बारा जिल्ला : २९१ सङ्क्रमित पुग्दा छैन एउटै आइसोलेसन

बारा जिल्ला : २९१ सङ्क्रमित पुग्दा छैन एउटै आइसोलेसन

काठमाडौं : बारा जिल्लामा कोरोना सङ्क्रमितको संख्या हिजोसम्म २९१ पुगेको छ भने कोरोना सङ्क्रमित ६ जनाको मृत्यु भइसकेको छ।

कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढिरहे पनि यो जिल्लामा अहिलेसम्म एउटै आइसोलेसन छैन।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्की स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय नहुँदा समस्या देखिएको बताउँछन्। ‘बारा जिल्लामा तीनै तहको सरकारको समन्वयको अभाव देखिएको छ,’ कार्की भन्छन्, ‘अहिलेसम्म एउटै आइसोलेसन बन्न सकेको छैन।’

उनका अनुसार जिल्लाभर राम्रो उपचार हुने भनेको जिल्ला अस्पताल कलैया हो। कलैया अस्पताल पनि १५ शय्याको छ। स्वास्थ्यकर्मीको अभाव प्रमुख कारण रहेको उनको भनाइ छ।

कलैया अस्पतालका निमित्त कार्यालय प्रमुख गौरव महतो अस्पतालमा स्वास्थ्यकर्मीको अभाव रहेको बताउँछन्। ‘अस्पतालमा डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्रफरसहित कायम गरिएको ६० दरबन्दीको १० जना मात्रै छौं,’ महतोले भने, ‘३० जना अस्पताल समिति र १६ जना करारमा राखेर काम गरिरहेका छौं।’

विशेषज्ञ डाक्टरहरुको दरबन्दी अस्पतालमा रहे पनि अधिकाश खाली नै रहेको उनले बताए। महतो कोरोना बढ्दै गए अस्पतालले धान्नै नसक्ने बताउँछन्।

‘अस्पतालमा पर्याप्त बेड पनि छैन, उपकरण पनि छैनन्,’ उनले भने, ‘पर्सा जिल्लाको जस्तो अवस्था भए हामीले धान्न सक्दैनौँ।’

स्थानीय तह रमिते
कलैया उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत  प्रेमचन्द्र जैसवालका अनुसार कलैया महानगरपालिकामा ३८ जना सङ्क्रमित छन्। सबै सङ्क्रमितहरु होम आइसोलेसनमा छन्। उनीहरुको अवस्थाबारे उपमहानगपालिकालाई भने केही थाहा नभएको बताए।

‘सबै सङ्क्रमित होम आइसोलेसनमा हुनुहुन्छ। केही समस्या परेको भए आइहाल्नुहुन्थ्यो होला नि,’ उनले भने।

प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले भारतबाट लुकिछिपी आउनेहरु बढेको बताए पनि कलैया उपमहानगपालिकाले भने भारतबाट आउनेहरुको पिसिआर परीक्षण गर्ने तथ्याङ्क राख्ने गरेको पाइएन।

जैसवालका अनुसार कलैया महानगरपालिकाले अहिलेसम्म कोको भारतबाट आए भन्ने तथ्याङ्क पनि राखेको छैन भने एउटै आइसोलेसन वार्ड पनि बनाएको छैन। ‘अहिलेसम्म यो पालिकामा कुनै आइसोलेसन बनेको छैन,’ उनले भने, ‘अस्ति मेयर सापहरुको बैठक बसेको थियो, केही निर्णय भयो की?।’

कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव कोरोना रोकथाम तथा न्यूनीकरणका लागि कुनै बजेट नछुट्याएको बताउँछन्। ‘कोरोना रोकथामको लागि हामीले बजेट छुट्याएका थिएनौँ,’ यादवले भने, ‘रकमान्तर गरेर काम गर्नुपर्छ, हामीले गर्दैछाँै। आइसोलेसन आवश्यक प¥यो भने बनाउँछौँ।’ यादव कलैया उपमहानगरपालिकामा स्वास्थ्यकर्मीको अभाव भएको बताउँछन्।

बारामा १६ वटा पालिका छन्। दुईवटा उपमहानगरपालिका रहेको बारामा स्वास्थ्यको हिसाबले निकै नाजुक अवस्था छ। जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयर कृष्णप्रसाद पौडेल उपमहानगरमा दुई दर्जन सक्रिय कोरोना सङ्क्रमित भए पनि एउटै आइसोलेसन नबनाएको र बनाउन आवश्यक नदेखिएको बताउँछन्।

‘अहिलेसम्म आइसोलेसन बनाउनुपर्ने अवस्था आइसकेको छैन,’ उनले भने, ‘आयो भने बनाउँला।’

समन्वयविहीन सरकार
भारतको सिमानामा पर्छ बारा। जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेश सरकारको समन्वय नहुँदा कोरोना सङ्क्रमित कति छन्, भारतबाट आउजाउ गर्ने कति छन् भन्ने तथ्याङ्क न त जिल्ला प्रशासन कार्यलयसँग छ, न त स्थानीय सरकारसँग नै।

न्यून जनशक्ति, न्यून बेड क्षमता भएको जिल्लाको एकमात्र अस्पतालले धान्न नसक्ने अस्पतालले बताइसकेको छ। यतातर्फ कसैको ध्यान गएको पाइएन। ‘तीन तहको समन्वय नहुँदा कोरोनाले अप्ठ्यारो ल्याउँछ की जस्तो लागेको छ,’ जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत मुरारी कार्की भन्छन्, ‘पैसा नभएको हैन, समन्वय देखिएन।’ कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि कार्की आफैं आइसोलेसनमा छन्।

२० बैशाख, २०७८, १२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।