लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामै स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामै स्थापना गर्ने निर्णय

बुटवल : प्रदेश योजना आयोग लुम्बिनीका उपाध्यक्ष बामदेव क्षेत्रीले विश्वविद्यालयका लागि बाँकेको खजुरा अनुपयुक्त भन्दै अन्यत्र जग्गा खोजी गरेपछि विवादित बनेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्ततः बाँकेको खजुरामा नै स्थापना हुने भएको छ।

प्रदेश सरकार अन्तर्गत उच्च शिक्षा परिषद्को आज बसेको बैठकले बाँकेको खजुरामा नै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ।

परिषदका अध्यक्ष तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेश विश्वविद्यालय बाँके जिल्लाको खजुरामा स्थापना गर्ने निर्णयलाई निरन्तरता दिँदै सो प्रयोजनका लागि विनियोजित पाँच करोड बजेट कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ।

बैठकले विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने गरी विश्वविद्यालय ऐन,२०७८ को दफा १३ बमोजिम र विश्वविद्यालय नियमावली, २०७८ को नियम ३ को उपनियम (१) को अनुसूची २ बमोजिमको ढाँचामा विश्वविद्यालयको विधान तयारी गर्न शिक्षा, विज्ञान, युवा तथा खेलकूद मन्त्रालयलाई निर्देशन दिने समेत निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले उकेरालाई जानकारी दिए।

विश्वविद्यालयका लागि बाँके जिल्लाको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिने पनि बैठकले निर्णय गरेको मन्त्री शर्माले बताए।

शर्माका अनुसार विश्वविद्यालय ऐन, २०७८ को दफा ९ को उपदफा ९८० बमोजिम प्रदेश सरकार आफैंले विश्वविद्यालय स्थापना गर्न चाहेमा विश्वविद्यालय ऐन बमोजिम प्रक्रिया र पूर्वाधार पूरा गर्ने गरी विश्वविद्यालय स्थापना गर्न सक्ने प्रावधान रहेको उल्लेख गर्दै विश्वविद्यालय स्थापना र सञ्चालनका लागि विश्वविद्यालय ऐन, २०७८ र विश्वविद्यालय नियमावली, २०७८ बमोजिमको प्रक्रिया, आवश्यक न्यूनतम मापदण्ड तथा पूर्वाधार प्रदेश सरकारले पुरा गर्ने सुनिश्चतताका लागि प्रदेश सरकारमा अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ।

२१ चैत, २०७८, २१:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।