मकवानपुरमा माइक्रोबस दुर्घटना : नौ भारतीय नागरिक घाइते, तीन जनाको अवस्था गम्भीर
मकवानपुर : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी-दक्षिणकाली सडक खण्डमा माइक्रोबास दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन्।
दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ बजे काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१-०३३ च ५२५८ नम्बरको माइक्रोबसको ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको कमाण्डमा तथा प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक राम वली साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
गाडीमा चालकसहित ११ जना सवार रहेकोमा ९ जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका थिए। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई तत्काल उपचारका लागि काठमाडौं पठाइएको थियो ।
गम्भीर घाइते हुनेहरूमा भारत, बिहार दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी रहेका छन्।
त्यसैगरी ५६ वर्षीया प्रझा देवी, ५२ वर्षीया रुद्र कुमारी झा र ७४ वर्षीय छत्रधर चौधरी मध्यम घाइते भएका छन्।
माइक्रोबस चालक धनुषाको लक्ष्मीनिया नगरपालिका-४ निवासी करिब ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन्। अर्का नेपाली सवार २२ वर्षीय असान साफी सामान्य अवस्थामा आफैँ घर फर्किएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वैशाख २९ गते बिहान १ः३० बजेसम्म सबै ९ जना घाइतेहरूको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि सडक अवरुद्ध नभएको र गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
वैशाख २९, २०८३ मंगलबार १०:२७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।