उसुकी गोल्डमेडलिस्ट जुनीको गुनासो : पुरुष खेलाडीले द्विअर्थी शब्द बोल्दा हिंसा महसुस हुन्छ

उसुकी गोल्डमेडलिस्ट जुनीको गुनासो : पुरुष खेलाडीले द्विअर्थी शब्द बोल्दा हिंसा महसुस हुन्छ

काठमाडौं : दर्शकले खचाखच लगनखेलस्थित आर्मी कबर्ड हल। स्वर्ण पदक जित्ने अठोट बोकेर मैदानमा उत्रिइन् जुनी राई।

दुई वर्षअघि नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेल्दै थिइन् उनी। तीन राउण्डको प्रतिस्पर्धामा पहिलो राउन्ड सजिलै जितिन्। दोस्रो राउण्डमा भिड्नुपर्ने थियो, बलियो प्रतिस्पर्धी भारतसँग। जसै भारतलाई जितिन्, जुनीलाई लाग्यो- अब मैले खेल जितिसकें। 

‘भारतलाई मैले बलियो प्रतिस्पर्धी मान्थेँ। दोस्रो राउण्डमा नै भारतलाई जितेँ। त्यसपछि मलाई लाग्यो, मैले खेल जितिसकेँ,’ जुनीले भनिन्, ‘त्यसपछि मलाई रातभर निद्रा लागेन। यति खुसी भएछु कि खुसी हुँदा म रोएँ। त्यतिबेला थाहा पाएँ, म खुसी हुँदा रुँदोरहेछु।’

ढाँटेर प्रशिक्षणमा  
इलामको पानीटार चिया बगान (देउमाई नगरपालिका) मा हुर्केकी जुनी उसुकी राष्ट्रिय खेलाडी हुन्। इलाममा जन्मे पनि उनको बसाइ झापाको मंगलबारेमा भयो। आमा विष्णुमाया लावती जुनी सानै छँदा परलोक भइन्। ब्रेन ट्युमरको कारण उनको मृत्यु भयो। घरमा खेल्ने माहोल थिएन। बिहान-बेलुकी घाँस-पात गर्नुपर्ने भएकोले स्कुल जानै भ्याइ-नभ्याइ हुन्थ्यो। 

घरमा उनका बुबालाई पनि गाह्रै थियो। तीन सन्तानका बुबा उनले छोरा-छोरी एक्लै हुर्काउनुपर्यो। जेठी सन्तान भएकाले जुनीलाई जिम्मेवारी अझ धेरै आइपर्यो।  

मंगलबारेमा बस्दा कन्काई कलेजमा प्लस टु पढिन् व्यवस्थापन संकायमा। बिहान-बिहान भने दौडिन थालिन् जुनी। तेक्वान्दो खेल अरुले खेलेको त देखेकी थिइन् तर खेलेकी थिइनन्। प्लस टु सकेपछिको खाली समयमा प्रशिक्षण स्थलमा जान थालिन्। झापाको बिर्तामोड, बुधबारेस्थित हटिया लाग्ने स्थानमा केही समय तेक्वान्दो सिकिन्। 

बिहान-बिहान दौडने निहुँले त जान्थिन् तर परिवारमा उनले खेलेको मन परिरहेको थिएन। उनी घरमा ढाँट्थिन्न्, बिहान एक्सरसाइजको लागि दौडेको हो भनेर। ‘घरमा खेल्न जानै नदिने नि। छोरी मान्छे किन खेल्ने भनेर गाली पनि खाइयो। म त यसै दौडेको भन्दै ढाँटेर खेलेको हो सुरुमा।’

होस्टलमा काम गर्दै, खेल्दै
उनको प्रशिक्षण चल्दै गर्यो। धन्न प्रशिक्षणमा पैसा तिर्नु परेन। काठमाडौँबाट छैटौँ राष्ट्रिय गेमको लागि छनौट प्रक्रिया सुरु हुने भयो २०६९ सालमा। झापा जिल्लाबाट छनिइन् जुनी। राष्ट्रिय टिमले बोलायो भनेपछि उनमा खुसीकै सीमै रहेन। एक जोर जुत्ता,एक जोर ट्र्याक सुट र थोरै लुगा, केही हजार पैसा लिएर हिँडिन्। काठमाडौँ आएर कसरी टिक्ने केही सोचिनन् रे जुनीले। ‘म त यति धेरै फुर्केछु कि काठमाडौँ आएर खेल्न त खेल्ने तर खर्च कसरी जुटाउने सोच्दै सोचिनछु।’

फुपुको घरमा उनका भाइ बसेर पढेका थिए। उनी पनि त्यहीँ गइन्। केही हप्ता बसिन् पनि। छैटौँ राष्ट्रिय गेमको लागि क्याम्प बसेको थियो। उता पनि बसिन्। 

आर्थिक अभाव उस्तै भयो। धन्न कोचले नै उनलाई गर्ल्स होस्टलको वार्डेनको काम लगाइदिए। ‘गर्ल्स होस्टलमा काम पाएपछि भने खान, बस्न पनि भयो केही पैसा पनि भयो,’ जुनीले भनिन्, ‘एक वर्ष मैले यसैगरी बिताएँ।’

आर्मी क्लब हुँदै प्रहरी क्लब
सुदूरपश्चिमको धनगढीमा भएको छैटौँ राष्ट्रिय गेममा रजत पदक जितिन् जुनीले। उनी पूर्वाअञ्चलको उपविजेता भएकी थिइन्।

होस्टलमा काम गर्दै खेल खेल्न गाह्रै थियो। त्यही बेला नेपाली सैनिकको अमल्दार कर्मचारीतर्फ आवेदन खुला भयो। खेल खेल्नकै लागि उनी आर्मी प्रवेश गर्ने भइन्। छनोट पनि भइन्। 

तालिमकै क्रममा २०७० सालमा नवौँ राष्ट्रिय गेम भयो। यो गेम उनले आर्मीकै तर्फबाट खेलिन्। यो खेलमा पनि उनी दोस्रो भइन्। खेलमा छनोट हुने र लगालग जित्न थालेपछि घरकाले पनि सपोर्ट गर्न थाले।

‘म दोस्रो भएको थाहा पाएपछि बुबा धेरै खुसी हुनुभयो। घरका अन्य सदस्यले पनि मलाई समर्थन गर्न थाल्नुभयो,’ जुनीले भनिन्।

जुनीका बुबाको सडक दुर्घटनामा मृत्यु भएको थियो। झापामा साइकल लिएर हिँडेका बुबालाई गाडीले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको थियो। 

जुनीको आर्मीमा नाम निस्कँदा खुसी भएका बुबा छोरीले स्वर्ण उचालेको देख्न नपाउँदै बिते। सानैमा आमा र कमाएर खुवाउने बेला बुबा गुमाइन् जुनीले। ‘बुबा-आमाको अभाव हुन काका-काकीले दिनुभएको त छैन तर मलाई त्यतिबेला लाग्यो, सबै दु:ख जति किन मेरो भागमा मात्रै पर्छ? म दु:खै पाउन जन्मेकी हुँ कि।’

२०७२ सालमा नेपाल प्रहरीमा असइ पदका लागि आवेदन खुल्यो। उनी त्यसमा उत्तीर्ण भइन्। यतिन्जेल आर्मीबाट खेलेकी जुनी अब नेपाल प्रहरीबाट खेल्ने भइन्। भारतमा भएको १२ औं सागमा पनि उनले रजत पदक जितिन्। 

भारतलाई जित्दाको त्यो खुसी
२०७६ सालमा नेपालमै हुने भयो १३औँ साग। उसु (५६) केजीतर्फ खेल्ने भइन् जुनी। पहिलो र दोस्रो राउण्डमा सहजै जितिन्। दोस्रो राउण्डमा जित्दा नै उनी अति नै खुसी भइन् कारण थियो, भारतलाई बलियो प्रतिस्पर्धी ठान्नु। ‘तेस्रो राउण्डमा खेल्नुपर्ने थियो श्रीलंकासँग। दोस्रो राउण्डमा भारतलाई जित्दा त खुसीको सीमै रहेन,’ उनले भनिन्, ‘तेस्रो राउण्ड जित्न रेस्ट गर्नुपर्ने, म त निदाउनै पो सकिनँ।’

तेस्रो राउण्डमा श्रीलंकालाई सहजै जितेर स्वर्ण पदक मात्र पाइनन्, सर्वोत्कृष्ट खेलाडी समेत घोषित भइन् जुनी। 

उनी यो खुसीले एक हप्ता निद्रा नलागेको बताउँछिन्। ‘म त खुसी भए निदाउन नसक्ने रहेछु,’ उनले भनिन्, ‘सागमा स्वर्ण जित्दा ७ दिन निदाइनँ। खुसीका आँसु पनि कति बगे कति।’

अहिले जुनी नेपाल पुलिस क्लबको उसु टिममा कमाण्डर छिन्। उनको नेतृत्वमा १० जना खेलाडी छन्। बिहान उठ्ने, रंगशाला आउने, खेल्ने, यसरी नै बितेको छ उनको जिन्दगी। 

अहिलेसम्म जुनीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक, सन् २०१६ मा भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जितेकी छिन्।

उनले सन् २०१८ मा इन्डोन्सियामा भएको १८औं एसियाली खेलकुद प्रतियोगिता र सन् २०१९ को चीनमा सम्पन्न १५औं विश्व उसु प्रतियोगितामा सहभागिता जनाएको छिन्।

त्यस्तै उनले राष्ट्रिय प्रतियोगतामा पनि पाँच पटक  स्वर्ण पद हात पार्न सफल भएकी छिन्। विसं. २०७३ र २०७६ मा भएको ७औँ र ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिता दुवैमा स्वर्ण पदक प्राप्त गरिन्। २०६८ सालमा भएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भने रजत पदकमा चित्त बुझाएकी थिइन् जुनीले।

२०७४ सालमा भएको प्रथम राखेप च्याम्पियनसिपमा स्वर्ण, २०७० मा भएको प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण र २०७० मा भएको नवौं राष्ट्रिय उसु प्रतियोगितामा पनि उनले स्वर्ण पदक हात पार्न सफल भएकी थिइन्। जुनीले आफ्नो खेल जीवनमा सात स्वर्ण जितेकी छिन्।

खेल नै प्यासन, थकान कहिल्यै लागेन
 ३० वर्षकी भइन् जुनी। गत वैशाखमा उनले निरज थापा मगरसँग विवाह गरिन्। निरज ट्राफिक प्रहरी हुन्। ‘मैले लामो समयपछि विवाह गरेँ। विवाह गर्दा खेल नै रोक्नुपर्ने हो कि भन्ने पिर थियो,’ उनले भनिन्, ‘खेलमा सहयोग पनि हुने र पेसा पनि बुझेकाले निरजजीसँग विवाह गरेँ।’

जुनीलाई खेल काम नभएर प्यासन हो। उनलाई खेल्दा कहिल्यै थकाइ लागेन। एउटा गेम सकिन्छ, अर्को गेमको तयारीको लागि जुटिहाल्छिन् जुनी। गोडाको लिगामेन्ट च्यातिएर कम्ती दु:ख पाइनन् तर पनि खेलिरहिन्।

एसियन गेम हुने बेला उनको गोडाको लिगामेन्ट च्यातियो। महिनावारी भएको बेला अति नै पेट दुख्ने उनी हल्का एक्सरसाइज गर्दै थिइन्। त्यति नै बेला आफ्नै साथीसँग खेल्दा लिगामेन्ट च्यातियो। ‘एसियन गेम आउन दुई महिना बाँकी थियो,’ उनले भनिन्, ‘लिगामेन्ट च्यातिएर त बेड रेस्ट गर्नुपर्ने भयो। अहिले पनि एसियन गेम आउन लाग्यो। म भने लिगामेन्ट च्यातिएर थन्किएकी छु। लाग्छ, कहिलेकाहीँ त एसियन गेम खेल्ने भाग्य नै छैन कि!’

खेलकै क्रममा उनी अहिलेसम्म भारत, चीन, इण्डोनेसिया लगायतका देश गएकी छिन्। 

द्विअर्थी शब्दले पार्छ अप्ठ्यारो
समूहमा खेल्ने जस्तो खेल होइन उसु। प्रशिक्षकले एकदमै क्लोज भएर सिकाउनुपर्ने हुन्छ। खेल सिक्ने र खेल्ने क्रममा अहिलेसम्म शारीरिक हिंसा नभोगे पनि पुरुषहरुबाट भर्बली भन्ने हिंसा भएको लाग्छ जुनीलाई। ‘खेलाडीहरु एकदमै अनुशासित पाएको छु। यद्यपि, शारीरिक हिंसा गरेको त मैले थाहा पाएको छैन,’ उनले भनिन्, ‘कहिलेकाहीँ दौडँदा हिपको कुरा गर्दा वा द्विअर्थी शब्द बोल्दा भने असहज भर्बल हिंसा भएको जस्तो लाग्छ।’

यसबारे युवा तथा खेलकुद मन्त्रालयले पनि बेला-बेला तालिम दिँदै आएको जुनीले बताइन्। दुर्व्यवहार नै नभोगे पनि महिला खेलाडी र पुरुष खेलाडीमा भने विभेद भएको उनी बताउँछिन्। 

‘उसुमा उसु महासंघले राख्ने पुरस्कारको राशि महिला र पुरुषमा उस्तै हो,’ उनले भनिन्, ‘तर पुरुष खेलाडीलाई अप्सन छ, हामीलाई छैन। त्यतिबेला भने विभेद भएको महसुस हुन्छ।’

उसु तौल अनुसार खेल्ने खेल हो गरिन्छ। पुरुषको ४/५ वटा उमेर समूह राखिँदा महिलाको भने दुई उमेर समूह मात्रै राखिएकोमा दुखेसो रहेछ जुनीको। ‘नेपालमा मात्रै नभएर एसियन गेमहरुमा पनि पुरुषको ४/५ उमेर समूह हुन्छ जसले गर्दा धेरैभन्दा धेरै पुरुष खेलाडी सहभागी हुन पाउँछन्,’ उनले भनिन्, ‘महिलाको हकमा भने दुई वटा मात्रै उमेर समूह राखिन्छ। सीमित महिलाले मात्रै खेल्न पाउने भए। यसो हुँदा मलाई विभेदको महसुस हुन्छ।

प्रशिक्षक बन्ने धोको 
फुटबल, क्रिकेटको जस्तो उति धेरै फ्यान फलोअर त छैनन् । तर विद्यालका विद्यार्थीले जुनी दिदीजस्तै बन्छु भनेको सुन्दा भने निकै खुसी लाग्ने उनले बताइन्। ‘कति अभिभावकले जुनी दिदी जस्तै बन्छु भन्छन्, मेरा बच्चाहरु भन्नुहुन्छ,’ उनले भनिन्, ‘यो सुन्दा औधी खुसी लाग्छ।’

विद्यालय तहमा नै उसु, कराँते खेलाउनुपर्ने जुनीको भनाइ छ। विद्यालय तहमा खेलाउँदा केही छात्रा संख्या बढाउन सकिए पनि विद्यालयपछि भने महिलाहरुको छिटो विवाह हुने हुँदा खेलाडी नै कम आउने गरेको उनको अनुभव छ।

खेलमा संघर्ष र विभेद-१: फुटबलर एञ्जिलाको प्रश्न- महिला र पुरुष खेलाडीको सुविधामा किन विभेद ?

खेलमा संघर्ष र विभेद-२ :साइक्लिस्ट निश्माको अनुभव : समाजको चेतनास्तर यौनिकतामा गासिँदा खेलमा महिला अघि बढ्न सकेनन्

‘अझै पनि हाम्रोमा महिलाले खेल्नु हुँदैन भन्ने नै छ,’ जुनीले भनिन्, ‘धेरैको विवाह गरिदिने, खेलमा करिअर नदेख्दा समस्या देख्छु। त्यसकारण विद्यालय तहदेखि  नै उसु, कराँते जस्ता खेल खेलाउन जरुरी छ।’

खेल जीवनमा आएपछि पढाइ छुटेकोमा उनलाई पछुतो त छ तर यही खेलमा आउँदा जितेका पदकले भाइलाई पढाउन सकेकोमा भने आनन्द लाग्ने रहेछ जुनीलाई।  

‘स्वर्ण जित्दा र रजत जित्दा राज्यले पैसा दिएको थियो। पहिलो स्वर्णको पैसा भाइको पढाइमा खर्च गरें। सागमा पाएको पैसा भने केही जम्मा गरेकी छु,’ उनले भनिन्।

१२ वर्ष भयो जुनीले खेल्न थालेको। उनलाई अझै पनि २/३ वटा सागमा खेल्ने धोको छ। त्यसपछि भने उसुकै प्रशिक्षक बन्ने इच्छा रहेको उनी बताउँछिन्। ‘अहिले पनि धेरै मिहिनेत गर्ने प्रशिक्षक हुनुहुन्छ। तर समय अनुसार अपडेट नभइदिँदा हाम्रा खेलाडी त्यति जागरुक देखिँदैनन्,’ जुनीले भनिन्, ‘म भविष्यमा प्रशिक्षक भएँ भने यसलाई चिर्थें जस्तो लाग्छ।’

महिला कोचहरु एकदमै कम भएकाले पनि अहिले खेलिरहेका खेलाडीहरु प्रशिक्षक बन्नुपर्ने दायित्व रहेको उनको बुझाइ छ।

२६ फागुन, २०७८, १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।