बोयर भन्दै लोकल बाख्रा वितरण, भुक्तानी रोकेर कारबाही गर्ने चेतावनी  

बोयर भन्दै लोकल बाख्रा वितरण, भुक्तानी रोकेर कारबाही गर्ने चेतावनी  

इटहरी : मोरङको बेलबारी नगरपालिकाले २०७७ चैत ११ गते अस्ट्रेलियन फुल ब्लोडको बोयर बाख्रा खरिद गर्न सूचना प्रकाशित गर्यो।

सोही सूचनाको आधारमा सङ्खुवासभाको ग्रो अर्गानिक कृषि प्रालीको नाममा ठेक्का सम्झौता भयो। सम्झौतामा अस्ट्रेलियन फुल ब्लड बाख्रा ल्याउने उल्लेख भयो। 

सम्झौताको मितिमै प्रालीले बाख्रा बेलबारी नगरपालिकालाई हस्तान्तरण गर्यो। नगरपालिकाले पनि वडा कार्यालयको सिफारिसमा धमाधम बाख्रा वितरण गर्यो। त्यसको केही दिनमै बाख्रा बोयर नभई लामकाने भएको फेला पर्यो। अस्ट्रेलियन भनेर माग भएको बाख्रा नवलपरासीबाट ल्याएको पुष्टि भयो। 

जेठ १५ गते अस्ट्रेलियाबाट आयात गरेको भनिएको ९२ वटा ‘फूल ब्लड’ बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण भइसकेको छ। बोयर बाख्रा ल्याउन जेठ ३ गते प्रालीले एक करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो। १५ गते वितरण गर्दा बोयर नभई लामकाने भएको भन्दै किसानले विरोध जनाएपछि कुरा आएको हो।

विरोध सुरु भएपछि नगरपालिकाले जेठ १७ गते विज्ञप्ति जारी गरी प्रस्ट पार्ने कोसिस गरेको छ। सो फर्मले अहिलेसम्म भुक्तानी नलगेको नगरपालिकाले उल्लेख गरेको छ। बाख्रा अस्ट्रेलियन फुल ब्लडको भएको प्रस्ट नभए कानुन अनुसार कारबाही गरी कालोसूचीमा दर्ता गराउने नगरपालिकाले चेतावनी दिएको छ। 

नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीका अनुसार आयातकर्ताले भारतको लखनउ हुँदै ल्याएको बताएपछि बाख्रा बाँडिएको हो। नगरपालिकाले कागजात माग्दा समेत नबुझाएकाले अहिलेसम्म भुक्तानी रोकिएको उनले बताए। 

स्थानीय स्तरमा विरोध सुरु भएपछि उपमेयर ढाकाकुमारी पराजुलीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ। विभिन्न राजनीतिक दल सम्बद्ध समितिलाई असार १ गते भित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले विद्युतीय प्रणालीबाट ठेक्का खुलाइएको र सोही अनुसार बाख्रा खरिद गरिएको जानकारी दिए। सबैतिर बुझ्दा बाख्रा आफूहरूको माग अनुसारको नभएकाले समितिको प्रतिवेदन र कानुन अनुसार कारबाही प्रक्रिया अगाडी बढाइने उनले बताए। 

२६ जेठ, २०७८, १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।