३९ करोडमा किनिएको वीरको मेसिन २ वर्षदेखि सशस्त्रको चौरमा 

३९ करोडमा किनिएको वीरको मेसिन २ वर्षदेखि सशस्त्रको चौरमा 

काठमाडौँ : क्यान्सरको उपचारका लागि अत्यावश्यक भन्दै वीर अस्पतालले २०७४ सालमा ३९ करोड खर्च गरेर ‘टोमोग्राफी’ मेशिन किन्यो।तर सो मेसिन सिधै वीर अस्पताल नलगेर बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पताल परिसरमा पूर्याइयो।

संरचना बनेको छैन, पछि लैजान्छौँ भनेर २ वटा कन्टेनरमा मेसिनका उपकरण राखिएको साढे दुई वर्ष भयो तर वीर अस्पताल व्यवस्थापनले अहिलेसम्म ती मेसिन लगेकै छैन।

सशस्त्र स्रोतका अनुसार वीरका कर्मचारी बेलाबखत कन्टेनर खोल्न आउँछन्। खोल्छन् र केही सामाग्री लिएर जान्छन्। उपकरण लैजान आग्रह गर्दा‘सुरक्षाका कारण लग्न सकिएन’ भन्ने जवाफ दिने गरेको स्रोतले बतायो।

स्रोतका अनुसार महँगोमा किनिएको मेसिन राखिएको कन्टेनर प्वाल परिसकेको छ। पानी छिरेर अब मेसिन काम लाग्ने अवस्थामा छैन।

कमिसनको लोभमा संरचना नै नबनाई अस्पताल व्यवस्थापनले मेसिन किनिहाल्यो। अहिले वीरका व्यवस्थापकहरूलाई मेसिन टोक्नु न बोक्नु बनेको छ।

अस्पताल स्रोतका अनुसार यो मेसिन २०७४ सालमा ३९ करोडमा लाइफलाइन ट्रेड इन्टरनेशनल प्रालिसँग किनेको थियो।

अस्पतालकी खरिद प्रमुख नर्स भगवती थपलियाले मेसिन करिब ३९ करोडमा किनिएको पुष्टि गरिन्।

२०७४ मा यो मेसिन किन्दा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपति डा. गणेश गुरुङ थिए भने अस्पतालको निर्देशक डा. भूपेन्द्र बस्नेत थिए। 

सशस्त्रको बलम्बुमा रहेको अस्पतालको चौरमा वीरको मेसिन राखिएको कन्टेनर

डा बस्नेतले मेशिन खरिद प्रक्रिया आफ्नो पालामा सुरु भए पनि कहिले आइपुग्यो भन्नेबारे भने जानकारी नभएको दाबी गरे।

टोमोग्राफी मेसिन तपाईंको पालामा खरिद भएको रहेछ। वीरमा किन नराखिएको भन्ने जिज्ञासामा डा. बस्नेतले भने,‘खरिद प्रक्रिया त हामीले गरेको हो। किन ल्याइएन मलाई नलेज छैन।’ 

बस्नेतले मेशिन राख्नका लागि संरचना पनि बनाउने र मेशिन पनि ल्याउने गरी खरिद सम्झौता भएको दाबी गरे।

बस्नेत निर्देशकबाट हटेपछि अस्पतालका डा. केदारप्रसाद सेन्चुरी निर्देशक भए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण (डिएन) साह छन्। 

अस्पतालमा रहेको करिब २५ वर्ष पुरानो ‘कोबाल्ट–६०’ मेशिन कामै नलाग्ने गरी बिग्रिएपछि यो मेसिन किनिएको थियो।

मेशिन २०७२ सालतिर बिग्रिएपछि नयाँ मेशिन नहुँदा अस्पतालमा करिब ५ वर्षदेखि रेडियो थेरापी गर्नुपर्ने क्यान्सरका बिरामीले परीक्षण सुविधा पाउन सकेनन्। वीर व्यवस्थापकले त्यसैलाई देखाएर महँगोमा मेसिन किन्ने सम्झौता गर्यो।

‘त्यो बेला अस्पतालका क्यान्सर विभाग प्रमुख नेपालमा थिएनन्। उनी नभएको बेलामा सेटिङमा पूर्वाधारै नबनाई महँगोमा मेशिन ल्याइयो,’ अस्पताल स्रोतले उकेरालाई बतायो।

स्रोतका अनुसार तत्कालीन विभाग प्रमुख डा. विवेक आचार्यले सो मेसिनका लागि निश्चित संरचना र मापदण्ड चाहिने भन्दै संरचना नै नबनाई मेसिन मात्र ल्याएर काम नहुने भन्दै असहमति राखेका थिए। 

उनी नेपालमाहुँदा खरिद प्रक्रिया प्रभावित हुनसक्ने आशङ्कामा उनी विदेश गएको मौका पारेर व्यवस्थापनमा रहेकाले मेसिन खरिद प्रक्रिया अगाडि बढाएका थिए।

उनीहरूले मेसिन खरिद गर्ने सम्झौता गर्दा संरचना निर्माण र मेसिन राख्दा अपनाउनुपर्ने निश्चित मापदण्डको वास्तै गरेनन्। आयातकर्तालाई ७० प्रतिशत रकम भुक्तानी दिइसकेका छन्। तर मेसिन भने सशस्त्र प्रहरीको चौरमै छ।

सशस्त्रको बलम्बुमा रहेको अस्पतालको चौरमा वीरको मेसिन राखिएको कन्टेनर

थपलिया ‘मेशिन राख्ने संरचना बन्ने काम अन्तिम चरणमा पुगेको दाबी गर्छिन्। करिब तीन वर्ष घामपानीमा बसेको मेसिनले काम गर्छ कि गर्दैन उनलाई जानकारी भने छैन।

संरचना नै नबनाई महँगोमा मेसिन किन्ने निर्णयमा संलग्न वीर अस्पतालका तत्कालीन निर्देशक बस्नेत मेसिन खरिदकर्ताले मेसिन चलाएपछि मात्रै आयातकर्ताबाट हस्तान्तरण हुने र यो बिचमा बिग्रिएको भए उसैले बनाउनुपर्ने सर्त भएकाले त्यस अगाडि मेसिन बिग्रिए पनि कम्पनी नै जिम्मेवार हुने दाबी गरे।

‘चलाएर बिरामीलाई ठिक काम गर्ने भयो भने मात्रै हाम्रो जिम्मा हो। नत्र हाम्रो जिम्मा मै आउँदैन।’

कस्तो संरचना चाहिन्छ ?

मेसिन राख्न वीरमा बन्दै गरेको संरचना

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आइएइए को गाइडलाइन अनुसार टोमोग्राफी राख्ने संरचना निर्माण गर्नु पर्ने प्रतिष्ठानका उपकुलपति साहले जानकारी दिए। उनले भने,‘गाइडलाइनभन्दा बाहिर गएर मेशिन चलाउनै पाइँदैन।’ मापदण्डविपरीत चलाउँदा रेडिएसन घातक हुने उनले बताए।

यो मेसिन राख्न संरचना (बङ्कर) बनाउने र बिग्रिएको मेशिनको ‘रेडियो आइशोटप’ धातु विसर्जनका लागि फिर्ता लान मेशिन खरिद गर्ने कम्पनीलाई ६ करोड ६६ लाख ६६ हजार ४ सय ३० दिने निर्णय भएको थियो। 

पुरानो मेशिनको रेडिएसन भने कम्पनीले क्यानडामा लगेर डिस्पोज गरेको थपलियाको दाबी छ। कम्पनीले ६ करोड ६६ लाख ६६ हजारमध्ये ३ पटकमा करिब २ करोड ५० लाख रकम लगिसकेको र बाँकी रकम संरचना तयार भएपछि मात्रै दिइने उनले बताइन्।

अहिले वीर अस्पतालमा मेसिन राख्ने संरचना बनिरहेको छ। अस्पतालको पुरानै भवनमा संरचना बनिरहेको र अन्तिम चरणमा पुगेको खरिद इकाई प्रमुख थपलियाले दाबी गरिन्।

यसरी भएको थियो खरिद

प्रतिष्ठानका उपकुलपति गुरुङको अध्यक्षतामा बसेको बैठकले २०७४ जेठ १८ गते अस्पतालमा प्रयोग हुने उपकरणहरू खरिद गर्ने  निर्णय भएको थियो। 

मेशिन खरिद गर्ने निर्णय भएसँगै ‘टोमोग्राफी’ खरिदका लागि ‘कस्ट इस्टिमेट एन्ड स्पेशीफिकेशन’ समिति गठन भयो। 

सो मेशिनको लागत तयार गर्नका लागि डा. आरती शाहको संयोजकत्वमा डा. कञ्चन अधिकारी, बायोमेडिकल इन्जिनियर स्मृति काफ्ले रहने गरी ३ सदस्यीय समिति गठन भएको थियो।

समितिले मेशिन खरिद गर्नका लागि आवश्यक लागत पनि तयार गर्यो। 

लागत तयार गर्दा समितिले ३ वटा फर्महरूसँग दररेट माग गर्यो। तीनै वटा फर्मले अमेरिकाको ‘एक्युर मेडिकल’ ले उत्पादन गरेको ‘टोमोथेरापी’ मोडलको मेशिन उपलब्ध गराउने गरी दर रेट पेस गरेका थिए।

‘लाइफ ट्रेड इन्टरनेश्नल प्रालि’ ले ४३ लाख ४० हजार अमेरिकी डलरमा मेशिन उपलब्ध गराउने गरी दररेट पेस गरेको थियो। ‘ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि’ ले ४३ लाख २५ हजार डलर र ‘हस्पिटेक इन्टरनेश्नल प्राली’ले ४३ लाख १० हजारमा मेशिन उपलब्ध गराउने गरी दररेट पेस गरेको थियो।

तीन वटा दररेटका आधारमा अस्पताल प्रशासनले भ्याट बाहेक ४० करोड ३३ लाख ३८ हजार ४ सय लागत अनुमान स्वीकृति गरेको थियो। 

त्यसपछि मेशिन खरिदका लागि गोरखापत्र दैनिकमा २०७४ जेठ २१ गते बोलपत्र आह्वानको सूचना प्रकाशित भयो। तर, ‘इष्ट वेस्ट कन्सर्न’ र ‘लाइफलाइन ट्रेड इन्टरनेश्नल प्रालि’ गरी २ वटा फर्मले मात्रै मेशिन खरिदका लागि बोलपत्र पेस गरे।  

बोलपत्र पेस गर्ने २ फर्ममध्ये पनि ‘इष्ट वेस्ट कन्सर्न’ ले बोलपत्र पेस गर्दा जमानत बापतको रकम नै नराखेकाले सो बोलपत्रले कानुनी मान्यता पाएन।

बाँकी ‘लाइफलाइन ट्रेड इन्टरनेश्नल प्रालि’ मात्र भयो र उसैले सो काम पायो।

२०७४ असार २९ मा वीर अस्पताल प्रशासन तथा खरिदकर्ताबिच सम्झौता भएको थियो। त्यही दिन एलसी खोलेर खरिदकर्ताले करिब ७० प्रतिशत रकम लिएको थियो।

सतर्कताको प्रतिवेदन अलपत्र

मेशिन खरिद प्रक्रियाको अनियमितताबारे राष्ट्रिय सतर्कता केन्द्रले अध्ययन गरी प्रतिवेदन पनि तयार गरेको छ। 

केन्द्रले खरिद प्रक्रियामा त्रुटि औँल्याएको थियो। प्रतिवेदन अनियमितता भए नभएको बारे थप अध्ययन र छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस भए पनि अहिलेसम्म कुनै कारबाही भएको छैन।

२५ फागुन, २०७७, १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।