दोलखामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु
दोलखा : दोलखाको बैतेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। बाख्रा चराउन गएकी स्थानीय ३५/३६ वर्षीया कल्पना तामाङको सर्पको टोकाइका कारण ज्यान गएको हो।
शनिबार दिउँसो करिब १२:३० बजे बैतेश्वर गाउँपालिका वडा नं. ७ स्थित माझीबुस्तीमा बाख्रा चराउन गएको समयमा तामाङलाई सर्पले टोकेको थियो।
सर्पले टोकेर उनी घाइते भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मैनापोखरीबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) कमल प्रसाद कटुवालको कमाण्डमा ३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी र स्थानीयको सहयोगमा घाइते तामाङलाई तत्काल उपचारका लागि बैतेश्वर गाउँपालिका वडा नं. ६, बुस्तीमा रहेको लालीगुराँस सामुदायिक अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा दिउँसो २:२५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी निरीक्षक (प्र.नि.) विवेक घिमिरेको कमाण्डमा ६ जनाको टोली खटिएको थियो।
साँझ ५:३० बजे घटनास्थल र मृतकको प्रारम्भिक कानुनी प्रक्रिया सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पताल पठाइएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय मैनापोखरीबाट करिब ९ किलोमिटर दक्षिणमा पर्दछ। गर्मी बढेसँगै ग्रामीण भेगमा सर्पको जोखिम बढ्न थालेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
वैशाख २९, २०८३ मंगलबार ०९:१२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।