नेमकिपाले स्कुले बालबालिकाको दुरुपयोग गरेको गरेकै

नेमकिपाले स्कुले बालबालिकाको दुरुपयोग गरेको गरेकै

काठमाडौंः बिहीबार पनि नयाँ बानेश्वरमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरोधमा प्रदर्शन भयो। ढुंगामुढा गरियो। प्रहरीको तर्फबाट अश्रुग्यास प्रहार भयो। समग्रमा दिनभर उक्त क्षेत्र तनावमै रह्यो।

विशेषगरी बिजुलीबजारदेखि मीनभवनसम्मको क्षेत्र तनावग्रस्त बनेको थियो। झडपकका क्रममा प्रहरीले १६३ सेल अस्रुग्यास हानेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए।

पौडेलका अनुसार झडपमा चार जना घाइते भए। उनले भने, ‘महिला प्रहरी एक जना, प्रदर्शनकारी दुई जना, पत्रकार एक जना गरेर चार जना घाइते छन्।’ उनीहरूको अवस्था सामान्य नै भएको उनको भनाइ छ।

त्यसैगरी १२ जना प्रदर्शनकारी नियन्त्रणमा लिएको पनि उनले बताए। ‘११ जना पुरुष र एक जना महिला गरेर १२ जना प्रदर्शनकारी नियन्त्रणमा छन्’, पौडेलले भने।

यद्यपि, आइतबारको तुलनामा क्षति भने कम भएको पौडेलले जानकारी दिए। 

नेमकिपाको कार्यक्रममा विद्यार्थी
सिभिल अस्पतालअगाडि पनि विरोध सभा भइरहेको थियो। सभा गरेको थियो- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले।

आइतबार र त्यसअघिको विरोध सभामा पनि कलिला विद्यार्थीहरूको प्रयोग गरेर सर्वत्र आलोचित बनेको नेमकिपाले बिहीबार पनि त्यसलाई निरन्तरता दियो।

कलिला बालबालिकाहरूलाई राजनीतिक रूपमा प्रयोग नगर्न बारम्बार आग्रह गरिए पनि राजनीतिक दलहरूले भने त्यसलाई वास्ता गरेको देखिँदैन। विशेषगरी यसमा नेमकिपा अगाडि देखिन्छ।

उसले आफ्नो पार्टीका अधिकांश विरोध प्रदर्शनमा कलिला बालबालिका र किशोर उमेरका विद्यार्थीहरूको प्रयोग गर्ने गरेको छ।

सहभागी अधिकांश विद्यार्थीहरू ८, ९, १० र प्लस टु तहका देखिन्थे। विरोध सभामा पुर्याइएका विद्यार्थी स्कुल र कलेज ड्रेसमा नै थिए।

ठूलो संख्यामा विद्यार्थी सहभागी गराइएको स्थलभन्दा केही मिटर पर मात्रै प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको थियो।

यता सभामा ल्याइएका विद्यार्थीलाई भने विरोध सभामा कसले के भन्छन् भन्ने चासो नै थिएन। बरू साथीसँग हास्दै जिस्कँदै सडकमा समय कटाइ रहेका थिए। केही विद्यार्थी पोज दिँदै फोटो खिच्दै थिए। उनीहरू दिक्क मानिरहेको देखिन्थ्यो।

विद्यार्थी सहभागिताका विषयमा नेमकिपाका नेता तथा सांसद प्रेम सुवालसँग जिज्ञासा राख्दा उनको तर्क भने बच्चा पाराको थियो।

एमसीसी राष्ट्रियताको सवाल भएकाले विद्यार्थी पनि सडकमा उत्रनुपर्ने उनले तर्क गरे। नेता सुवालले भने, ‘देशको लागि त जो-जो हिँड्न सक्छ सबै आउनुपर्छ। यो देशको भविष्य त विद्यार्थीहरूकै हो त। अब देशै उठ्नुपर्छ कोही घर बसेर हुँदैन।’

'उनीहरू सानै उमेरका छन् नि त', भन्ने जिज्ञासामा सुवाल भन्छन्, ‘सानो पनि ठूलो हुन्छ। बुझाउँदै जाने हो।’

'प्रहरीको घेराभित्र विरोध सभा भइरहँदा झडपको स्थिति बन्यो भने नि, बालबालिकालाई केही भइहाल्यो भने त्यसको जिम्मा कसले लिन्छ' भन्ने जिज्ञासामा उनले भने, ‘देशले लिन्छ भिडन्त भयो भने। दशै नरहे न त्यो बच्चा रहन्छ न हामी ठूला रहन्छौं। अमेरिका आएर लिएपछि को रहन्छ?’

१३ फागुन, २०७८, ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।