एंकर न्युज

गरिबको दशैं : खै काम गरेको तलब समयमै पाउँछन् कि पाउँदैनन् !

जीवन विष्ट


धनगढी : ‘दशैं आयो, खाउँला पिउँला। मासु भात खाउँला, पैसा छैन, कहाँबाट खाउँला?’ आफ्नै शैलीमा दशैंको गीत गाइरहेका थिए, ११ वर्षीय विवेक सुनार। 

आँगनमा उनी गुनगुनाइरहेका थिए भने उनको घरको भित्तामा रहेको रेडियोमा ‘फेरि आयो दशैं र तिहार तिमी कहिले आउँछौ त पियारा’ बोलको गीत बजिरहेको थियो। पिँढीमा बसेकी उनकी आमा सीता सुनार गालामा हात राखेर एकोहोरो भएर सुनिरहेकी थिइन्। 

‘दशैं तिहार आइसक्यो म त मन बुझाउन सक्छु तर छोराछोरीलाई के भनेर फकाउँ, कति दिन भुलाऊ निकै गाह्रो भइरहेको छ,’ रेडियोको आवाज सानो पार्दै सीताले भनिन्, ‘विवेकको बुवा मजदूरी गरी दशैं–तिहारको खर्च जुटाउन भनेर भारत गएका छन्। सुरुमा काम नै पाएनन्। अहिले काम गरेको तलब पाइरहेका छैनन्। दशैंका लागि आउँछु त भन्छन्। खै काम गरेको तलब समयमै पाउँछन् कि पाउँदैनन्।’

दशैंको दोस्रो दिन धनगढी उपमहानगरपालिकाभित्रको पुरानो एयरपोर्ट शिविर सुनसान थियो। यहाँ भूमिहीन सुकुम्बासी ११ परिवार आश्रित छन्। 

शिविरमा रहेका टहराको आँगनमा बालबालिका खेल्दै थिए। खेल्दै गरेकी नातिनीलाई खाना खुवाउन बाहिर निस्किन ६५ वर्षीया झुमा टमट्टा। 

‘आँगन छेउबाट मैले सोधें, ‘दशैं आयो है आमा।’ उनले भावुक हुँदै भनिन्,  ‘अँ दशैं त आयो बाबु तर हाम्रा लागि दशा लिएर। हामीलाई रुवाउन मात्र आउँछ यो पापी दशैं। पल्लो टोलबाट दुई किलो चामल दिएका थिए, हिजो र आजको छाक त टर्‍यो तर भोलि के खुवाउने? एक छाक खाना पनि पेटभरि पाएका छैनौँ। हाम्रा लागि के दशैं आउनु बाबु।’

श्रीमान् बितेको वर्षौं भयो। दुई छोरा थिए तिनलाई पनि गुमाइन्। छोराहरूको याद धेरै आउँछ उनलाई। आमा भनेको झैँ लाग्छ बेला–बेला। गहभरि आँसु पार्दै उनले भनिन्, ‘म बुढी भइहालें मजदूरी गर्न सक्दिनँ। खानलाउनै समस्या छ। बुहारी कमाउन भारत गएकी थिइन्। काम नै पाएकी छैनन्। घर फर्क भनेको छु।’

हरि राम, हरि लक्ष्मण, हरि सीता!
वन मरी सीता, घर मरे पिता।
दुःख पोख्दा–पोख्दै उनले आफ्नो मौलिक गीत पनि सुनाइन्। ‘शरीरमा लुगा छैन। खानाको टुङ्गो छैन। तिहार आयो, तिहार आयो भन्छन्, हाम्रो दुःख हामीसँगै छ। रातदिन रोएरै बित्छ। भगवानले जन्म त दियो तर कर्म दिएनन्,’ उनी दुःख पोख्छिन्।

‘धन्न हो मोटर ठाडी गाडी मात्रै चल्ने!
भन्न नसकेर मैले भित्रै मुटु जल्ने।
जिन्दगी दुःखैमा गयो, जन्म दिया भगवान् कर्म त दिएनौँ।
रुना रुनु दिन रुनु, रुनैमा जिन्दगी गयो।’ 

आफ्नै मौलिक भाका सुनाउँदै उनले भनिन्, ‘हाम्रा लागि यो पापी चाडपर्व नआएकै जाती। मन भक्कानिन्छ। यस्तै रहेछ हाम्रो भाग्य।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बाबुले अमेरिकाको ग्रिन कार्ड त्यागेर गाई पाल्न थाले, बेलायतमा डिग्री पढेको छोरो फर्किएर व्यवसाय सम्हाले

विदुरको बाल्यकाल रुपन्देहीमै बित्यो। नर्सरी देखि १०  कक्षासम्म तिलोत्तमा सिद्धार्थ बोर्डिङमा पढेका उनले प्लस टु न्यु होराईजनबाट गरे। त्यसपछि थप शिक्षाका लागि उनी बेलायत गए।....

गाँजा खेती खुला गर्ने विधेयक: स्वास्थ्यमन्त्री खतिवडा भन्छन्, 'उहिलेका माग खुइलिए'

गैर सरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकको समर्थनमै छन् तामाङ। उनले पार्टीको अधिवेशनमा व्यस्त हुनु परेकाले हाल यो....

सदस्यता माग्दै ९५ दिनदेखि काँग्रेस कार्यालयमा अनशनमा छन् पूर्व राज्यमन्त्री, तर भएन सुनुवाई

नेपाली काँग्रेसको टिकटबाट ०४८ मा रौतहट क्षेत्र नम्बर–१ बाट सांसद निर्वाचित भए। ०५१ मा पनि सोही क्षेत्रबाट सांसद बनेका उनी ०५४ मा स्वास्थ्य राज्य मन्त्री....

बेमौसमी बाढीले संक्रामक रोग फैलाउने जोखिम

बाढी-पहिरोजन्य समस्याका कारण सामान्यतः पानीजन्य, कीटजन्य र हावाजन्य गरी तीन प्रकारका संक्रामक रोगको जोखिम हुने चिकित्सक बताउँछन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले....

भाइरल हजुरआमा: जसले ४९ वर्षको उमेरमा पूरा गरिन् गायिका बन्ने सपना

किन लुकीछिपी? उनी भन्छिन्- 'त्यसबेला गीत गाउने नाच्ने काम सानो जातिले मात्रै गर्छन् भन्ने मान्यता थियो।'  चन्द्रा परिन् ब्राह्मणकी छोरी। उनलाई नाच्न गाउन नपाउँदा निकै....