रद्द भएको विज्ञापनका आधारमा बढुवाको प्रयासमा रहेका भूपेन्द्र हटाइए वीरबाट

रद्द भएको विज्ञापनका आधारमा बढुवाको प्रयासमा रहेका भूपेन्द्र हटाइए वीरबाट

काठमाडौँ : रद्द भइसकेको विज्ञापनमै ११ औँ तहमा बढुवा सिफारिसमा परेका कोभिड–१९ युनिफाइड (वीर अस्पताल) को  प्रमुख रहेका डा भूपेन्द्र बस्नेतलाई सरकारले हटाएको छ। सरकार परिवर्तन लगत्तै डा जागेश्वर गौतमलाई हटाएर ११ औँ तह चाहिने स्थानमा १० औँ तहका उनलाई प्रधानमन्त्री पत्नी आरजु राणाको विशेष पहलमा निमित्त प्रमुख बनाइएको थियो।

स्वास्थ्य मन्त्रालयले मङ्गलवार बस्नेतलाई हटाएर उनको स्थानमा डा गुणराज लोहनीको सरुवा गरेको छ। सरकारले  न्याम्समा १२ औँ तहका डा लोहनीलाई प्रमुखको जिम्मेवारी दिएको हो। 

सरकारले वीर अस्पतालको नयाँ दरबन्दी पारित गर्दै १२ औँ तहकालाई प्रमुख बनाउने निर्णय गरेको थियो। डा लोहनीलाई मङ्गलवारै वीरको प्रमुखको जिम्मेवारी दिइएको छ।

वीर अस्पतालको खरिद प्रकरणहरूमा विवादित बस्नेतको नियुक्ति लगत्तै विरोध भए पनि सरकारले उनलाई हटाएको थिएन। हालै उनी ११ औँ तहका लागि बढुवाको सिफारिसमा परेका थिए। तर उकेराको खोजमा उनलाई बढुवा गर्न निकालिएको विज्ञापन यस अगाडि नै रद्द गरिएको खुलासा गरेको थियो।

डा. बस्नेत बढुवा भएको सूचना नं.६२/०६८–८९ लोक सेवा आयोगले २०७८/७/१५ को निर्णय अनुसार बढुवा विज्ञापन नै रद्द भइसकेको थियो। आयोगले कार्त्तिक १७ गते सूचना जारी गर्दै भनेको थियो,‘स्वास्थ्य मन्त्रालयको चं. नं. ८८५/०७८–७९, मिति २०७८/७/१४ को पत्रअनुसार स्वास्थ्य सेवा, मेडिसिन समूह, ग्याष्ट्रोइन्टेरोलोजी उपसमूह, एघारौँ तह प्रमुख कन्सल्टेन्ट ग्याष्ट्रोइन्टेरोलोष्टि पदमा माग पद सङ्ख्या १ (एक) मात्र कायम गरिदिन लेखि आएकोले आयोगको मिति २०७८/७/१५ को निर्णय अनुसार देहायको बढुवा विज्ञापन रद्द गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’ जुन रुद्ध गरिएको विज्ञापनमा बढुवा सूचना नम्बर नं.६२/०६८–८९ उल्लेख छ।

यौन रोग र क्षयरोगका निर्देशक बदलिए

मन्त्रालयले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र क्षयरोग केन्द्रको निर्देशक समेत परिवर्तन गरेको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा डा श्रीराम तिवारीको सरुवा भएको छ। केन्द्रमा रहेका डा प्रकाश शाहलाई कर्णाली प्रदेशमा पठाइएको छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा डा सञ्जय ठाकुरको सरुवा भएको छ। केन्द्रमा रहेकी डा सुधा देवकोटालाई कारागार अस्पतालमा पठाइएको छ। यसै गरी औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याएको छ।  महानिर्देशकमा रहेका नारायण ढकाललाई औषधि प्रयोगशालामा पठाइएको छ।

यसै गरी कर्णाली स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा प्रकाश शाहको सरुवा भएको छ। राष्ट्रिय क्षयरोग केन्द्रमा रहेका शाहको निर्देशनालयमा सरुवा भएको छ। निर्देशनालयमा रहेका डा रविन खड्कालाई वीर अस्पतालमा सरुवा गरिएको छ। वीर अस्पतालमा रहेका डा सरोज शर्माको कान्ति बाल अस्पतालमा सरुवा भएको छ।

यो पनि

२७ पुस, २०७८, २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।