सङ्केतले जीवन चलाइरहेकी बेलमाया

सङ्केतले जीवन चलाइरहेकी बेलमाया

बुटवल : रुपन्देही सैनामैना नगरपालिका ३ गंगानगरमै रहेको एउटा टिनले छाएको घरमा सदस्यहरू एक अर्कासँग नबोली संवाद गर्छन्। उनीहरूबिचको संवादको आधार इसारा मात्रै हो।

त्यो टिनले छाएको घर बेलमाया बस्नेतको हो। दसैँमा उनको परिवार पनि जम्मा भएका छन्। लकडाउनपछि घर भन्दा टाढा गएकाहरू घर फर्कदैछन्। 

बेलमायालाई १५ जनाको परिवारलाई पालनपोषणको जिम्मा छ। बेलमाया बाहेक घरमा भएका सबैले कान सुन्दैनन्। साङ्केतिक भाषाबाटै उनीहरूको दैनिकी चल्छ। 

बेलमायाका श्रीमान्, छोरा, बुहारी, नातिनातिना गरेर १५ जनाको परिवार छ। उनैको भरमा दैनिकी चलेको छ। बेलमाया पनि ५५ बर्ष भइसकेकी छिन्। उमेर बुढ्यौली हुँदै गएपछि उनी अहिले मजदुरी गर्न सक्दिनन्। छोराहरूले कमाएको उनीहरूलाई नै ठिक्क हुन्छ। जसोतसो बेलमायाले घर खर्च भने चलाइरहेकी छिन्।

बागलुङको हुदिसिर काफल ठुटादेखि बेलमायाको परिवार सैनामैनामा बसाइँ आएको हो। बेलमायाका श्रीमान् कर्णबहादुर २० वर्षदेखि पक्षाघात (प्यारालाइसिस) ले थलिएका छन्। छोरा, बुहारी, नातिनातिना मात्र होइन श्रीमान्को रेखदेखमा पनि बेलमायालाई फुर्सद छैन। प्यारालाइसिस भएकै कारण श्रीमान् पनि बोल्न सक्दैनन्। उपचारका लागि ३ लाख रुपैयाँ सकिए पनि निको नभएपछि अहिले श्रीमान् कर्ण बहादुर घरमै छन्। 

बेलमायाका ५ छोराहरू हुन। ४ छोरा कान सुन्दैनन्। बोल्न सक्ने र सपाङ्ग कान्छा छोरा विकासको भने ४ वर्ष अघि नै मृत्यु भयो। वैदेशिक रोजगारमा जानका लागि तयार भएका उनी मोटरसाइकल दुर्घटनामा परेर बितेको बेलमाया बताउँछिन् । 

बेलमायाको परिवारमा श्रीमान्, चार छोरा र चार बुहारी अनि नाति नातिनी छन्। श्रीमान्, छोरा बुहारी गरी ९ जनाको श्रवण शक्ति छैन। नातिनातिना सानै छन्। सडक नजिकको ब्लकको घरमा सङ्केतले कुरा गर्ने गरेको देखेपछि धेरै जनाको आँखा बेलमायाको घर तर्फ तेर्सिन्छ। 

ठुलो परिवारमा सबै साङ्केतिक भाषाको माध्यमबाट मात्र बोल्ने गरेकाले घरमा पुग्ने जो कसैलाई पनि आफ्ना पिडा र वेदना सुनाउन बेलमाया अघि सर्छिन्।

भएका चार छोरा पनि जन्मबाटै नै बोल्न सक्दैनन्। उनीहरू साङ्केतिक भाषाबाट कुरा गर्छन्। छोराहरूको बिहे भइसकेको छ। बुहारीहरू पनि साङ्केतिक भाषाबाट मात्र बोल्न गर्दछन्। 

उता जेठा छोरा चेत बहादुरले घरमा नै भैँसी पालेका छन्। उनले भैँसी सहकारीबाट ऋण काढेर पाल्न थालेका हुन। चेत बहादुरकी श्रीमती हरिकलाको कपडा सिलाउने सिप भए पनि डिजाइन बारे नबुझ्ने हुँदा रोजगार पाउन सकेकी छैनन्। 

माहिला छोरा शेरबहादुर काम खोज्नको लागि काठमाण्डौं गए पनि मुस्किलले आफ्नो ज्यान पालेका छन्। साइँला छोरा दानबहादुर र काइँला छोरा तेजबहादुरले कक्षा १२ सम्म पढेका छन्। पढेको भए पनि कान नसुन्नुहुँदा रोजगार दिन धेरै आनाकानी गर्ने गरेको अनुभव तेज बहादुरको छ। 

‘वेटरको तालिम समेत मैले लिएको छु। केही समय बुटवलमा काम पनि पाए तर सञ्चालक परिवर्तन पछि जागिर गुम्यो। कान नसुनेकै कारण अप्ठ्यारो भएको भन्दै मलाई जागिर दिएनन्,’ उनले भने। 

२१ वर्षका तेजले पनि कान सुन्दैनन्। तेज बहादुर श्रीमती सोनालाई सिलाई कटाइमा लगाउने इच्छा रहेको बताउँछन्।

सैनामैना नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रत्नबहादुर पौडेलले बेलमायाको परिवार समस्यामा रहेको अवस्थामा नगरपालिकाले सहयोग गरेको बताए।

२९ असोज, २०७८, १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।