पहुँचवालालाई सेटिङमा खोप, स्थानीय जनप्रतिनिधिलाई नेताको दबाब

पहुँचवालालाई सेटिङमा खोप, स्थानीय जनप्रतिनिधिलाई नेताको दबाब
बुधबार वडा नम्बर ३० को खोप केन्द्रमा खोप लगाउँदै उमेर समूह बाहिरका एक ब्यक्ती। तस्बिर : कृष्पा श्रेष्ठ

लक्षित उमेर समूह बाहेक राजनीतिक दलका नेताहरूका आफन्त र आसेपासेलाई सेटिङमा खोप लगाउँदा लक्षित समूहलाई खोप पुगेन।

स्थानीय जनप्रतिनिधिहरू खोप मिलाइदिनुपर्यो भन्दै नेता र जनता दुवैको दबाबमा पर्ने गरेको सुनाउँछन्। नेपालमा जेठ २५ गतेबाट चिनियाँ भेरोसेल खोप लगाउने कार्यक्रम चलिरहेको छ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरीप्रभा खड्गी (श्रेष्ठ)ले आफ्ना मान्छेलाई खोप मिलाइदिनु पर्यो भन्दै नेता तथा सांसदहरूले दबाब दिने गरेको सुनाइन्। उपप्रमुख खड्गीले भनिन्,‘मलाई पनि बिहीबार दिनभरि प्रेसर आएको थियो। त्यो प्रेसर म आफैलाई थाम्न गाह्रो भयो। वडा अध्यक्षलाई गाह्रो नहुने त कुरै छैन।’ 

खोप मिलाइदिनु भन्ने नेताहरूलाई बदनाम हुने भएकाले यस्तो काम नगर्न आफूले अनुरोध गर्ने गरेको उपप्रमुख खड्गीले सुनाइन्। ‘मलाई पनि भन्छन्। प्रेसर आएको थियो। मैले त्यही अनुसारले उहाँहरूलाई (नेतालाई) बुझाइदिएँ। भोलि पत्रकारहरू आइदिन्छन्। लेखिदिन्छन्। यो राम्रो हुँदैन,’उपप्रमुख खड्गीले आफ्ना मान्छेलाई खोप लगाउने व्यवस्था मिलाइदिन अनुरोध गर्ने नेताहरूलाई आफूले दिने गरेको जवाफ सुनाइन्,‘तपाइहरूको पनि बदनाम हुन्छ नेताज्यूहरू। मेरो पनि बदनाम हुन्छ। आजसम्म उपमेयरको केही नराम्रो सुन्नु परेको छैन। तपाइहरूकै इज्जत हो भन्दिन्छु, म चाहिँ।’

सबै जिल्लाका व्यक्ति काठमाडौँमा बसोबास गर्ने भएकाले विभिन्न जिल्लाका सांसद तथा नेताहरूले आफूलाई खोप लगाउने व्यवस्था मिलाइदिन भनसुन गर्ने गरेको उपप्रमुख खड्गी सुनाइन्। 

चितवनको भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी पनि खोप मिलाइदिन भन्दै फोन आउने गरेको बताउँछिन्। महानगरपालिकामा सरकारले तोकेको लक्षित उमेर समूहभन्दा बाहिर नेताका आफ्ना मान्छेहरूले खोप लगाएको जानकारी आएको उपप्रमुख साह ठकुरीले बताइन्। 

तर, विदेश जाने तयारीमा रहेका ६० र ६१ वर्षका श्रीमान् श्रीमतीलाई खोप लगाउन पहल गरे पनि सम्भव नभएको उनको भनाइ छ। ती ६० र ६१ वर्षका व्यक्तिले लाइनमा बसे पनि उपमेयरका मान्छे भनेपछि वास्तै नगरेको तर, अरूलाई छानिछानी खोप लगाएको गुनासो आएको उनले सुनाइन्। 

०००

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन भने आफूलाई नेता तथा सांसदहरूबाट खोप मिलाइदिन दबाब नआएको दाबी गर्छन्। उनले ललितपुरमा विपक्षी दलका सांसदहरू भएकाले पनि आफूलाई फोन नआएको हुनसक्ने तर्क गरे। नगरप्रमुख महर्जनले भने,‘हाम्रोमा त्यस्तो किसिमको अनुरोध पनि आएन, माननीयहरूको। हाम्रो ललितपुर जिल्लामा माननीयहरू सबै नै विपक्षी दलका हुनुहुन्छ। त्यसले गर्दा पनि मलाई भनेनन् होला सायद।’

नगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकामा सहज रूपमा खोप कार्यक्रम सञ्चालन भएको जानकारी दिए। ललितपुर महानगरमा दुई दिन सञ्चालित खोप कार्यक्रम राम्रो भएको उनले बताए। करिब १६ हजार डोज खोप लगाएको उनले बताए। 

६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्रै खोप लगाइएको नगर प्रमुख महर्जनले दाबी गरे। केही भने खोप नपुगेर लाइनमा बसेर पनि फर्किएको उनले बताए। नगर प्रमुख महर्जनले भने,‘६० देखि ६४ उमेर समूहलाई मात्रै लाइयो। अरूलाई लाइएन। यदाकदा १/२ वटा झेली भए होला।’ केही प्रतिशत त्रुटि जहाँ पनि हुने भएकाले त्यसमा चित्त दुखाउन नहुने उनको तर्क छ।

०००

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति भने सरकारले निर्धारण गरेकै मापदण्ड अनुसार खोप लगाइएकाले कुनै समस्या नभएको बताउँछन्। उनले भने,‘यहाँ त कुनै समस्या छैन।’ उनले ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप दिने सरकारको मापदण्ड अनुसार नै खोप दिइएको बताए। जुन कडाइकासाथ लागु गरिएको नगर प्रमुख प्रजापतिले बताए। 

भक्तपुर नगरपालिकाकै उपप्रमुख रजनी जोशी नेता र जनताबाट दबाब आउने भए पनि सरकारले तोकेको लक्षित उमेर समूह भन्दा अन्यलाई खोप नलगाएको बताउँछिन्। उनले भनिन्,‘प्रेसरचाहिँ आएको हो। नआएको हैन। मलाई पनि फोन आएको हो।’ 

तर, एकाध कसैले निर्धारित लक्षित समूह भन्दा बाहिरकाले खोप लगाएको हुनसक्ने भए पनि लक्षित उमेर समूहलाई नै खोप लगाएको उनले दाबी गरिन्। उपमेयर जोशीले भनिन्, ‘एकाध भयो भने म भन्न सक्दिन। कहिलेकाहीँ आउनेहरूले नै म ६४ वर्षको भनेर ढाँटेर आउन सक्छ।’ 

काठमाडौँमा खोपको लफडा

काठमाडौँ महानगरपालिकाका वडा. नं. ३० (ज्ञानेश्वर) मा खोपको विषयमा लफडा भएको छ। वडा. नं. ३० का वडाध्यक्ष दलबहादुर कार्कीले एमालेका नेता कार्यकर्ताको दबाबमा लक्षित उमेर समूह भन्दा बाहिरका ५०/६० जना व्यक्तिलाई खोप लगाएको बताए। उनले एमालेका नेता कार्यकर्ताले वडामा आफ्ना मान्छेलाई खोप लगाउन दबाब दिएको बताए। 

उनले भने,‘बिहीबारचाहिँ ५०/६० जना योङ केटाकेटीले भिडभाड गरेर दिनुपर्ने बाध्यता गराए।’ उनीहरूलाई दिएपछि खोप सकिएर बन्द गरिएको उनले बताए।

एमालेले खोप केन्द्र नै कब्जा गर्न खोजेको उनको आरोप छ। 

६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई दिनुपर्ने भए पनि विदेश पढ्न जाने विद्यार्थी समेतलाई खोप दिइएको उनले बताए। वडा अध्यक्ष कार्कीले भने,‘विदेश पढ्न जाने विद्यार्थीहरूलाई दिनुपर्ने, दीर्घ रोगीहरूलाई दिनुपर्ने, दोस्रो खोप नपाएको छुटेकोहरुलाई दिनुपर्ने, स्वास्थ्यकर्मीलाई दिनुपर्ने, छुट भएका सरकारी कर्मचारीलाई दिनुपर्ने, जनप्रतिनिधि छुटेका छन् भने दिनुपर्ने।’ 

विदेशमा पढ्न जाने डकुमेन्ट बोकेर आएका युवायुवतीलाई खोप दिएपछि विपक्षीले हङ्गामा मच्चाएको उनको तर्क छ। एमालेहरूले आफ्ना प्यानलका युवायुवतीलाई खोप दिनुपर्ने भन्दै हङ्गामा मच्चाएको वडाध्यक्षले आरोप लगाए। नागार्जुन नगरपालिकाको स्युचाटार खोप केन्द्रमा समेत उमेर समूहभन्दा अन्यले खोप लगाएको भन्देै विवाद भएको थियो। त्यहाँ कम उमेर समूहकालाई सुरक्षाकर्मीले नै खोप लगाउन सघाएका थिए।

खोप कम भएकाले यसमा स्थानीय (सम्बन्धित) निकाय जिम्मेवारी हुनुपर्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतम बताउँछन्। प्रत्यक्ष बिरामीको उपचारमा संलग्न पढ्दै गरेका डाक्टर नर्सलाई पनि खोपको प्राथमिकतामा राखेको डा. गौतमले बताए। 

तर, विदेशमा अध्ययनका लागि जाने विद्यार्थीका लागि अहिलेको खोपको प्राथमिकता नभएकाले विदेशमा अध्ययन गर्न जाने भन्नेलाई खोप दिनु सरकारको प्राथमिकता उलङ्घन भएको डा. गौतमले बताए। उनले भने,‘त्यो त उलङ्घन भई हाल्यो नि। विदेश पढ्न जाने नाममा, व्यापार गर्ने छ भन्ने नाममा त्यसरी दिनै पाइँदैन नि।’ सङ्घको मापदण्ड तथा निर्देशन विपरीत जान नहुने डा. गौतमले बताए।  

उपमेयर छक्क

२५ गते सुरु भएको कोरोना विरुद्धको भेरोसेल खोप काठमाडौँ महानगरपालिकामा २९ गतेसम्म लगाउने भने पनि २७ गतेबाट नै खोप लगाउने कार्यक्रम स्थगित भएको छ। स्वास्थ्य सेवा विभागको खोप शाखाबाट खोप नभएको जानकारी प्राप्त भएको काठमाडौँ महानगरपालिकाका सहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए। उनले भने,‘खोप नभएर भन्ने कुराको जानकारी भएको छ।’ महानगरले २८ हजार व्यक्तिमा खोप लगाएको कुँवरले जानकारी दिए। उनले न्यूनतम दिने भनिएको खोप पनि सरकारले नदिएको बताए। 

काठमाडौँ महानगरपालिकामा खोप स्थगित भएकोप्रति आफू छक्क परेको उपप्रमुख खड्गीले बताइन्। महानगरपालिकालाई एक लाख खोप उपलब्ध गराउने भने पनि सरकारले खोप रोकेको उनले बताइन्।

२८ जेठ, २०७८, ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।