विद्यालय बन्द गर्ने सरकारको प्रस्तावमा प्याब्सनको आपत्ति, स्वास्थ्य मापदन्ड अपनाएर सञ्चालन गर्न सुझाव

विद्यालय बन्द गर्ने सरकारको प्रस्तावमा प्याब्सनको आपत्ति, स्वास्थ्य मापदन्ड अपनाएर सञ्चालन गर्न सुझाव

काठमाडौं : कोरोनाको जोखिम बढिरहेको भन्दै तीन साता विद्यालय बन्द गर्ने सरकारको प्रस्तावप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आपत्ति जनाएको छ।

प्याब्सनले विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाले सबै विद्यार्थीलाई समेट्न नसक्ने भएकाले विद्यालय बन्द नगर्न आग्रह गरेको हो। प्याब्सनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय नियमित सञ्चालनमा ल्याउन आग्रह गरेको छ।

शनिबार उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तीमा तीन साता बन्द गर्ने प्रस्ताव गरेको थियो।

प्याब्सनले संक्रमण बढेर विद्यालय बन्द गर्न आवश्यक परे सम्बन्धित विद्यालय वा पालिकामा मात्र विद्यालय बन्द गर्न सरकारसँग आग्रह गरेको हो। गरे पनि अन्य ठाउँमा स्वास्थ्य मापदण्डसहित विद्यालय सञ्चालन गर्नुपर्ने माग राखेको छ।

‘आवश्यकताअनुसार शैक्षिक संस्थाहरुमा तातोपानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेसन कक्ष, भौतिक दूरीको व्यवस्थापन गरी सम्बन्धित निकायको सहयोग र समन्वयमा काम गर्नु उपयुक्त हुन्छ,’ प्याब्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्याब्सनले बालबालिकालाई संक्रमणबाट जोगाउन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दूरीे अवलम्बनका गराई संक्रमणबाट सुरक्षित रहने उपाय अवलम्बन गर्न अभिभावकसँग समेत  अनुरोध गरेको छ।

लकडाउन गरिएको अवस्थामा ५० प्रतिशत विद्यार्थीलाई समेत अनलाइन शिक्षामा समेट्न नसकिएको विगतको अनुभवलाई समेत हेरेर विद्यालय बन्दको विकल्प खोजिनुपर्ने प्याब्सनले विज्ञप्तिमा उल्लेख गरेको छ।

सिसिएमसी बैठकले नयाँ प्रजातिको कोरोनाको जोखिम देखिएको भन्दै ११ बुँँदे स्वास्थ्य मापदण्ड सहितको निर्देशिका समेत तयार पारेको छ। प्रस्ताव मन्त्रिपरिषद्बाट पारित हुन भने बाँकी छ।

२९ चैत, २०७७, १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।