सन्दीप र किशोरीको बयानमा ६ विषय ठ्याक्कै उल्टो, आखिर ढाँट्यो कसले ?

सन्दीप र किशोरीको बयानमा ६ विषय ठ्याक्कै उल्टो, आखिर ढाँट्यो कसले ?

काठमाडौँ : नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सोमबारबाट अदालती प्रक्रियामा प्रवेश गरेको छ। एक महिना फरार हुँदा मुद्दा अदालतसम्म पुग्न ढिला भएको हो।

सोमबार जिल्ला न्यायाधीवक्ताको कार्यालयबाट प्राप्त प्रमाणको आधारमा सन्दीपले नाबालिगको बलात्कार गरेको देखिएको दाबी गर्दै १२ वर्ष कैद र पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ।

सोमबार दर्ता भएको अभियोग पत्रमा पीडित किशोरी र सन्दीपले अनुसन्धानकोक्रममा अनुसन्धान अधिकारीसमक्ष दिएको बयानको संक्षेप समेत राखिएको छ।

यस्तो संक्षेप बयानमा प्रतिवादीमाथि लगाइएको अभियोग पुष्टि हुने आधार र कारणहरूसँगै त्यसैलाई समर्थन हुने बयानका अंश राखिन्छ। यो पूर्ण बयान हैन।

बयानको अंशमै पीडित किशोरी र सन्दीपले बोलेको कुरा एक अर्कासँग पूर्ण रूपमा बाझिएका छन्। बलात्कार गरेको हो र हैन भन्ने मात्रै हैन स्न्याप च्याटमा परिचय भएको विषय बाहेक बाँकी सबै बयान उल्टो छ।

घटना भएको दिन कसले भेट्न बोलाएको ?, कसले नगरकोट जान कर गरेको? नगरकोटकै होटेलमा बस्न कर कसले गरेको? होटेल फर्किएर एकै कोठामा बस्न कसले भनेको ? सबै दाबी ठ्याक्कै उल्टो छ।

दुबैबिच स्न्यापच्याटमा भएका कुराकानीको रेकर्ड, नगरकोटको रिसोर्टमा सन्दीपले गरेको डिजिटल पेमेन्ट, सो दिनको सन्दीप अनि पीडित किशोरीको मोबाइलको लोकेसन, कल डिटेल अनि रात बिताएको होटलको क्लोज सर्किट टेलिभिजनका दृश्यलाई प्रमाणको रूपमा अदालतमा पेस गरिएको छ।

यी नै प्रमाणका कारण हुनसक्छ सन्दीपले पनि नगरकोट गएकोदेखि होटेलमा बसेकोसम्म कुनै कुरा ढाटेका छैनन्। तर किशोरीको बयान पढ्दा सन्दीपले फसाएर होटेल पूर्याएको देखिन्छ भने सन्दीपको बयानमा किशोरीले जालझेल गरेर होटलको एकै कोठामा बस्न बाध्य बनाएर आरोप लगाएझैँ देखिन्छ।

आखिर कसले झुट बोलेको हो त्यो अब अदालती प्रक्रियाबाट पुष्टि हुने पाटो हो। पीडित युवती अनि सन्दीप लगायतले दिएको बयान अन्तिम पनि हैन। यो अनुसन्धान क्रममा अनुसन्धान अधिकृत (प्रहरी) समक्ष दिएको बयान हो। अदालती प्रक्रियामा सबैको पुन बयान हुन्छ। अदालती प्रक्रियामा प्राय अनुसन्धान अधिकृतसँग दिएको बयानभन्दा अदालतमा दिइने बयानलाई बढी मान्यता दिने गरेको देखिन्छ।

अहिले अभियोग पत्रसँगै पेस गरिएको बयान र अदालतमा दिइने बयान ठ्याक्कै उल्टो हुन पनि सक्छ। अभिनेता पल शाहको केसमा पीडित किशोरी र उनको परिवारले अनुसन्धान अधिकृत समक्ष बलात्कार गरेको भनेर दिएको बयान अदालतमा हैन भनेका थिए।

सोमबार सन्दीप विरुद्ध अभियोग पत्र दर्ता भएकाले मङ्गलवारबाट सन्दीपको अदालती बयान र थुनछेकको बहस सुरु हुनेछ। थुनेर मुद्दा प्रक्रिया अगाडि बढाउने कि धरौटी या तारेखमा छाडेर भन्ने अदालतबाट निर्क्योल भएपछि थप व्यक्तिहरूको बयान र प्रमाण बुझ्ने काम हुने भएकाले कसले बयानमा ढाँटेको हो भन्ने अदालती प्रक्रियाबाट टुङ्ग्याउन लामै समय लाग्ने देखिन्छ।

मुद्दाको गम्भीरता र अभियोग पत्रमा उल्लेख प्रमाणका आधारमा प्रमाण बुझ्ने क्रम नसकिएसम्म सन्दीप कारागारमा बस्ने सम्भावना बढी देखिन्छ।

बयानमा एक आपसमा बाझिएका ६ विषय

कसले भेट्न कर गर्यो ?

किशोरी : सन्दीप र म बिचमा सामान्य कुराकानी हुँदै जाँदा उनले मलाई भेट्न प्रस्ताव गरेका थिए। मैले भ्याउँदिन भनेपछि उनले निकै जोड बल गरी केन्याका लागि फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्किईकन क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि  क्यारेबियन आइल्याण्डतर्फ जाने र त्यसको दुई महिनासम्म पनि नेपाल फर्कन नपाउने भएकाले आजै भेटौँ भनी निकै जोड बल गरिरहेका थिए। 

सन्दीप : उनले मालाई भेट्ने प्रस्ताव गर्दै 'म तपाईँको ‘फ्यान हुँ’ तपाईँसँग एकदमै धेरै भेट्ने इच्छा छ' भनेकी थिइन्। मैले अहिले मसँग भेट्ने समय छैन, म करिब २ महिनापछि खेल सक्काएर फर्किन्छु त्यति बेला भेटौँला नि भनेको थिए। उनले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय स्थितिमा रहेकोले मलाई तपाईँबाट केही सहयोग चाहिएको हुँदा तपाईँलाई भेटी केही व्यक्तिगत कुराहरू शेयर गर्न मन छ भनेकी थिइन्। मैले हाउ क्यान आई हेल्प यु?’ भनी म्यासेज गर्दा होइन म भेटेर मात्रै ती कुराहरू भन्न सक्छु भनेकी थिइन्। 

२- कसले भेट्न कल गर्यो ?

किशोरी : मलाई सन्दीपले ६:१८ बजे पुनः फोन गरी अहिले आफू बैठकका लागि सातदोबाटो गइरहेको र पछि फोन गर्ने बताए। म होस्टेलमा गएँ। ६:२५ बजे सन्दीपले नै फोन गरेर आफू कालीमाटीबाट निस्कँदै गरेको र मलाई संसद् भवनअगाडि आउँदै गर भनी बोलाएका थिए। 

मैले आफू संसद् भवनतर्फ नआउने, बरु तपाईँ नै पुरानो बानेश्वर चोक जाने बाटोतर्फ आउनु भनी ठेगाना बताएका थिए। ६:५८ मा फोन गर्दै आफू लोकेसनमै आएको सन्दीपले बताए।  सेतो रङको अल्फाबेट थाहा नभएको ०२६ च ४४४४ नम्बरको गाडीभित्र उनी रहेकोमा मलाई आऊ बस भनेपछि म उक्त गाडीको अगाडिको सिटमा बसेपश्चात् उनले नाइस टु मिट यु भनेर साइडबाट अँगालो हाले। 

सन्दीप : उनले तपाईँ होस्टेलतिर नआउनुस् होस्टेलनजिक लिटिल काठमाडौँ रेस्टुरेन्ट छ। तपाईँ त्यहीँ कुरेर बस्नुस्, म त्यहीँ आउँछु भनेकोले म रेस्टुरेन्ट नजिकै सडकमा मेरो ०२६ च ४४४४ नम्बरको गाडीमा कुरी बसेको थिएँ। त्यसको करिब २–३ मिनेटपछि गौशाला २६ त्यहाँ आइन्।  सिधै मेरो गाडीको अगाडिको सिटमा बसिन्। गाडीभित्र बसेपछि मैले उनलाई हेल्लो– हाई गरेँ।

-नगरकोट जाने योजना कसको ?

किशोरी :  मैले कहाँ जाने भनेर सोध्दा लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्री बाटोबाट तीनकुने हुँदै कोटेश्वरतर्फ लगे। 

मैले हामी कता जान लागेको हो र? भनेर सोध्दा मेरो मन्जुरीबिना भित्रीबाटोहुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगे। त्यसपछि उनले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भइसकेपछि  करिब ८:२० बजे पुर्याए।

सन्दीप : गौशाला २६ (प्रहरीले पीडितको पहिचान लुकाउन दिएको कोडनेम) लाई ह्वाट्स योर प्लान? भनी सोधेकोमा उनले मलाई लेट्स गो टु नगरकोट भनिन्। मैले नगरकोट जान त सम्भव  छैन, बरु दरबारमार्गतिर जाऊँ अनि कफी खाऊँ भने। 

उनले होइन, मैले आज बिहानदेखि नै नगरकोट जाने मुड बनाएको छु, लेट्स गो भनेकोमा मैले फेरी पनि आज सम्भव छैन, भोलि म गेम खेल्न केन्या जानुपर्ने छ र त्यस्का लागि तयारी गर्नुपर्ने छ भन्दा उनले मलाई होइन, मैले होस्टेलबाट साथीहरूलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एक छिन भए पनि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको–गर्यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा उसको चित्त नदुखोस् भनी उनको कुरामा सहमत भई हामी दुवै जना नगरकोट गएका थियौँ। 

४-नगरकोटमै बस्ने प्रस्ताव कसको ?

किशोरी : उनले मलाई ड्रिङ्क गर्ने प्रस्ताव गरेको र मैले कहिल्यै नखाएकीले इन्कार गरेँ। उनले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भिआइपी रुम बुक गर्ने सम्बन्धमा पटक–पटक कुराकानी गरेको र मलाई के गर्ने फर्कने कि यहीँ बस्ने भनेर सोधेकोमा मैले अर्को दिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताए। उनले गाडीको चाबीबाट कारको लक खोलेपछि म आएर बसे।

सन्दीप : मैले अब हामी जाने होइन, ढिला भइसक्यो, रात पर्यो, तिम्रो होस्टेल पनि बन्द हुन्छ भन्दा उनले ढिला भएको छैन होस्टेल जति बेलासम्म पनि खुलेको हुन्छ र ढिला भए पनि केही छैन, यतै बसौँला भन्ने कुरा गरिन्। 

मैले हुँदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ‌, फेरि हामी फर्किने गरी आएको, भोलि मेरो आफ्नो कामको तयारी गर्नुपर्ने छ, तिमी बुझन भने। उनी रिसाएर गाडीमा आएर बसिन्।

होटेलमा एउटै कोठामा बस्ने योजना कसको ?

किशोरी : रातको समयमा होस्टेलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले उनले होटेल काठमाडौँ इनमा कोठा बुक गर्ने कुरा गर्दा मैले  दुईवटा कोठा बुक गर्न भनेकोमा मोबाइलबाट कल डायल गरेर ‘अनीश भाइ, त्यही रुम बुक गरिदिनू’  भनी सो होटेलका अनीश नामका एक सहयोगीलाई फोन गरे र मलाई उनले होटेलमा एउटा मात्र रुम छ भने।

सन्दीप : उनले होस्टेल जति बेला पनि खुल्छ भनेकी थिइन्। तर, उक्त कुरा झुटो बोलेकी रहेछिन् भन्ने कुरा मलाई आभास भयो। त्यसपछि उनले कुरा गर्दै थिइन्।

कुरैकुरामा मलाई तपाईँसँग कुरा गर्नै पुगेको छैन, म आज तपाईँसँग जान्छु, तपाईँसँगै धेरै कुरा गर्नु छ र मेरा केही व्यक्तिगत कुरा पनि गर्न बाँकी छ भनेकोमा मैले उनलाई उसो भए म अहिले हायात होटेलमा बस्दै आएको छु, हायात होटेलमा जाऊँ, म तिमीलाई एउटा कोठाको प्रबन्ध गरिदिन्छु, त्यहीँ गएर तिम्रा कुरा सुन्छु भनी प्रस्ताव राखेको थिएँ।

उनले आत्तिँदै त्यहाँ सबै खेलाडी हुन्छन्, त्यसमाथि देव पनि त्यहीँ हुन्छ भन्दै आनाकानी गर्न थालिन्। आनाकानी गरेको देखेर ठिकै छ नि त, म भोलि क्रिकेटका लागि बाहिर जानु छ, अरू सबै खेलाडी हायातमा बसेका छन्, मलाई जसरी भए पनि पुग्नुपर्छ। तिमीलाई मैले चिनेको र मलगायत अन्य खेलाडी कहिलेकाहीँ क्याम्पका लागि जाने होटेल काठमाडौँ इन मा फोन गरी एउटा कोठा बुक गरीदिन्छु, म पनि एक छिन तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टेलसम्म पुर्याइदिनका लागि बिहानै उठेर आउँला भनेको थिए। 

उनले हुन्छ भन्ने कुरा गरिन् र मैले तत्काल होटेल काठमाडौँ इनमा फोन गरी एउटा कोठा बुक गरी दिएको थिएँ।

६- एकै बेडमा सुतेको हो कि कुर्सी र बेडमा ?

किशोरी : म बेडमा गई आराम गर्दै गर्दा उनले मलाई लुगा फुकालेरै सुत भने। म लुगा नफुकालीकन पल्टेकी थिएँ। एकैछिनमा निदाएछु।  त्यसको अन्दाजी २० देखि २५ मिनेटपछि अन्दाजी १२:२५ बजतिर म ब्युँझिँदा सन्दीप मसँग सुत्न आइ मैले लगाएको पाइन्ट खोली मेरो इच्छा विपरीत जबरजस्ती करणी गरे। 

त्यसको करिब एक घण्टापछि पुनः मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने। त्यसपछि मलाई डर लागी रुँदै गर्दा मलाई चल्न नदिई पुनः दोस्रो पटक जबरजस्ती करणी गरे।

सन्दीप : कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागि कुर्सीमा बसेँ। पछि गौशाला २६ आएर कोठाको ढोका लगाइ भित्रबाट लक गरेकी थिइन्। 

मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, इट्स ओके भन्दै जवाफ फर्काइन्। मैले यो कुरालाई सामान्य रूपमा लिएर कुर्सीमा बसिरहे। उनी बेडमा बसिन्।

कुराकानीकै बिचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्सीमा आइ बसेँ। खेल जीवनका बारेमा उनीसँग कुराकानी भएको थियो। मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो गर्ल फ्रेण्ड रहेको र छिटै १-२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ। 

म धेरै बेर कुर्सीमा बसेको देख्दा उनले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरिन्। मैले होइन म यहीँ ठिक छु भन्दै उनको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसे। उनी बेडमै थिइन्। 

मेरो मोबाइलमा बिहानको ६ बजेको अर्लाम लगाइ कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ। बिहान ६ बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा उनी सुतिरहेकी थिइन्। मैले उनलाई उठाएँ।

सम्बन्धित समाचार

१४ कात्तिक, २०७९, २१:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।