भारत्तोलन खेलाडी तारादेवी जसले खेल्दा-खेल्दै विवाह गर्नै बिर्सिइन्

भारत्तोलन खेलाडी तारादेवी जसले खेल्दा-खेल्दै विवाह गर्नै बिर्सिइन्
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौं : तारादेवी पुन २०५८ साल पुस २६ गते दशरथ रंगशालामा भारत्तोलन खेल्न जाँदा एक जना पनि महिला थिएनन्। महिला खेलाडी नै नभएपछि महिलाका लागि प्रशिक्षण गर्ने खेल सामग्री हुने कुरै भएन।

सामान्यत: महिलाको भारत्तोलन खेल१५ केजीबाट सुरु हुन्छ भने पुरुषको २० केजी। महिला खेलाडी नभएको कारण त्यहाँ उचाल्नुपर्ने भार २० केजीका मात्रै थिए। 

तारादेवीले रंगशालामा म पनि खेल्छु नि भनेर तत्कालीन प्रशिक्षकलाई भनिन्। प्रशिक्षकले अप्ठ्यारो माने र भने, ‘तपाईंले सक्नुहुन्न।’ तारादेवीले जिद्दी गरिन्, ‘हेर्न त हेर्नु न।’ 

प्रशिक्षकले उनको खेल्ने हुटहुटीलाई दुई/चार दिनको रहर सम्झिए। खेलमा सहभागी गराए। सबै पुरुषै पुरुष खेलाडी। त्यहीँ प्रशिक्षण लिन्थिन् तारादेवी।

विस्तारै गुरुको मन पग्लिँदै गयो। अन्य महिला खेलाडी पनि थपिँदै गए। अनि तारादेवी भइन् नेपालकै बलवान महिला। भारत्तोलनकी राष्ट्रिय खेलाडी।

‘म असाध्यै एकोहोरो थिएँ। भलिबलका राष्ट्रिय खेलाडी केही साथीको सुझावमा भारत्तोलनमा गएको थिएँ। गुरुले सक्दिनस् भन्दा पनि खेलिरहेँ। आउट अफ भ्यालीमा केही खेलाडी थिए, उनीहरु उपत्यकाभित्र रंगशालामा आउँदैनथे। पछि भने राम्रै संख्यामा महिला खेलाडीहरु  आउन थाले,’ उनले भनिन्।

कहिले खेल्न सुरु गरिन् उनैलाई थाहा छैन
म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ मा २०४० साल पुस २९ गते जन्मेकी हुन् तारादेवी पुन। बुबा बिरुपुल र आमा दिलमायाको चौथो सन्तान हुन् उनी। दुई दाइ, एक दिदी र एक भाइ छन् घरमा। खेतीपाती नै जीवन निर्वाहको मुख्य स्रोत। उनले घाँस काट्नेदेखि खेत जोत्नेसम्मको काम गरेकी छन्।

‘खेल्दै पढ्दै घरमा काम पनि उस्तै गरियो,’ उनले भनिन्, ‘गाउँघरमा गर्ने काम नगरेको केही छैन।’

अहिले भारत्तोलनको राष्ट्रिय खेलाडी भए पनि उनी पहिले भने भलिबलकी राष्ट्रिय खेलाडी हुन्। भारत्तोलनको सुरु गरेको त भलिबल खेलेको १० वर्षपछि हो।

१२/१३ वर्ष हुँदा नै उनले जिल्लास्तरीय भलिबल प्रतियोगिता खेलिसकेकी थिइन्। ‘ठ्याक्कै कति वर्षमा खेल्न सुरु गरेँ मलाई थाहा छैन,’ तारादेविले भनिन्, ‘१२/१३ वर्षकी थिएँ होला खेल सुरु गर्दा।’

केटीहरु उस्तो खेल खेल्दैनथे। केटाहरुकै समूहमा बसेर खेलेकी हुन् तारादेवीले। राष्ट्रिय समूहमा छानिँदा वडा, क्षेत्र, जिल्ला हुँदै विकास क्षेत्रको समूहमा पर्नुपर्थ्यो। उनी प्रथम पटकमै परिन् पनि। 

२०५४ साल चैतमा राष्ट्रिय खेलमा उनी पश्चिमाञ्चल विकास क्षेत्रको समूहमा परिन्। त्यो बेला पश्चिमाञ्चल विकास क्षेत्र प्रथम भयो महिला भलिबल राष्ट्रिय प्रतियोगितामा।

प्रतियोगिता जितेपछि भने काठमाडौँका हंशराज वाग्ले र जितेन्द्र चन्दको नजरमा परिन् उनी। राष्ट्रिय टिममा परिन् पनि। त्यो बेला उनी बेस्ट प्लेयर पनि भएकी थिइन्।

सन् १९९८ मा भएको आठौँ साफमा छानिएकी तारादेवीले  समयमा खबर नपाएकाले साफ भने खेल्न पाइनन्। ‘मेरो घरमा अझै पनि राम्रोसँग फोन टिप्दैन। त्यतिबेला म राष्ट्रिय टिममा परेको रहेछु। तर पत्र पुग्दा गेम भइसकेको थियो। मैले खेल्न पाइनँ,’ तारादेवीले विगत सम्झदै भनिन्। उनी भलिबलमा बेस्ट लिफ्टर थिइन्। 

पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि उनी छानिएकी थिइन्। दरबार हत्याकाण्ड भएपछि भने यो गेम भएन। 

गाउँमा बस्दा अवसर गुमाउन थालेपछि भने खेल्ने तीव्र चाहना सहित काठमाडौँ आइन् तारादेवी। गाउँकै एक जना दिदीसँग दुई वर्ष सँगै बसिन्।

जावालाखेलमा ढोरपाटनको टिम क्याप्टेन भएर खेलेकी थिइन् उनले। २०५८ सालको अन्तिमतिर भारत्तोलनमा जाने सल्लाह आयो। उनी गइन्। उनलाई लाग्यो मैलै खेल्ने खेल यही हो। 

नेपालकै बलियी महिला भनेर पत्रिकामा आउँदा… 
२०५८ सालमा वीरगञ्जमा प्रथम खुला महिला भारत्तोलन प्रतियोगिता भयो। त्यतिबेला उनी प्रथम भइन्। पहिलो महिला बलियी खेलाडीको रुपमा दरिइन् उनी। 

पत्रपत्रिकाले उनको समाचार ‘नेपालकी बलियो महिला’ भनेर ठूलो तस्बिर सहित छापे। यो प्रतियोगिता खेलेपछि भने तारादेवीलाई फर्केर हेर्न परेन।

‘अधिकांश पत्रिकाले मेरोबारे समाचार लेखेका थिए। अन्तर्वार्ता दिन भ्याइ-नभ्याइ थियो मलाई,’ उनले भनिन्, ‘पत्रपत्रिकामा आएपछि नै मलाई नेपाल प्रहरीले नेपाल पुलिस क्लबमा लियो। त्यसपछि भने खान-लाउन समस्या भएन।’

२०६१ सालमा तारादेवीका बुबा बिते। छोरीलाई भेट्न आमा काठमाडौँ आएकी थिइन्। आमालाई खेल देखाउन उनले दशरथ रंगशाला लिएर गइन्। संयोग, त्यही दिनमा उनलाई भार उचाल्दा खसेर गोडामा चोट लाग्यो। त्यसपछि त हो आमाले उनलाई खेल्दै नखेल भन्न थालेको।

‘भलिबल खेल्दा सिंगो परिवारको साथ थियो। अहिले अरुले केही नभने पनि आमाले भने फाने गरेपिच्छे नखेल भन्नुहुन्छ,’ उनले भनिन्, ‘दुनियाँले राम्रो भने पनि आमाले नखेलभन्दा मन नरमाउने रहेछ।’

२०५८ देखि २०७८ सम्म उनी नेपालको बलियो महिला भइन्। २०५८ सालदेखि २०७६ सालसम्म भएका राष्ट्रिय प्रतियोगिता, क्षेत्रीय प्रतियोगितामा प्रथम भइन्। ९५ केजीबाट सुरु भएको उनको खेल अहिले १ सय ७५ केजीको भार उचाल्न सक्ने भएको छ।

भारत्तोलन खेलमा संसारमा नै डाइट पेलेर बलियो भएको विवाद भएपछि यसको प्रभाव नेपालमा पनि पर्यो। यो बलियो तोक्ने चलन अहिले छैन। जतिन्जेल तोकियो, त्यतिन्जेल नेपालको बलियो महिला उनै भइन्। 

अहिलेसम्म तारादेवीले सात वटा अन्तर्राष्ट्रिय खेल खेल्न पाएकी छिन्। २०६८ सालमा भएको प्रथम दक्षिण एसियाली महिला तथा पुरुष भारत्तोलन प्रतियोगितामा ३ वटा स्वर्ण पदक सहित राष्ट्रिय कीर्तिमान कायम गरिन्। 

२०७० सालमा थाइलयाण्डमा भएको ११औँ  इगात किङ कप इन्टरनेसनल वेट लिफ्टिङ च्याम्पनसिपमा सहभागी भइन् भने ३ वटा राष्ट्रिय कीर्तिमान राखिन्।

त्यस्तै १७औँ एसियन गेममा साउथ कोरियामा र एसियन च्याम्पियनसिप थाइल्याण्डमा भएको थियो। यसमा पनि उनको सहभागिता रह्यो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जित्न नसके पनि राष्ट्रिय कीर्तिमान भने राख्दै गइन्।

तारादेवीले १२औँ सागमा भने उनले कास्य पदक हात पारिन्। २०७४ मा इण्डोनेसियामा भएको खेलमा ३ वटा राष्ट्रिय कीर्तिमान राख्न सफल भइन् भने दुई वर्षअघि काठमाडौंमा भएको सागमा पनि उनले कास्य पदक जितिन्। 

विभिन्न पदकबाट सम्मानित तारादेवी खेलेरै संगठनमा प्रोमसन भएको बताउँछिन्। ‘म अहिले असई छु। खेलेर नै यो तहसम्म पुगेको हुँ,’ उनले भनिन्। 

खेल्दा-खेल्दै विवाह गर्न बिर्सेकी तारादेवी
तारादेवी खेल जीवनमा कोही आइडल पर्सन नभएको बताउँछिन्। ‘मलाई यो जस्तो बन्छु भन्ने नै थिएन। अन्तर्राष्ट्रिय गेम पनि हेर्छु हेर्न त। तर आइडल पर्सन मान्ने गरेको छैन,’ उनको भनाइ छ। 

३९ वर्षीय तारादेवीले विवाह गरेकी छैनन्। सोचाइ भए पनि खेल्दाखेल्दै विवाह गर्नै बिर्सेको बताउँछिन् उनी। ‘विवाह गरौँला नि त भन्दाभन्दै अहिलेसम्म गरिएन,’ उनले भनिन्, ‘गेमको तयरी गर्दैमा विवाहबारे गम्भीर भएर कहिल्यै सोचिएन।’

खेल्न पाइँदैन वा शरीर कमजोर हुन्छ भनेर विवाह नगरेको हो भन्ने प्रश्नमा तारादेवी भन्छिन् ‘त्यो त होइन। खेललाई नै मैले संसार सम्झिएर हो।’

प्रहरीमा सेवा गर्ने धोको
तारादेवी अब एक/दुई गेम खेलेपछि भने नेपाल प्रहरीको आन्तरिक काम गर्ने सोचाइमा छिन्। ‘खेल त छँदैछ। मलाई प्रहरीमा काम पनि गर्ने धोको छ,’ उनी भन्छिन्, ‘त्यसपछि प्रशिक्षकतिर जान्छु होला।’

भारत्तोलन खेल उनलाई अनुशासित लाग्छ। महिला-पुरुषले एक-अर्कालाई सम्मान गर्छन्। उनको विचारमा अब यो खेलमा सुधार गर्नुपर्ने कुरा धेरै छन्। ‘हामी गरिब मुलुकका भयौं। अन्य खेलमा जस्तै यो खेलमा पनि अपडेटमा समस्या छ,’ उनले भनिन्, ‘यो सुधार गर्न सके हामीले भारत्तोलनमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न सक्छौँ।’

२९ फागुन, २०७८, १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।