फुटबलर एञ्जिलाको प्रश्न- महिला र पुरुष खेलाडीको सुविधामा किन विभेद ?

फुटबलर एञ्जिलाको प्रश्न- महिला र पुरुष खेलाडीको सुविधामा किन विभेद ?
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौं : ‘महिलाले खेल्ने पनि उही फुटबल, उही ग्राउण्ड, उही दौडाइ, उही समय अनि पुरस्कार राशि चाहिँ पुरुषको ७५ लाख, महिलाको किन १५ लाख? 

फुटबल खेलाडी एञ्जिला थुम्बापो सुब्बालाई यो प्रश्नले घुमाइरहेको धेरै भयो। तर उनले उत्तर पाउन भने सकेकी छैनन्। 

अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला र पुरुष खेलाडीलाई समान पारिश्रामिक दिन थालेको छ। कर्मा छिरिङ अध्यक्ष भएपछि सुरु भएको हो यो पनि। डाइटमा पनि पुरुष खेलाडीभन्दा उति फरक छैन। तर स्थानीय प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका पुरस्कार र ज्याला सुविधा भने अझै समान हुन सकेको छैन।

पुरुष खेलाडीले फुटबल खेल्दा बढी मिहिनेत लाग्ने अनि महिला खेलाडीको कम मिहिनेत पर्छ र! 

एञ्जिलाको मनमा आइरहने प्रश्न हुन् यी। 

किन फरक हुन्छ पुरस्कारको राशि?’

०००
इलामको सूर्योदय नगरपालिका। श्री पूर्ण स्मारिका निम्न माध्यमिक (आधारभूत) विद्यालय नजिकै घर। घरै अगाडि विद्यालयको ठूलो चौर थियो। विद्यालय छुटेपछि गाउँकै दाइहरु हुल बाँधेर फुटबल खेल्थे। उनीहरुले खेलेको देख्दा एञ्जिलाको गोडा सगसगाउँथ्यो। सँगै फुटबल खेल्ने हुटहुटी थियो। तर आँट आएन। 

उनकि दिदी पनि फुटबल खेल्थिन्। केटाहरुकै समूहमा ३/४ जना केटी मिसिएका हुन्थे। दिदी मनिताको साथ लागेर उनी पनि विस्तारै मैदानमा जान थालिन्। १२ वर्षको उमेर थियो उनको। कहिलेकाहीँ दाइ-दिदीसँग फुटबल छुन पाउँदा 'म अब फुटबल नै खेल्छु' भन्ने लागिसेकेको थियो उनलाई।

‘दिनभरि स्कुल त्यसपछि सकेको घरको काम गर्नुपर्थ्यो,’ एञ्जिलाले उकेरासँग भनिन्,  ‘छिटो-छिटो काम सकेर चौरमा पुग्थेँ, फुटबल खेल्न।’

फुटबल खेल्यो, भोकै सुत्यो
सानै छँदा नै जिल्लामा फुटबल टिम छनोटको लागि प्रतियोगिता हुने भयो। उनीहरुको टिम थियो पान्दम। महिलाहरु धेरै नभएकाले उनी सानै भए पनि यो टिममा परिन्। उनलाई किपर राखियो। उनलाई किपर हुन खासै मन परेको थिएन। मिडफिल्डबाट खेल्न चाहन्थिन्। अझै पनि त्यही रहर छ उनमा।

‘म फुटबल खेलाडी बन्छु भन्ने त थियो तर गोलकिपर बन्छु भन्ने चाहिँ थिएन,’ एञ्जीलाले भनिन्, ‘त्यो बेला सानो पनि भएँ, गोल किपरमा राखियो। आखिरमा राष्ट्रिय टिममा हुँदा पनि गोलकिपर नै भएँ।’

गोलकिपर बस्न मन नपरे पनि खेलको ढोका खुला नै राख्न उनी राजी भइन्। टिममा राम्रो प्रदर्शन गरेपछि सबैका आँखामा परिन् उनी। यता एञ्जिलाको घरमा भने सकस थियो। आर्थिक अवस्था ठिकै। 

विद्यालयबाट आएपछि तरकारी बारीमा हतार-हतार पानी लगाएर उनी खेल्न दौडिहाल्थिन्। खेलेर आउँदा अबेला हुन्थ्यो। उनको घरमा आमा-बुबाले नखेल भनेकै थिए। उनी मान्दैनथिन्। भनेको नमानेको झोकमा खेलेर घर आइपुग्दा उनको भागको खाना हुँदैनथ्यो। भोकै सुतिन् कयौँ रात। 

‘बुबा-आमालाई तेरो छोरी त केटा मान्छेसँग खेल्छे भनेर सुनाउँथे अरुले,’ एञ्जिलाले भनिन्, ‘छोरीले खेल्दा ठूलो आपत्ति त थिएन। तर अरुले कुरा सुनाउँदा किन खेल्न परेको होला भन्ने त लाग्ने नै भयो।' 

पाँच वर्षमा बुबाले छाडेपछि
सानो परिवार सुखी परिवार थियो एञ्जिलाको। पाँचथरमा जन्मिए पनि उनका बुबाले इलामलाई कर्मभूमि बनाउने विचार गरे। स-परिवार इलाम झरे। एञ्जिला पाँच वर्षकी हुँदा उनका बुबाले एकाएक घर छाडे। बाबु हिँडेपछि दुई सन्तान एक्लै हुर्काउने जिम्मा आइलाग्यो एञ्जिलाकी आमालाई। 

‘बुबाले घर छोडेर गएपछि ममीले धेरै दु:ख पाउनुभयो। ममीलाई बुबा कहिले आउनुहुन्छ भनेर सोधेँ पनि। आमाले केही जवाफ दिनुहुन्थेन,’ एञ्जिलाले भनिन्, ‘बुबाले छोडे पनि केही न केही बन्छु भन्ने इख त्यही बेलादेखि लाग्यो।’

उनकी आमाले अर्को विवाह गरिन्। उनका अर्को बुबाले पनि बुबाको अभाव हुन भने दिएनन्। सुख-दु:ख गरेर पढेकै थिइन्। 

फुटबल खेल्ने क्रममै उनको भेट भयो दर्शन गुरुसँग। उनलाई गोलकिपरको प्राविधिक ज्ञान उनै गुरुले सिकाइदिए। उनी अगाडि बढ्दै गइन्।

‘गर्ड फादर’ प्रेम श्रेष्ठ 
विराटनगरमा भएको जिल्लाव्यापी छनोटमा प्रतियोगितामा उनको टोली पहिलो भयो। २०६९ सालमा उनी पूर्वाञ्चलको टोलीमा किपरमा छनोट भइन्। पूर्वाञ्चलले राष्ट्रिय खेलकुदका लागि टिमको तयारी गरिरहेको थियो। पूर्वाञ्चलबाट पहिलो रोजाइको गोलकिपर अर्कै थिइन्। परीक्षाको कारण देखाउँदै उनले टिमबाट बिदा लिइन्। अनि मौका आयो एञ्जिलाको।

धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा उनले राम्रो प्रदर्शन गरिन्। उनको टोली चौथो बन्यो। एपिएफका टिम व्यवस्थापक प्रेम श्रेष्ठले एञ्जिलाको खेल नजिकबाट नियालिरहेका रहेछन्। श्रेष्ठले उनलाई एपिएफ क्लबमा राखे। अरुणोदय बोर्डिङ स्कुलमा भर्ना गरिदिए उनैले। अब एञ्जिला काठमाडौं बस्न थालिन्। 

‘प्रेम श्रेष्ठ सर गर्ड फादर हुनुहुन्छ। उहाँसँग भेट भएपछि मैले कहाँ गएर कसरी खेल्ने अन्यौलता सबै हट्यो,’ उनले भनिन्।

१२ वर्ष खेल जीवनमा ‘बेस्ट’ गोल किपर 
सन् २०१४ मा एपिएफको टिममा आबद्ध भएपछि उनलाई धेरै सहज भयो। एपिएफमा आउँदा उनीसँग नरबहादुर राई र चन्दन राई थिए। उनीहरुले गोलकिपिङ सिकाए एञ्जिलालाई।

दुई वर्षसम्म उनले खेल्न पाइनन्। सिनियर गोल किपर थिइन् नै। उनले भारतमा भएको एएफसी साफ यु-१४ बाट डेब्यु गरिन्। प्रतियोगिता नेपालले जित्यो। श्रीलंकासँग गोल नखाई, भारतको पेनाल्टी समेत रोकेकी थिइन् उनले। त्यही प्रदर्शनले उनी सिनियर टिममा परिन्। पाकिस्तानमा भएको साफको सिनियर टोलीको उनको नाम अटायो। 

त्यसपछि उनले पछाडि फर्कनु परेको छैन। उनी लगातार नेपालको महिला राष्ट्रिय टिमको गोलकिपर रहँदै आएकी छिन्। 

महिला खेलाडीलाई ‘अप्सन’ नै थोरै
अहिले एञ्जिला एपिएफ क्लबकी कर्मचारी हुन्। उनलाई आर्थिक समस्या त छैन तर अन्तर्राष्ट्रिय टिमसँग खेलिरहने अप्सन कम पाएकाले नेपालको टिमले राम्रो प्रस्तुति गर्न नपाएको अनुभव छ उनको।

पुरुषको राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय टोलीहरुसँग अभ्यास खेल खेल्न पाउँछ। त्यो अवसर महिला टिमलाई छैन। त्यसले महिला खेलाडीले पर्याप्त सिप निखार्न नसकेको उनको अनुभव छ।

‘नेपालकै पुरुष खेलाडीले अष्ट्रेलिया, जापानसँग खेल्न पाएका हुन्छन्,’ उनले भनिन्, ‘महिला राष्ट्रिय टिमले यो अवसर पाएका छैनन्। बलियो टिमसँग खेल्न नपाउँदा आफूलाई तिर्खान पाइँदैन।’

नेपाल महिला फुटबलमा १ सय ५औँ स्थानमा छ। ४५औँ स्थानमा रहेको म्यानमारसँग ओल्म्पिकमा बराबरी खेलेको थियो। यसले पनि महिला फुटबल टोली राम्रो भएको उनको दावी छ। अभ्यास खेल खेल्न पाउने हो भने अझै धेरै उपलब्धि हुनेमा उनी विश्वस्त छन्।

सागमा जहिले भारतसँग किन हार्छ नेपाल? 
एञ्जिलाको बुझाइमा भारतीय खेलाडी निकै बलिया हुन्छन्। उनीहरुले पर्याप्त अभ्यास खेल खेल्न पाउँछन्। अन्य देशसँग प्रतिस्पर्धा भइरहँदा नेपाली टोलीको तुलनामा अनुभव पनि बढी छ। तर नेपाली महिला फुटबल टोलीले त्यो मौका पाउँदैन। यही कारण भारतसँग नेपालले हारिरहने उनको निष्कर्ष छ। १३औँ सागमा घरेलु मैदानमै भारतसँग हार्दा भने एञ्जिलालाई धेरै चित्त दुखेको रहेछ। 

‘खेल्न त हामीले नि उस्तै खेलिरहेका हुन्छौँ। हिरोगोल्ड कपमा भारतलाई जितेको पनि हो,’ उनले भनिन्, ‘यसपालिको सागमा घरेलु मैदानमा जित्न नसक्दा भने नरमाइलो लाग्यो।’

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा एञ्जिलाले भने देशको अती नै सम्झना आउँछ रे। झण्डा पहिलो लहरमा फराउने जोश चल्छ मनमा।

‘मैदानमा उत्रेर राष्ट्रिय गान गाउने बेला झण्डा हेर्छु,’ उनले भनिन्, ‘त्यतिबेला मलाई छुट्टै महसुस हुन्छ। जिउँ सिरिङ्ग हुन्छ।’

खेल जीवनकै कारण एञ्जिला मलेसिया, भारत, पाकिस्तान, चीन, श्रीलंका लगायतका देशमा पुगेकी छिन्। त्यसमध्ये चिनियाँहरुको डाइट देखेर भने उनी छक्कै परिछन्। 

‘चीनसँग हाम्रो मैत्री खेल भएको थियो,’ एञ्जिलाले भनिन्, ‘उनीहरुको डाइट देखेर म छक्कै परे।’ उनलाई म्यानमारका महिला खेलाडीको बडी स्ट्रक्चर धेरै मन परेको रहेछ। 

उनी क्रिस्टियानो रोनाल्डोको खेल्ने तरिका र उनको जीवनशैलीबाट प्रभावित रहिछिन्। अनि मेस्सीको बल पास गर्ने तरिकाले प्रभावित।

अपजसे जिम्मेवारी 
१३औँ सागमा नेपालले भारतसँग नराम्रो पराजय भोग्यो। दर्शकले केही नभने पनि खेल सक्किइसकेपछि सामाजिक सञ्जालमा आउने कमेन्टले तनाव दिने रहेछ। 

‘पहिले-पहिले म खेल सकिएपछि फेसबुक लगायतका सामाजिक सञ्जाल हेर्थें। टिमले जितेको बेला त ठिकै हुन्थ्यो। हारेपछि भने किपरलाई बढी दोष लगाउने हुँदा मैले पछिका दिनमा कमेन्ट हेर्नै सकिनँ।’

एञ्जिलालाई गोल किपरको काम अपजसे लाग्छ। 

‘यो काम त अपजसे हो। हेर्दा फ्यास्स गोल खाएको देखिन्छ। तर भित्र त गाह्रै हुन्छ नि।’

महिला र पुरुषको मिहिनेत फरक हो र?
प्रतियोगितादेखि खेल मैदानसम्म। अनि जितेमा पाइने पुरस्कार सबैमा महिला र पुरुष टिममा विभेद छ। यसले उनलाई साह्रै चित्त दुख्छ। खेल्ने देश एकै, मान बढाउने झण्डा एकै। तैपनि, लैङगिक आधारमा भइरहेको विभेदले चस्स हुने रहेछ उनको मन।

नेपालमा अझै पनि महिलालाई फुटबलमा आउन निकै गाह्रो रहेको बताउँछिन्। त्यसमा पनि राष्ट्रिय खेल नीतिमै पुरुष अनि महिला भनेर सुविधा र व्यवहारमै विभेद गरेपछि महिला खेलाडीहरु उसै पनि आउन नचाहने र परिवारले पनि पठाउन नचाहने उनले बताइन्।

‘हामीलाई जसरी घरबाट खेल्न जान दिँदैनथे। अहिले पनि समस्या उही त हो। यसमा त हाम्रो नीति र व्यवहार पनि दोषी छ। महिलालाई प्रोत्साहित गर्न विद्यालय तहदेखि फुटबल खेलाउने अनि सेवा-सुविधामा पनि विभेद नगर्ने भयो भने अलि सहज हुनसक्छ।’

राष्ट्रिय प्रतियोगितामा पनि विभेद छ। पुरुषको लिग रंगशालामा हुन्छ। महिलाको भयो भने पोखरातिर। पुरुषको एकेडेमी छ। महिलाको छैन। नेपालमा महिला फुटबल दिगो बनाउन पुरुषको एकेडेमी जस्तै महिला फुटबल एकेडेमी बनाउनुपर्ने हैन र? 

१९ वर्षपछि बुबा भेट्ने आश
अहिले एञ्जिला २४ वर्षकी भइन्। १९ वर्षपछि बुबा भेट्ने आशामा छिन् उनी। उनको जीवनको डकुमेन्ट्री पनि बन्दै छ। जीवनभर खेलमै बिताउने निधो गरिसकेकी एञ्जिलाले नेसनल टिममा छान्दा राजनीति हुन्छ, दुर्व्यवहारमा पर्छन् भन्ने सुनेकी छिन्। तर उनले अहिलेसम्म त्यसो अनुभव गर्नु परेको छैन रे।

'पहिले नेसनल टिममा पार्दा आफ्नालाई पार्छन् भनिन्थ्यो अहिले त खेललाई प्राथामिकता दिने चलन छ। हामीले यो अवस्था भोगेनौँ,’ उनले कुराको बिट मार्दै भनिन्।

२४ फागुन, २०७८, १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।