मोतीपुरको कर्फ्यु हट्दै, निषेधाज्ञा कायम

मोतीपुरको कर्फ्यु हट्दै, निषेधाज्ञा कायम

बुटवल : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यु आज राति १२ बजे देखी हटाउने जनाएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै असोज २४ गते दिउँसो ४ बजे देखी लगाइएको कर्फ्यु रातीको १२ पछि हटाइने जनाएका छन्।

बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक कोरिडोर क्षेत्रमा जग्गा अतिक्रमण गरी टहरा बनाउन खोजेपछि झडप भएको थियो।

झडपमा चार जनाको ज्यान गएको थियो। ४० बढी घाइते भएका थिए। अवस्था नियन्त्रण भन्दा बाहिर जाने र सर्वसाधारणको शान्ति सुरक्षामा समेत जोखिम पर्ने देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो।

प्रजिअ तिवारीद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को अधिकार प्रयोग गरी असोज २४ गते ४ बजे देखी लागु हुने गरी जारी गरिएको कर्फ्यु आदेश आज १२ देखी हटाइएको भनिएको छ।

कर्फ्यु हटाए पनि भदौ २८ गते देखी नै कायम गरिएको निषेधाज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ।

२६ असोज, २०७८, १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।