५ दशक देखी फलाम पिटिरहेका ७० वर्षीय जोगेलाई छुँदैन दसैँको रमझमले

५ दशक देखी फलाम पिटिरहेका ७० वर्षीय जोगेलाई छुँदैन दसैँको रमझमले

उमेरले ७० कटे पनि उनी फलाम पिटेरै (फलामका औजारहरू बनाएर) आफ्नो परिवारको गुजारा गरिरहेका छन्। उनले यो पेसा अंगाँलेको ५ दशक बितिसकेको छ। त्यो भन्दा पहिले उनको परिवारले खलो मागेर गुजारा चलाइरहेको थियो।

मागेर खानुभन्दा बेस लागेर उनले फलाम पिट्ने पेसा अँगाले। उमेरमा बल हुँदा त यहीँ व्यवसायबाट उनले घर खर्च चलाएर केही रकम बचाउँथे पनि तर अचेल त उनलाई छाक टार्नै समस्या भइरहेको छ।

‘७० वर्षको भइसके यहीँ भाडा पिटेरै खान्छु, अरू काम गर्न सक्दिन। यहीँ काम गरेर बूढाबूढीलाई चारो भइरहेको छ, झुप्रोमा फलाम पिट्दै गरेका जोगेले भने,‘दसैँ आइसक्यो,तिहार आउँदै छ,कमाई जमाइ केही छैन,कसरी गुजारा चलाउने होला? छोराहरूले पनि हेर्दैनन्,यस्तै छ जिन्दगी अहिलेसम्म। कसैले बुढो मान्छे भनेर सहयोग पनि गरेका छैनन्, सकुन्जेलसम्म काम गरेर खान्छु,बाँकी जे होला।’

जोगेका ५ जना छोराहरू छन्। तर उनीहरूले कर्तव्य ननिभाउँदा जोगे हात मुख जोड्न ७० वर्षको वृद्ध उमेरमा पनि पसीना बगाइरहेका छन्।

फलाम पिट्ने व्यवसायमा जोगेलाई उनकी श्रीमती बिर्मा कामीले पनि सहयोग गर्दै आइरहेकी छिन्।

फलाम पिट्न एक्लै सम्भव  हुँदैन।जोगे फलाम पिटेर नयाँ औजार बनाउँछन् भने उनकी श्रीमती बिर्माले आरा चलाउने, कोइला हाल्ने निकाल्ने, र फलाम तताउने काम गर्छिन्।

‘दसैँको गुजारा चलाउन आरा चलाइरहेकी बर्मा भन्छिन्,‘दसैँ आयो के खाने के लगाउने, छोराहरू छुट्टिएर गएका छन्। आफ्नो बनाउँछन् खान्छन्। हामी पनि आफ्नो गुजारा चलाउन मरिमेटेका छौँ। छोराहरूले हेर्दैनन् पनि के भन्नु मजदुरी गर्छन्। दिनको पाँच सय रुपियाँले क–कस्लाई हेरुन् श्रीमती,छोरा–छोरी छन्।

‘आरन पेसा उसै पनि आगोको राप सँग खेल्नु पर्ने,पुरानो एयरपोर्ट छेउमा रहेको उनको झुप्रोमा पङ्खाको त के कल्पना गर्नु उनलाई खान बस्नै समस्या छ।

आगोको राफले झरिरहेका तप–तप् पसिना पुछ्दै’,जोगेले भने,’ग्राहक नै आउँदैनन्। दिनभरि कुरेर बसी रहन्छौँ। कहिलेकाहीँ त ग्राहक नहुँदा साँझ बिहानकै छाक टार्न समस्या हुन्छ। जसो त्यसो गाँस र बास त भइरहेको छ,न हामीले बचत गर्न सकेका छौँ नत चाडपर्वमा मिठो मसिनो खान नै सकेका छैनौँ। हाम्रा लागी चाडपर्व त न नआइदिए हुन्थ्यो।’

‘धान काट्न नयाँ हँसिया बनाउन जोगेको झुप्रोमा पुगेका धनगढी जाइका नवीन धामीले भने,‘हामी बनाउने ठाउँको खोजीमा उहाँहरू ग्राहकको पर्खाइमा हुनुहुदौँ रहेछ,प्रविधिले अहिले त फलाम पनि मेसिनबाट पिट्छन्,उहाँहरूको त पेसा नै सङ्कटमा परी सक्यो।’

फलाम पिट्ने उनीहरूका सपना धेरै ठुला छैनन्,मात्र छाक टार्न र आनन्दले सुत्न सक्ने अवस्था भए पुग्छ। तर उनीहरूले त्यो पनि गर्न निकै धौ–धौ छ।

लामो समयदेखि आरन पेसा अपनाएका कामी दम्पतीले जीवन निर्वाह बाहेक केही गर्न सकेका छैनन्।

२८ असोज, २०७८, १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।