पिसिआर रिपोर्ट नभई नेपाल प्रवेश गर्न नपाइने, डा. मरासिनी भन्छन्- खुला सीमा घाँटीमा झुण्ड्याइएको तरबार

पिसिआर रिपोर्ट नभई नेपाल प्रवेश गर्न नपाइने, डा. मरासिनी भन्छन्- खुला सीमा घाँटीमा झुण्ड्याइएको तरबार

काठमाडौं : दक्षिण अफ्रिका लगायतका देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि नेपालले पनि सजगता अपनाएको छ।

नेपाल प्रवेश गर्ने हवाई यात्रुले ४८ घन्टा भित्रको पिसिआर परीक्षण रिपोर्ट देखाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। पिरिआर रिपोर्ट नेगेटिभ नभए विदेशबाट नेपाल प्रवेश गर्नै नपाउने उनले बताए।

‘४८ घन्टा भित्रको पिसिआर रिपोर्ट नेगेटिभ नभएको मान्छे नेपाल प्रवेश गर्न पाउँदैन,’ उनले भने, ‘नेपाल प्रवेश मात्रै हैन, हवाई उडान नै गर्न पाउँदैन।’ 

त्यसैगरी कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पूर्ण मात्रा खोप लगाएको १५ दिन कटिसकेपछि प्रमाणपत्रको आधारमा हवाई यात्राबाट नेपाल आउन पाउने उनले जानकारी दिए। डा. अधिकारीले भने, ‘कोभिड-१९ विरुद्धको खोप पूर्ण मात्रा लगाएको १५ दिन कटिसकेपछि प्रमाणपत्र लिएको आधारमा आउन पाइन्छ।’

पिसिआर रिपोर्ट नेगेटिभ भएको व्यक्ति भने खोप नलगाए पनि नेपाल प्रवेश गर्न पाउने उनले बताए।

नेपाल प्रवेश गरेको व्यक्तिले पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ भए पनि कोभिड-१९ विरुद्धको खोप लगाएको छैन भने आफ्नै खर्चमा अनिवार्य रुपमा (होटल) क्वारेन्टाइनमा बसेर मात्र घर जानुपर्ने व्यवस्था भएको अधिकारीले जानकारी दिए। 

पिसिआर परीक्षण ‘नेगेटिभ’ र पूर्ण मात्रा खोप लगाएको व्यक्ति नेपाल आएर होम क्वारेन्टाइनमा बस्नुपर्ने अधिकारीले जानकारी दिए। त्यसको निगरानी गर्ने संयन्त्र बनाएको मन्त्रालयले जनाएको छ। 

स्थलगत मार्गबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि पनि यो मापदण्ड लागू हुने मन्त्रालयको भनाइ छ।

यसरी विदेशबाट आएका व्यक्ति क्वारेन्टाइनमा बस्दा लक्षण देखियो वा परीक्षण गर्दा संक्रमण देखिएको खण्डमा जिन सिक्वेन्सिङ गर्ने काम चुस्त गरिएको समेत अधिकारीको दावी छ। 

सहप्रवक्ता डा. अधिकारीले नाकाहरुका हेल्थ डेस्कमा कडाइ तथा व्यवस्थित गरिएको समेत दावी गरे। यसअघि पनि नाकाहरुमा हेलचेक्र्याइँ गर्दा नेपालमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएको थियो। पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमणका कारण बढी मानवीय क्षति भएको थियो। खुला सिमानाका कारण नेपाल भारतबीच सहज आवतजावत हुँदा संक्रमणको बढी जोखिम भएको थियो।

खुला बोर्डर घाँटीमा झुन्ड्याएको तरबार
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी स्थलमार्गबाट नेपाल प्रवेश हुने (अन्तर्राष्ट्रिय) पैदल मार्ग (ग्राउण्ड क्रसिङ) लाई घाँटीमा झुण्ड्याएको तरबारका रुपमा चित्रित गर्छन्। ‘संक्रामक रोगको हिसाबले स्थलमार्ग नेपाल सरकार र नेपाली जनताका लागि तरबार जस्तै छ,’ उनले भने, ‘घाँटीमा झुण्ड्याएको तरबार हो। कुनै पनि बेला काट्न सक्छ।’

हेलचेक्र्याइँ गरे जुनसुकै बेला ठूलो महामारीको सामना गर्नुपर्ने अवस्था निम्तनेतर्फ डा. मरासिनी सजग गराउँछन्।

स्थलमार्गको तुलनामा केही हदसम्म हवाई मार्ग व्यवस्थित भएको समेत डा. मरासिनीले बताए। उनले भने, ‘हवाई मार्गको चाहिँ थोरै व्यवस्थित हुन खोज्दै छ।’

नेपाल प्रवेश गर्ने स्थलगत नाकाहरुको अवस्था कमजोर भएकाले नेपालमा संक्रामक रोग भित्रिने जोखिम उच्च भएकाले सजगता अपनाउने उनको सुझाव छ। विशेषगरी भारतबाट नेपाल प्रवेश हुने नाकाहरुमा सरकारले बेवास्ता गरेको उनको तर्क छ। डा. मरासिनीले भने, ‘कमसेकम अलिअलि त सुधार गर्नु नि।’

‘हेल्थ डेस्क’को हैसियत समेत नहुने भएकाले ‘बोर्डर हेल्थ अथोरिटी’ राख्नुपर्ने सुझाव दिन्छन् डा. मरासिनी। उनी भन्छन्, ‘सानो विभाग अथवा महाशाखा गठन गरेर बोर्डरको हेल्थ विभाग जस्तै खडा गर्नुपर्छ।’ 

उच्च सतर्कता आवश्यक
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले अहिलेसम्म नेपालमा ‘ओमिक्रोन भेरियन्ट’ पुष्टि भने नभएको जानकारी दिए। तर देखिने सम्भावना भने उच्च रहेको उनी बताउँछन्। भन्छन्, ‘अहिलेसम्म यो (ओमिक्रोन) भेरियन्ट पुष्टि भएको अवस्था छैन। तर सम्भावना उच्च छ भन्ने बुझ्नुपर्ने हुन्छ।’

भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने स्वभाविक प्रक्रिया भएकाले सजक रहनुपर्ने चिकित्सकको सुझाव छ।  डा. अधिकारीले भने, ‘भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने कुरा थाहा छ। बुझेका पनि छौं।’

नेपालमा कोरोना भाइरस संक्रमित पुष्टि हुनेको संख्या कम भए पनि जोखिम भने कम नभएको सहप्रवक्ता अधिकारी बताउँछन्। त्यसैले सावधानी अपनाउनुपर्ने उनको सुझाव छ। 

उनले तीव्र गतिको विश्वव्यापीकरण भएकाले आज कुनै महादेशका व्यक्तिमा भएको संक्रमण केही दिनमा नै धेरै महादेश पार गरेर टाढा पुग्नेसक्ने तर्क गरे। 

‘अहिलेको परिवर्तित (ओमेक्रोन)भाइरस पनि मान्छेको शरीर भित्रबाट फैलने हो,’ डा. अधिकारीले भने, ‘मान्छेले लिएर जाने हो। एक ठाउँबाट अर्को ठाउँमा तीव्र गतिमा फैलने सम्भावना छ।’

डा. अधिकारीले केही दिन अघिमात्रै दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन भाइरस २/३ दिनमा नै धेरै वटा देशमा पुष्टि भएको अवस्था सुनाए।

भाइरस संक्रमणलाई मध्येनजर गर्दै स्वास्थ्य मन्त्रालयले गर्ने काम तथा अपनाउने सावधानी शुक्रबारदेखि नै तीव्र गतिमा काम अगाडि बढाएको मन्त्रालयको भनाइ छ। 

ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सककको सुझाव छ। त्यसैगरी कोभिड-१९ विरुद्धको खोप लगाउन पनि सहप्रवक्ता डा. अधिकारीले सुझाव दिएका छन्। 

जुनै भेरियन्टको कोरोना भाइरस भए पनि कोरोना विरुद्धको खोप लगाएका व्यक्ति संक्रमित भइहालेको खण्डमा समेत स्वास्थ्य अवस्था जटिल हुने र मृत्युसम्मको जोखिमबाट धेरै हदसम्म बच्न सकिने चिकित्सक बताउँछन्। 

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टबाट सजगता अपनाउनुपर्ने  सुझाव दिन्छन्।

विश्व स्वास्थ्य संगठनले नोभेम्बर २६ मा कोरोनाको ओमिक्रोन भेरियन्टलाई ‘बी.१.१.५२९’ ‘भेरियन्ट अफ कन्सर्न’ का रुपमा परिभाषित गरेको छ। डा. पुन छिटो फैलने, पहिलेको तुलनामा कडा लक्षण देखिने लगायतको अवस्थामा भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’का रुपमा परिभाषित गरिने बताउँछन्। उनी भन्छन्, ‘भाइरसको एकभन्दा बढी अवस्था देखियो भने भेरियन्ट अफ कन्सर्नका रुपमा परिभाषित गरिन्छ।’

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भेरियन्ट २४ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनमा रिपोर्ट भएको थियो। विश्व स्वास्थ्य संगठनले विशेषगरी दक्षिण-पूर्वी एसियाली मुलुक बढी सजग हुनुपर्ने पनि सुझाव दिएको छ। 

ओमिक्रोन भेरियन्टका विषयमा धेरै अध्ययन तथा विश्लेषण हुन बाँकी नै रहेको डा. पुन बताउँछन्। उनी भन्छन्, ‘यो भेरियन्ट कत्तिको कडा हो भन्ने अध्ययनकै विषय छ।’

१३ मंसिर, २०७८, १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।