महानिर्देशक भट्टराईको इन्ट्रेस्टमा औषधि विभागमा दर्जन कर्मचारी हेरफेर

महानिर्देशक भट्टराईको इन्ट्रेस्टमा औषधि विभागमा दर्जन कर्मचारी हेरफेर

काठमाडौं : मन्त्री फेरिनासाथ कर्मचारीको सरुवामा ध्यान दिने प्रवृत्ति नौलो हैन। औषधि व्यवस्था विभाग (डिडिए) मा पनि यो रोग कायम छ। 

विभागको महानिर्देशकबाट नारायण ढकाल हटेर भरत भट्टराई नियुक्त भएको दुई महिना पनि भएको छैन। तर उनले महानिर्देशक हुनासाथ आफू अनुकुलका कर्मचारी विभागमा ल्याउने र आफू अनुकुल नभएका कर्मचारीलाई अन्य ठाउँमा सरुवा गर्ने प्रक्रिया अगाडि बढाएका छन्। 

स्रोतका अनुसार महानिर्देशक भट्टराईले करिब एक दर्जन कर्मचारीको सरुवा गर्ने तथा जिम्मेवारी हेरफेरको प्रक्रिया अगाडि बढाएका हुन्।

विभागमा कर्मचारी सरुवाका विषयमा जिज्ञासा राख्दा स्वास्थ्य मन्त्री विरोध खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकालले करिब १२ जना कर्मचारीको सरुवाको निर्णय नै भइसकेको जानकारी थिए।

औषधि व्यवस्था विभागमा कर्मचारीको जिम्मेवारी हेरफेर गर्न लागिएको हो? भन्ने जिज्ञासामा डा. ढकालले भने, ‘जिम्मेवारी हेरफेर भइसक्यो। अस्ति (मंगलबार) नै निर्णय भइसक्यो।’ 

विभागले मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेरको सिफारिस ल्याएबमोजिम नै जिम्मेवारी हेरफेर भएको उनले सुनाए। डा. ढकालले भने, ‘कोहीलाई विभागबाट मन्त्रालय सारिएको छ भने कोही मन्त्रालयबाट प्रयोगशाला गएका छन्। यो सचिव स्तरीय निर्णय हो।’ 

विज्ञ सल्लाहकार डा. ढकालले पानबहादुर क्षेत्री, संगीता साह, उषा तण्डुकार, सचिता जोशी, धिरज रौनियार, सञ्जीव कट्टेल, विष्णु पन्थी, गंगा पौडेल, किरणसुन्दर बज्राचार्य, अच्युत रेग्मी लगायतको सरुवा भएको जानकारी दिए। 

डा. ढकालले थपे, ‘डिडिएमा काम गरेका कर्मचारीलाई मन्त्रालय, मन्त्रालयमा भएकालाई डिडिए। कतिपय शाखाहरु पोखरा, विराटनगर र वीरगञ्ज शाखाकोलाई तलमाथि गरेको हो।’ तर को कर्मचारिलाई कहाँ सरुवा गरियो भन्ने उनले खुलाएनन्।

विभाग स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयमा रहेका पानबहादुर क्षेत्रीलाई औषधि व्यवस्था विभागमा ल्याउने तयारी भएको थियो। उनी दसौं तहका कर्मचारी हुन्। औषधि व्यवस्था विभागको निरीक्षण महाशाखा प्रमुख उषा तन्डुकारलाई स्वास्थ्य मन्त्रालय सरुवा गर्न लागिएको थियो।

त्यसैगरी राष्ट्रिय औषधि प्रयोगशालामा कार्यरत संगीता साहलाई वनस्पति विभागमा र वनस्पति विभागमा कार्यरत सचिता जोशीलाई औषधि व्यवस्था विभागमा सरुवा गर्ने तयारी भएको थियो। औषधि व्यवस्था विभागमा कार्यरत अच्युत रेग्मीलाई वनस्पति विभागमा पठाउने तयारी थियो।

औषधि व्यवस्था विभागमा कार्यरत धिरज रौनियारलाई राष्ट्रिय औषधि प्रयोगशालामा जिम्मेवारी दिन लागिएको थियो।

विराटनगरस्थिति औषधि व्यवस्था विभागमा कार्यरत सञ्जीव कट्टेललाई औषधि व्यवस्था विभागमा ल्याउने तयारी थियो। 

स्रोतका अनुसार औषधि व्यवस्था विभागमा कार्यरत विष्णु पन्थी र गंगा पौडेललाई स्वास्थ्य मन्त्रालयमा सरुवा गर्ने तयारी थियो। विभागमा कार्यरत किरणसुन्दर बजाचार्यलाई वीर अस्पताल पठाउने तयारी थियो।

स्रोतका अनुसार मन्त्रालयमा कर्मचारीको सरुवाका लागि महानिर्देशक भट्टराईको सिफारिसमा स्वास्थ्य मन्त्री खतिवडाको सचिवालयमा सरुवा हुने कर्मचारीको नाम लिष्ट पुगेको थियो। भट्टराईको सिफारिस अनुसार सचिवालयले सरुवा हुने कर्मचारिको नाम लिष्ट तयार गरी सरुवा प्रक्रियाका लागि अगाडि बढायो। 

तर, मन्त्रालयका एक कर्मचारीले भने सरुवाको निर्णय नभइसकेको दावी गरे। ती कर्मचारिले भने, ‘छलफलको विषयलाई निर्णय भन्न मिल्दैन। छलफल मात्रै चलेको थियो। निर्णय भएको छैन।’

मन्त्रालयकै अर्का एक कर्मचारीले भने सरुवा प्रक्रिया अघि बढेको सुनेको जानकारी दिए। ती कर्मचारीले, ‘मन्त्रीको सचिवालयबाट सरुवा हुने कर्मचारीको नामको लिष्ट अघि बढिसकेको छ भन्ने सुनेको छु। कर्मचारी सरुवा गरिरहनु चिल्लो-चाप्लोको लागि त होला नि।’ 

कर्मचारीको सरुवाको विषयमा औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीसँग जिज्ञासा राख्दा उनले अनभिज्ञता जनाए। उनले भने, ‘मलाई त त्यति जानकारी भएन।’

सूचना अधिकारी केसीका अनुसार छैटौं तहसम्मका कर्मचारीको सरुवा विभागका महानिर्देशकले गर्न सक्छन्। त्यसभन्दा माथिल्लो तहका कर्मचारीको सरुवा मन्त्रालयले गर्छ। उनले भने, ‘पाँचौं/छैटौं तहसम्मका लागि उहाँ (महानिर्देशक)ले गर्नसक्ने भयो। त्योभन्दा माथि त मन्त्रालयले नै गर्ने हो नि।’

कहिलेकाहीं एकै लटमा सरुवा गर्दा सबैको स्वास्थ्य मन्त्रालयले पनि सरुवा गर्नसक्ने केसीले बताए। तर सरुवा गर्ने सवालमा मन्त्रालयले सामान्यतः कार्यालय प्रमुखलाई भने सोध्ने उनले बताए। केसीले भने, ‘सरुवा गर्न लागेपछि पक्कै पनि कार्यालय प्रमुखलाई सोध्ने नै हुन्छ।’

मन्त्रालय स्रोतका अनुसार एक विभागबाट अर्को विभागमा कर्मचारी सरुवा मन्त्रालयले नै गर्नुपर्ने हुन्छ।

यसअघि पनि महानिर्देशक ढकालको तुलनामा भट्टराईकै पालामा बढी कर्मचारी सरुवा भएको विभाग स्रोतको दावी छ। विभाग स्रोतले भन्यो, ‘नारायण सर प्रमुख हुँदा खासै सरुवा गर्नु भएन। तर भट्टराई सरले पहिले पनि यस्तै (धेरै) सरुवा गर्नु भएको थियो।’ भट्टराई यसअघि पनि विभागको महानिर्देशक भइसकेका हुन्।

१९ फागुन, २०७८, १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।