, २०७८, १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।