काँग्रेसका अग्रज नेताको चिन्ता– राजनीति विकृत भयो, युवा नेता चाकडीमा रुमल्लिए

काँग्रेसका अग्रज नेताको चिन्ता– राजनीति विकृत भयो, युवा नेता चाकडीमा रुमल्लिए

इटहरी : चार दशक नेपाली काँग्रेसको राजनीति गरेका झापाका चन्द्रवीर नेम्वाङ त्यहाँका काँग्रेसीमाझ ‘लडाकु’ नेताका रूपमा चिनिन्छन्। 

काँग्रेस पूर्वक्षेत्रीय सभापतिसमेत रहेका उनले झापामा नेपाली काँग्रेसको संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यो कुरा त्यहाँका पाका नेता बताउँछन्। 

तर, अहिले उनी पार्टीको सक्रिय राजनीति छाडेर व्यवसायी बन्ने बाटोमा अग्रसर छन्। 

उनले कमल गाउँपालिकास्थित आफ्नो घर छेउमै रिसोर्ट सञ्चालनको तयारी गरेका छन्। 

पार्टीको कुनै जिम्मेवारीमा नभए पनि उनको काँग्रेसप्रतिको मोह र आशा जीवितै छ। 

‘काँग्रेसको इतिहास परिवर्तन र ऊर्जाको श्रोत हो। तर इतिहास सम्झाएर अब काँग्रेस बन्दैन,’ बिपी कोइराला अध्ययन प्रतिष्ठानको टोलीसँगको भेटमा उनले भने, ‘युवा पुस्ताले केही नयाँ काम गर्नुपर्यो भन्या ! चाकडी मात्र गरेर देशको पार्टी बन्दैन। र, देश पनि बन्दैन।’

उनले बिपीको विचारमाथि बहस जरुरी रहेको बताए। ‘महाधिवेशनमा नयाँ नेतृत्व होइन, नयाँ विचार आउनुपर्यो। जनता नतिजाको पर्खाइमा छन्। काँग्रेस कता अलमलियो ?’ उनले भने, ‘बिपीको १८ महिने कार्यकालबाट धेरै कुरा सिक्न सकिन्छ। जनताको मुद्दामा प्रवेश नै नगरी राजनीति गर्नु बेकारको कुरा हो।’  

पूर्वमन्त्रीसमेत रहेका झापाका अग्रज नेता नरेन्द्रविक्रम नेम्वाङलाई युवा पुस्ताप्रति झिनो आशा छ। 

झापामा काँग्रेस बचाउने ‘खम्बा’ मानिने नरेन्द्रविक्रम आफ्नो पुस्ताको पालो सकिएको बताउँछन्। 

‘युवा पुस्ताले आँट गर्नुपर्ने हो। नभए कसरी बन्छ देश ? चाकडी मात्र गर्ने हो भने त राजतन्त्र छँदै थियो नि ! लोकतन्त्र भनेकै परिवर्तनको सूचक हो। अब युवाले चाकडी छाडेर काम गर्न थाल्नुपर्यो,’ प्रतिष्ठानको टोलीसँगको भेटमा ७० वर्ष पार गरेका उनले भने। 

झापामा काँग्रेसको बीउ रोप्ने नेतामध्ये पर्छन् पूर्व मन्त्री केशवकुमार बुढाथोकी। ७० वर्षीय बुढाथोकी युवापुस्ताप्रति भरोसा राख्छन्। अहिले नेतृत्वमा रहेको पुस्ताले काँग्रेस र देशको लागि ठुलो योगदान गर्न नसक्ने उनको विश्वास छ। ‘क्रमिक विकासले मात्र जनता सन्तुष्ट हुन सक्दैनन्। एकै पटक डास्ट्रिक चेन्ज आवश्यक छ। विगतमा काँग्रेसले धेरै एरर गरिसक्यो,’ टोलीसँगको भेटमा उनले भने, ‘कम्युनिस्टसँग मिल्नु ठुलो गल्ती हो। कम्युनिस्टले सहयोग गर्छ भनेर आस गर्दा गिरिजाबाबु राष्ट्रपति बन्न पाएनन्। शेरबहादुर देउवाले माओवादीसँग मिल्न खोज्दा चुनावमा हार बेहोर्नुपर्यो।’ 

काँग्रेसका पुराना नेता तेजप्रसाद सिटौला अहिले राजनीतिमा निष्क्रिय छन्। ८० वर्ष पार गरेका तेजप्रसादको तेज अझै घटेको छैन। लेख्न र पढ्न उत्तिकै क्रियाशील छन् उनी। 

हाल मोरङ, सुन्दरहरैचा निवासी सिटौलाले नै तेह्रथुममा नेपाली काँग्रेसको बीउ रोपेका हुन्। 

तर, अहिलेको काँग्रेसको अवस्था देखेर दिक्क मान्छन् उनी। 

पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका सिटौला राजनीति विकृत बन्दै गएको बताउँछन्। 

‘सबै आ–आफ्नो पद र प्रतिष्ठा जोगाउन लागेका छन्,’ प्रतिष्ठानको टोलीसँगको भेटमा उनले भने, ‘देश आर्थिक रूपले जर्जर भइसक्यो। सामाजिक रूपमा विभाजित हुन थालिसक्यो। अझै सत्ताकै खेल गरिरहेका छन्। बिपीको पार्टीभन्दा पनि लाजमर्दो हुन थाल्यो।’

उनी अब युवापुस्ताले नेतृत्व लिनुपर्ने सुझाउँछन्। ‘युवा नेताले चाकडी छाडेर नेतृत्व लिए केही हुन्थ्यो भन्ने हो। नभए यसरी नै चल्छ,’ उनले भने। 

२९ चैत, २०७७, ०७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।