अभियोग पत्रमा समावेश किशोरीको संक्षिप्त बयान : प्रतिकार गर्दा ढाडमा हान्दै दोस्रो पटक बलात्कार गरे

अभियोग पत्रमा समावेश किशोरीको संक्षिप्त बयान : प्रतिकार गर्दा ढाडमा हान्दै दोस्रो पटक बलात्कार गरे

काठमाडौं : सन्दीप लामिछानेले बलात्कार गरेको दाबी गरिएकी किशोरीको संक्षिप्त बयानमा होटलको कोठामा २ पटक बलात्कार गरेको उल्लेख छ। सोमबार जिल्ला न्यायाधीवक्ताले काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा दोस्रो पटक बलात्कार गर्दा प्रतिरोध गर्दा ढाडमा कुटेको उल्लेख छ।

अभियोग पत्रमा समेटिएको उनको संक्षिप्त बयानमा लामिछानेले भेट्ने प्रस्ताव गरेको, तर आफूले काम छ भनेर भेट्न इन्कार गरेको, सन्दीपले आफू भदौ ६ गतेदेखि केन्यामा हुँदै गरेको क्रिकेट म्याच खेल्न जान लागेकोले मेन्टल रिफ्रेसमेन्ट हुन्छ कतै घुम्न जाउँला भनेर प्रस्ताव गरेको किशोरीको दाबी छ।

उनले बयानमा सन्दीपले भेट्न कर गर्दै 'आई विल क्याच यु लेटर' भनेको र साँझ सन्दीप आफ्नो होस्टल नजिकै आएर गाडीमा बस्न भनेको किशोरीको संक्षेप बयानमा उल्लेख छ। गाडीमा बस्दा कहाँ जाने आफूलाई थाहा नभएको र कोटेश्वर पुगेपछि सोध्दा पनि नबताएर नगरकोट पुर्याएको किशोरीको बयानमा उल्लेख छ।

'मलाई आऊ बस भनेपछि म गाडीको अगाडिको सिटमा बसे। उनले नाइस टु मिट यु भनेर साइडबाट अँगालोमा राखे। केही नभनी गाडी चलाउन थाले। मैले कहाँ जाने भनेर सोध्दा लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्रिबाटो हुँदै तीनकुनेबाट कोटेश्वरतर्फ लगे,' अभियोग पत्रमा समावेश किशोरीको संक्षेप बयानमा उल्लेख छ।

उनले आफ्नो मन्जुरी नै नलिई भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगेर नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा पूर्याएको र त्यो बेलामा अँध्यारो भइसकेको उल्लेख गरेकी छिन्।

रिसोर्टमा खाजा खाँदैगर्दा सन्दीपले ड्रिङ्क गर्ने भन्दै सोधेको तर खान्न भनेपछि खाजा मगाएको र नगरकोटमै राती बस्ने प्रस्ताव राखेपछि इन्कार गरेको संक्षेप बयानमा उल्लेख छ।

राती साढे ११ फर्किँदा होस्टल जान नमिलेपछि आफूले दुइटा कोठा बुक गर्न प्रस्ताव गरेको बयानमा उल्लेख छ।

अभियोग पत्रको संक्षिप्त बयानमा सन्दीपको दाबी 'एकै कोठामा बसे पनि म कुर्सीमै निदाए, बलात्कार गरेको छैन'

सन्दीपको बैङ्क ब्यालेन्स जम्मा ६५ हजार २ सय ९८ !

‘मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा सन्दीपले मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए’, उनको संक्षेप बयानमा उल्लेख छ।

बुक गरेको कोठामा आफू पहिले नै सुतेको युवतीको बयानमा उल्लेख छ। आफू सुत्दा सन्दीप सोफामै मोबाइल चलाएर बसेको र आफू निदाएकै बेला आएर बलात्कार गरेको बयानमा दाबी गरिएको छ।

उनको बयानमा सन्दीपले लुगा फुकालेर सुत भनेको तर लुगा नफुकालीकन पल्टिदा एक छिनमा निदाएको उल्लेख छ।

बयानमा १२ : २५ बजेतिर ब्युँझिँदा आफूले लगाएको पाइन्ट खोलेर जबरजस्ती करणी गरेर बाथरुमतिर गएर सुतेको दाबी छ।

'करिब एक घण्टापछि मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने। त्यसपछि मलाई  डर लागि रुँदै गर्दा मलाई चल्न नदिई पुनः दोस्रो पटक  जबरजस्ती करणी गरे,' अभियोग पत्रमा समावेश किशोरीको बयानमा छ' बिहान प्रतिवादीले मलाई आफ्नो सात बजे हायात प्लेसमा पिसिआर परीक्षण रहेकोले जानुपर्ने भनेर मलाई गाडीमा राखी मेरो होस्टल नजिकै छोडी फरार भए।'

१४ कात्तिक, २०७९, १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।