आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रोष्टममा जाने सम्भावित कार्यसूची

आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रोष्टममा जाने सम्भावित कार्यसूची

काठमाडौं : आइतबारको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने रोष्टममा जाने सम्भावित कार्यसूची तय भएको छ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको आइतबार विहान ११ बजेको सम्भावित कार्यसूचीमा लामिछानेले ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने भनिएको छ।

तर नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने दोषी भएको दाबी गर्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कामकारबाही नै अघि बढ्न नदिले अडान लिएको छ।

जसकारण बजेट अधिवेशन सुरु भएदेखि नै प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको कामकारबाही सहज ढङ्गले अघि बढ्न सकेको छैन। यद्यपि कांग्रेसले सरकारको नीति तथा कार्यक्रम भने पेश गर्नका लागि राष्ट्रपतिलाई बोल्न दिएको थियो।

यसका साथै आइतबारको कार्यसूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सभामुखले बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची पनि संसद सचिवालयले तय गरेको छ।

यसका अलावा प्रधानमन्त्री दाहालले नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्ने र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

जेठ ५, २०८१ शनिबार ०९:३०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।