पौडी खेलाडी अनुशियाको गुनासो : मेडल ल्याइदिने औजार मात्र भए खेलाडी

पौडी खेलाडी अनुशियाको गुनासो : मेडल ल्याइदिने औजार मात्र भए खेलाडी

काठमाडौं : बिहान स्कुल, पढाइसँगसँगै स्कुलकै स्विमिङ पुलमा प्राक्टिस, घाम ढल्केपछि घर र त्यसपछि होमवर्क। यस्तै छ, पौडी खेलाडी अनुशिया तण्डुकारको दैनिकी।

१० कक्षामा अध्ययनरत अनुशियाले दुई कक्षा पढ्दादेखि नै पौडीको अभ्यास थालेकी हुन्। अहिले पौडीमा नै आफ्नो भविष्य देखेकी छिन् १५ वर्षीया अनुशियाले।

उनीसँग सपनाको चाङ छैनन्। तर केही गुनासा भने पक्कै छन्। पौडी संघले दैनिक अभ्यास गर्ने वातावरण नबनाइदिएकोमा चिन्तित अनुशिया। 

‘गौरिका दिदीहरुले विदेशमा, नक्सालको पुलमा प्राक्टिस गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘पौडी संघले हामीलाई कोरोनापछि प्राक्टिस गर्ने पुलसम्म दिन सकेको छैन।’

खेलाडी उत्पादन भएन भन्ने तर खेलाडीले खेल्न, सिक्न चाहँदा मतलब नगर्ने  प्रवृत्तिले अनुशियालाई पौडी संघसँग मन दुखेको छ।

आफ्नी छोरीको पौडीप्रतिको लगाब देखेर अनुशियाका बुबा भने दंग छन्।  भन्छन्, ‘नानीलाई वैकल्पिक सिपको रुपमा पौडी सिकाउन थालेको थिएँ। विस्तारै राम्रो गर्दै गइन्। अहिले त राष्ट्रको प्रतिनिधित्व गरेर देश-विदेशमा खेल्छिन्।’

छोरीलाई पौडी खेलाउनुको पछाडिको कारण भने कसैको स्पर्शमा आउनु नपर्ने खेल भएर पनि हो भन्छन् उनका बुबा।

पुतलीसडकका बासिन्दा अनुशियाका बुबा आफैं भने खेलाडी होइनन्। आफ्नो रुचि सामान्य भए पनि फलानो खेलाडीको बुबा भनेर मान्छेले चिन्दा गर्व लाग्ने उनी बताउँछन्।

अनुशिया पौडीमा राम्रो सम्भावना रहेको छ भन्नेमा विश्वस्त छिन्।  तर समस्या एकै ठाउँमा गएर अड्किन्छ। उनी भन्छिन्, ‘हामीसँग पौडीमा राम्रो सम्भावना छ। तर, त्यसो भनेर मात्र नहुने। काठमाडौंमै त प्राक्टिसको लागि पुल छैन भने गाउँ-गाउँमा कहिले पुग्नु। देशैभरिबाट कहिले खेलाडी निस्कनु।’

पौडी आफैंमा महँगो खेलभित्र पर्छ। देख्दा सामान्य लाग्ने पौडी खेलका पोशाक र सामग्री महँगा हुन्छन्। सबैको पहुँचमा आइहाल्दैनन्। त्यसैले पनि क्षमता भएका खेलाडीहरु आउन नसकिरहेको हो कि भन्ने अनुमान लाग्छ अनुशियालाई।

‘विदेशमा बसेर खेल्नेहरुले सबै सुविधा पाउँछन्। हाम्रोमा त सुविधा नै छैन,’ उनी भन्छिन्, ‘जाडोमा चिसोपानीमा अभ्यास गर्न धेरै गाह्रो हुन्छ। बिरामी नै परिन्छ। मन लागेको कुरा खान पाइँदैन। पानीमा धेरै खेलिरहँदा फिजिकल समस्या आउँछन्। न हेल्थ इन्स्योरेन्स नै छ।’

खेलाडीलाई राज्यले लागि मेडल ल्याइदिने औजार मात्र ठानेको जस्तो लाग्छ अनुशियालाई।

सात कक्षामा पढ्दा पहिलो नेसनल गेम खेलेकी अनुशियाले तीन वटा सिल्भर मेडल ल्याइन्। सम्भावना देखेर पौडी संघले उनलाई एक महिना तालिमको लागि जापान पठायो। भारतको बैंगलोरमा एसियन एजग्रुप च्याम्पियनसिप पनि खेलिन्। उत्कृष्ट प्रदर्शन गर्दै खेल कौशल देखाएकी अनुशियाले सन् २०१९ मा भएको साउथ एसियन गेम खेल्न पाइनन्। 

‘दुई महिना कतारमा बसेर ट्रेनिङ गरें। रिजल्ट पनि ठिकै आयो,’ उनले भनिन्।  

एसियन गेममा रिलेतर्फ अनुशियाले तीन वटा ब्रन्ज मेडल ल्याइन्। यो उनको अहिलेसम्मको ठूलो सफलतामध्येको एक हो।

एसियन गेमपछि उनले रेगुलर अभ्यास गर्न पाइनन्। कहिले कोरोनाका डरले त कहिले अभ्यास गर्ने ठाउँको अभावले।

‘मेरो स्कुल स्वस्ती श्री गुरुकुल हो। त्यहाँ पुलमा हिटर छ,’ उनले भनिन्, ‘अहिले त्यहीँ प्राक्टिस गर्छु। देशको लागि खेल्ने मान्छेलाई त खेल्ने ठाउँ दिनु नि। सजिलो हुन्थ्यो नि।’

एसइई नजिकिँदै गर्दा अनुशिया खेल र पढाइलाई सँगसँगै लैजान प्रयासरत छिन्। स्कुलले पनि उनलाई खेल्न प्रेरित गरिरहेको छ।

‘कोरोनाको कारण गेम खेल्न पाइएको थिएन। सन् २०२१ को डिसेम्बरमा भने बल्ल खेल्न पाएँ,’ उनी भन्छिन्, ‘फिना वर्ल्ड च्याम्पियनसिप खेलेर आएँ।’

अनुशियालाई राम्रो खेलाडी बन्न मिहिनेत गर्नुपर्छ भन्ने थाहा छ। त्यसैले उनी मिहनेत त गरिरहेकी तर प्राक्टिस गर्ने ठाउँ नहुदा चाहेजति गर्न नसिकएको उनको गुनासो छ।

‘गर्मीमा ठिकै छ। जाडोमा त तातो हुने पुल चाहियो नि। मेडल ल्याएको देख्छन्, मिहिनेत देख्दैनन्। सजिलो छैन नि पढ्न, खेल्न, समय मिलाउन,’ अनुशिया भन्छिन्, ‘देशका लागि खेल्ने खेलाडीलाई हौसला दिन नसक्नु त सरकारको कमजोरी हो नि।'

१ चैत, २०७८, १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।