वीर अस्पतालमा मंगलबारकाे रमिता : जाँदाजाँदै जागेश्वरले भने, 'अन्जानमा गल्ती भए माफी पाऊँ'

वीर अस्पतालमा मंगलबारकाे रमिता : जाँदाजाँदै जागेश्वरले भने, 'अन्जानमा गल्ती भए माफी पाऊँ'

त्यसैले हाजिर गर्न गए कार्यालय। गौतम मंगलबार बिहान करिब १० बजे नै कार्यालय पुगेपछि कर्मचारी मुखामुख गर्न थाले। सरुवा भएका हाकिम यसरी कार्यालय आउँदैनथे।

उनी काेभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीको कार्यकक्षको ढोकामा पुगे। यसो हेरेको त नेमप्लेटै छैन। आफ्नो कार्यकक्षअगाडि काम गर्ने कर्मचारीलाई उनले सोधे,‘खोइ बोर्ड?’ 

कर्मचारी हस्याङफस्याङ गर्दै फालिएको बोर्ड खोज्न थाले। एक कर्मचारीले भेट्टाएपछि ल्याएर टाँसिदिए।

डा. गौतम आफ्नो कार्यकक्षमा पसेर कर्मचारी बोलाएर आफ्नो विज्ञप्ति अस्पतालमा टाँस्न लगाए। 

कर्मचारीले डा. गौतमले लेखेको विज्ञप्ति ठाउँठाउँमा टाँसे। विज्ञप्तिमा साउन १७ गते आइतबार छलफलका क्रममा केही कर्मचारीले ठेलमठेल गर्दा असहज परिस्थितिको सृजना भएकाले शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनको सहयोग लिनुपरेको लेखिएको थियो।

फकाउने भाषामा लेखिएको विज्ञप्तिमा ‘व्यवस्थापन र कर्मचारीबीच वैमनस्यताको वातावरण सृजना भएको उल्लेख गर्दै डा. गौतमले दुःख व्यक्त गरेका थिए।’

०००

सोमबार बेलुकातिर मन्त्रालयबाट युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको पत्र पाएका मरासिनी भने अस्पताल गएका थिएनन्। उनले ४ बजे नियुक्तिपत्र पाएका थिए।

मंगलबार साँझ हुँदाहुँदै प्रमुख प्रशासकीय अधिकारीमा न जागेश्वर कायम रहे न मरासिनी। हातमा निमित्त प्रमुख प्रशासकीय अधिकारीको नियुक्तिपत्र बोकेर कार्यालय पुगे भूपेन्द्र बस्नेत।

त्यो बेलासम्ममा जागेश्वरले कर्मचारीलाई खोज्न लगाएर टाँसेको नेमप्लेटमा कागजमा प्रिन्ट गरेर बस्नेतको नाम टाँसिसकिएको थियो। मरासिनीको नियुक्ति रद्द भएको हल्ला मंगलबार दिउँसोबाटै सुरु भए पनि बस्नेतले करिब ४ बजेतिर मात्र नियुक्तिपत्र पाएका थिए।

राजनीतिक दाउपेचमा माहिर बस्नेतले कार्यभार सम्हाल्न मरासिनीझैँ किन ढिला गर्थे र। उनी कार्यालय गइहाले। उनी कार्यकक्षमा पुग्दा त्यहीँ थिए जागेश्वर।

कर्मचारी भेला भइसकेका थिए।

बस्नेत पुगेपछि खादा र माला लगाइदिए। बैठक हलमा करिब आधा घण्टा बस्नेतको स्वागत र गौतमको बिदाइमा कार्यक्रम भयो। कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. देव नारायण (डिएन) शाह पनि थिए।

स्वागत तथा बिदाइ कार्यक्रममा बोल्दै डा. गौतमले आफू कामै गर्ने मान्छे भएकाले अरूले पनि काम गरुन् भन्ने चाहेको बताए। डा. गौतमले भने,‘म काम गर्छु अरूले पनि काम गरुन् भन्छु।’

डा. गौतमले जानीजानी कुनै गल्ती नगरेको दाबी गर्दै अन्जानमा गल्ती भए माफी पाऊँसमेत भने।

उनले भने,‘जानेर कसैलाई नराम्रो गरेको छैन। नजानेर कहीँ गल्ती भएको छ भने माफ गर्दिनुहोला।’ 

पालो आयो डा. बस्नेतको। उनले अस्पतालको विकास गर्ने दाबी गरे। वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पहिचान जीवित राख्ने र यसका लागि पदाधिकारीसँग छलफल गर्ने उनले बताए। 

डा. गौतमले केही काम राम्रो गरेको भन्दै डा. बस्नेतले उनलाई धन्यवाद दिए।

स्वागत तथा बिदाइ कार्यक्रम सकिएपछि डा. बस्नेतले करिब ५ बजे प्रशासकीय अधिकारीको कार्यकक्षमा छिरेर कार्यभार सम्हाले। गौतम घरतिर लागे। मरासिनी कता थिए पत्तो लागेन।

०००

मरासिनीले चाहेको भए सोमबार बेलुकै कार्यभार सम्हाल्न सक्थे। तर, उनी बस्नेतझैँ नियुक्तिपत्र पाएलगत्तै अस्पताल गएनन्। उनी निकट स्रोतका अनुसार मंगलबार डा. गौतमलाई ससम्मान बिदाइ गर्ने योजनामा थिए उनी। तर, न उनले गौतमलाई बिदाइ गर्न पाए न कार्यभार सम्हाल्न नै। 

रातभरमा बस्नेत समूहले सबै खेल परिवर्तन गराइसकेकाे थियाे। मरासिनीकाे नियुक्तिलगत्तै एक समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्णय बदल्न दबाब दिएकाे थियाे। सोमबार बेलुकै बालुवाटार पुगेकाे बस्नेतसहितको टोलीले प्रधानमन्त्री देउवालाई मरासिनीले जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै निर्णय बदल्न आग्रह गरेका थियाे। प्रधानमन्त्री देउवाले म हेर्छु मात्र भनेर पठाएको स्रोतले बतायो।

मंगलबार बिहान प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मरासिनीलाई नियुक्त गर्ने निर्णयको फाइल बोकेर बालुवाटार बोलाए। 

‘स्वास्थ्य राज्यमन्त्रीलाई बोलाएर उहाँले हिजो गरेको निर्णय बदर गरौँ भन्नुभयो,’ स्रोतले भन्यो,‘उहाँले भूपेन्द्रको नाम लिएपछि श्रेष्ठले केही भन्न सकेनन्।’ निर्णय तयार भयो। प्रधानमन्त्रीले फाइलमा आफैले बस्नेतलाई निमित्त प्रमुखमा नियुक्त गरेको निर्णयमा हस्ताक्षर गरे।

निर्णयको जानकारी पाएलगत्तै बस्नेत वीर अस्पतालमा बिरामी जाँच्नुको साटो नियुक्तिपत्र लिन मन्त्रालय पुगे। उनी पुग्दा नियुक्तिपत्र तयार भइसकेको थिएन। करिब २ घण्टा उनी मन्त्रालयमै बसेर नियुक्तिपत्र बोकेर मात्र फर्किए।

१९ साउन, २०७८, २२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।