ओली सरकारको नियुक्तिविरुद्ध आक्रामक देउवा सरकार

ओली सरकारको नियुक्तिविरुद्ध आक्रामक देउवा सरकार

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्तिविरुद्ध प्रधानमन्त्री शेरबहादुर देउवा आक्रामक देखिएका छन्। सरकार बदलिएसँगै ओली नेतृत्वको सरकारले नियुक्त गरिएकालाई सरुवा गर्न र संरचना नै खारेज गर्न सरकार सक्रिय देखिएको छ।

यसबीचमा राजनीतिक नियुक्ति पाएकाले राजीनामा दिइसकेका छन्। तर, अधिकांश पदमै कायम छन्। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको गृहकार्य सुरु हुँदा नै ओली नेतृत्वको सरकारले नियुक्ति गरेकाको नियुक्ति खारेज गर्ने गठबन्धन दलबीच सहमति भएको थियो।

सहमति अनुसार सरकारले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रशासकीय प्रमुख रहेका डा. जागेश्वर गौतमको सरुवा गरेर उनको स्थानमा भूपेन्द्र बस्नेतलाई कायममुकायम नियुक्त गर्यो। मंगलबारै सरकारले देवी ज्ञवालीको नेतृत्वमा रहेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्यो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हटाउने रणनीति अनुसार नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई पदीय मर्यादा विपरीतको गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

ऊर्जामन्त्री पम्फा भुसालले नेपाल विद्धुत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन निर्देशन दिइसकेकी छन्। कुलमान घिसिङलाई नियुक्तिको लागि शाक्यलाई राजीनामा दिन भनिए पनि उनले राजीनामा दिइसकेका छैनन्।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त भइसके। महान्यायाधिवक्ता खम्बबहादुर खाती नियुक्त भए। यो बीचमा लुम्बिनी र गण्डकीको प्रदेश प्रमुखसमेत फेरिइसके। गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन नियुक्त भइसके।

गोरखापत्र संस्थानमा नियुक्त कृष्ण मुरारी भण्डारी र गोपाल खनालले राजीनामा दिए पनि अझै ओली नेतृत्वको सरकारले नियुक्त गरेका हजार बराबरका सदस्यहरू भने विभिन्न पदमै छन्। गठबन्धनले ओली कामचलाउ सरकारको प्रमुख बनेपछिका दिनमा नियुक्त गरिएका सबैलाई हटाउने नीति लिए पनि कानुनी अड्चन भने कायमै छन्।

राजनीतिक नियुक्ति भए पनि अधिकांश पदको नियुक्ति निश्चित अवधि तोकिएकाले सरकारले जबर्जस्ती हटाएमा अदालत जाने बाटो खुलै रहन्छ। यस्ता अधिकांश मुद्दामा हटाइएका पुन: सोही पदमा फर्कने गरेकासमेत छन्।

१९ साउन, २०७८, १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।