लुम्बिनीका मुख्यमन्त्रीलाई खारेज गरेको विपक्षी गठबन्धनको घोषणा 

लुम्बिनीका मुख्यमन्त्रीलाई खारेज गरेको विपक्षी गठबन्धनको घोषणा 

नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति निकालेर शपथ ग्रहण रोक्न निवेदन दर्ता भई जाँचबुझ गर्न माग गरेको अवस्थामा प्रहरीले दमन गरी अल्पमतलाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन्। 

यस्तै प्रदेश प्रमुखले प्रदेश सभा सदस्यहरूको विशेषाधिकार हनन गरी संसदीय प्रक्रिया पूरा नै नगरी विशेष अधिवेशन आव्हान गरेकै दिन अन्त्य गरिएकोमा उनीहरूले रोष व्यक्त गरेका छन्। प्रदेश प्रमुखको यो कदम असंवैधानिक, पदीय मर्यादा विपरीत र गैर जिम्मेवार रहेको भन्दै ती दलहरूले प्रदेश प्रमुखलाई बर्खास्त गर्न समेत माग गरेका छन्।

नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया, नेकपा माओवादी केन्द्रका कुल प्रसाद केसी, जसपाका सहसराम चौधरी र राजमोकी तारा जिसीद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्रीमाथि आपराधिक भएको आरोप लगाइएको छ। मुख्यमन्त्रीले प्रदेश सभा सदस्य विमला कुमारी वलीको किर्ते दस्तखत गरी संसदीय दलको निर्णय गरेको आरोप लगाइएको छ।

माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसीले बहुमतलाई बेवास्ता गरेर अल्पमतको पार्टीको व्यक्तिलाई मुख्यमन्त्री बनाएको प्रति आक्रोश व्यक्त गरे। उनले भद्दा मजाक नाटक, लोकतन्त्रको उपहास, संविधानको उल्लङ्घन भएको टिप्पणी गरे।

उनले मान्छे नै नभएको व्यक्तिको हस्ताक्षर गरेर बहुमत देखाएको बताउँदै किर्ते र झुटको राजनीति पोखरेलले गरेको बताए। लोकतन्त्र र संविधानको रक्षाका लागि ऐतिहासिक गठबन्धन बनेको उनले बताए। 

नेपाली काँग्रेस संसदीय दलका नेता विरेन्द कनौडियाले प्रदेश प्रमुखलाई तत्काल बर्खास्त गर्न माग गरे। उनले महिला प्रदेशसभा सदस्यको संवेदनशील  अंग अंगमा हातपात गर्ने दोषी माथि छानबिन गर्न माग पनि गरे। 

२० बैशाख, २०७८, १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।