बाबुले अमेरिकाको ग्रिन कार्ड त्यागेर गाई पाल्न थाले, बेलायतमा डिग्री पढेको छोरो फर्किएर व्यवसाय सम्हाले

बाबुले अमेरिकाको ग्रिन कार्ड त्यागेर गाई पाल्न थाले, बेलायतमा डिग्री पढेको छोरो फर्किएर व्यवसाय सम्हाले

विदुरको बाल्यकाल रुपन्देहीमै बित्यो। नर्सरी देखि १०  कक्षासम्म तिलोत्तमा सिद्धार्थ बोर्डिङमा पढेका उनले प्लस टु न्यु होराईजनबाट गरे। त्यसपछि थप शिक्षाका लागि उनी बेलायत गए।

नेपालमै रहँदा र बेलायतबाट बिदामा कहिलेकाहीँ नेपाल आउँदा बुवा पशुपालनमा रमाएको देख्दा उनलाई पनि रमाइलो लाग्थ्यो।

उनको बुबाले स्थायी शिक्षकबाट राजीनामा दिए। अमेरिकामा स्थायी बसोबासमा लागि पाएको ग्रिन कार्ड छाडेर उनी नेपालमा बसेका थिए। बुबाको कामले उनको मन छोयो। पहिला बेलायतमै सङ्घर्ष गर्छु भनेर गएका थिए उनी। तर मन मानेन। बुवाले गरेकै पशुपालनलाई अगाडि बढाउँछु भन्दै उनी नेपाल फर्किए।

अनि विदुरले बुवाले तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलीगढमा सञ्चालन गरेको लुम्बिनी एग्रो प्रडक्ट एन्ड रिसर्च प्राविको जिम्मेवारी सम्हाले। भर्खर २७ वर्षमा अर्बको बिजनेस समालेका विदुर पशुपालनको अलावा दुग्धजन्य उत्पादनलाई ब्राण्डिङ गरेर बजारमा लैजाने योजनामा छन्।

‘स्कुले जीवनदेखि बुवाको कर्म देखे। त्यस पछि बेलायत पढे पनि नेपालमै पशुपालनमा सम्भव छ भन्ने लागेर अहिले बिजनेस सम्हालेको छु,’ उनले भने।

अब विदुर छिट्टै दुग्धजन्य पदार्थलाई ब्राण्डिङ गरेर बजारमा ल्याउने तयारीमा छन्। ‘सुरुमा दूधलाई प्याकेजिङ गर्छौ, त्यसपछि ध्यू, पनिर, मिठाई लगाएका दर्जन भन्दा बढी बस्तु उत्पादन गरी बुटवल भैरहवा क्षेत्रमा ५ वटा आउटलेट तयारी गरेर २ महिनाभित्र लन्च गर्दै छौ,’ उनले भने।

त्योसँगै पशुका लागि आवश्यक दाना उद्योग पनि सञ्चालन गर्ने उनको योजना छ। डेरी प्रडक्ट लन्चपछि माछा, कुखुरा, गाई पालनका लागि आवश्यक दाना उद्योग सञ्चालनको तयारी गर्ने उनले बताए।

सन् २००१ सेप्टेम्बर १९ गते ५ बर्षे मल्टिपल भिजा लागेर अमेरिका गएका विदुरका बुवा शशी त्यहाँको ग्रिन कार्ड त्यागेर नेपालमा आएर पशुपालन सुरु गरेका हुन्। त्यस भन्दा पहिले उनी ०४३ सालबाटै शिक्षक पेसा अङ्गाले। ०५० सालमा स्थायी शिक्षकमा नाम निकाले।

९ वर्ष पढाएर उनले शिक्षकबाट राजीनामा दिए।

‘बुवाको सानोमा बिजनेस सपना थियो । त्यो पुरा गर्नुभयो। मैले पनि बिजनेस सपना देखे । नयाँ गर्नुभन्दा बुवाकै सपनालाई साकार बनाउने गरी यो व्यवसाय समाल्ने निर्णय गरेको हुँ,’ विदुरले भने।

विदुरलाई बेलायतबाट अध्ययन गरेर आएपछि धेरैले अन्य व्यवसाय गर्न सुझाए। आफन्त, साथीभाइ सबैले नयाँ सोचका साथ अरू व्यवसाय गर, गाईको गोवर सोहर्न नलाग भनेर पनि कतिले भने।

‘बुवाले चलाउनुभएकै छ, अरू गर भनेर धेरैले भने। तर मैले बुवाकै व्यवसाय समालेर नयाँ तरिकाबाट पशुपालन सँगै त्यहाँबाट उत्पादित दूधका प्रडक्ट बनाउने योजना बनाएको छु,’ उनले उकेरासँग भने।

शशी पौडेल पनि अहिले आफ्नो व्यापार व्यवसाय छोराको काँधमा पुगेकोमा खुसी छन्।

‘०६५ सालमा पशुपालन गर्ने सोचले संरचना निर्माण गरे। २ वर्षमा संरचना निर्माण भएपछि ०६७ वैशाख १ गते देखि व्यावसायिक गाई पालन सुरु गरे। अहिले १० वर्ष पुरा गरेपछि छोराले साथ दिन आएको छ। खुसी नहुने कुरै छैन,’ उनले भने।

पौडेलले पशुपालन गरेको यो १० वर्षको अवधिमा साना ठुला गरी दर्शन बढी पुरस्कार र सम्मान पाएका छन्। विश्व खाद्य सङ्गठनदेखि, नार्क र विभिन्न अन्तर्राष्ट्रिय सम्मान उनले पाए। पूर्व डा. रामवरण यादवबाट विकास रत्न विभूषणबाट विभूषित भएका उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री विभूषणबाट विभूषित भइसकेका छन्। लुम्बिनी प्रदेशले प्रदेश रत्न पदक बाट उनलाई सम्मान गरेको छ।

शशीको बाल्यकाल

विस. २०२४ असोज १ मा पर्वतको साबिक कुर्घा गाविस वडा नं. ७ मा जन्मिएका शशी यस क्षेत्रका सफल पशुपालन कृषक हुन। अहिले जेठो छोरा विदुरले फर्म हेरे पनि उनको नाम नलिई फर्म अपुरो जस्तै हुन्छ। पौडेलको बाल्यकाल पर्वतमै बित्यो। उनले कक्षा ७ सम्म सरस्वती निम्न माध्यमिक विद्यालयमा पढे। त्यसपछि कक्षा ८ देखि १० सम्म महेन्द्र ज्योति माध्यमिक विद्यालय पढे।

०४२ मा एसएलसी दिएर पढ्न शङ्कर नगर झरेका शशी कृषक बने। व्यापार गर्न मन पराउने उनी एसएलसी दिएपछि शङ्कर नगरमा बुवाले किनेको घरमा दाजु-भाइसँग बस्न थाले। पढ्ने र पढाउने उनको दैनिकी बन्यो। त्यही क्रममा उनी सरकारी जागिर खाए। राजीनामा दिए। अमेरिका गए। त्यहाँको ग्रिन कार्ड त्याग गरे। अनि नेपालमै मालिक बने।

फर्ममै बायो ग्यास

उनको फर्मले आफै दैनिक १५ सय घन मिटर बायो ग्यास निकालिएको छ। विदुर भन्छन्‘बायो ग्याँसबाट आफूलाई चाहिने बिजुली निकाल्ने, ग्यासलाई बोटलिङ गर्न पुगेको छ।’ करिब १० करोडको लागतमा निर्माण भएको बायो ग्यास अझै बढाउने उनले बताए।

फर्मको अवस्था

शशीले विदेशबाट र केही नेपालकै गरेर सुरुमा ३ सय ५० गाई पालन गर्न सुरु गरेका थिए। सुरुमा २५ करोड लगानी गरिसकेका पौडेलले अहिले लगानी बढाएका छन्। अहिले फर्ममा ३ अर्ब लगानी भइसकेको छ। फर्ममा हाल ठुला साना गरी ५ सय गाई छन्। त्यस मध्ये २ सय दुहुना मात्र गाई छन्।

‘अहिले दैनिक २ हजार लिटर बजारमा गएको छ। बुटवल, भैरहवा र सहकारीलाई दूध बिक्री हुन्छ,’ उनले भने ।

फर्मबाट मासिक अहिले २५ लाख बढिको कारोबार हुने गरेको छ। त्यसबाट ७ देखि १० लाख सम्म बचत हुने विदुर बताउँछन्।

९ कात्तिक, २०७८, १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।