एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक : नयाँ सरकार गठनका लागि अन्य दलसँग वार्ता गर्ने

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक : नयाँ सरकार गठनका लागि अन्य दलसँग वार्ता गर्ने

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि अन्य दलसँग वार्ता र परामर्श गर्ने निर्णय गरेको छ।

संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज (मंगलबार) बसेको बैठकले नयाँ सरकार गठनका लागि प्रदेशसभामा रहेका अन्य दलसँग वार्ता र परामर्श गर्न दलका नेता कंँडेललाई जिम्मेवारी दिने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए।  

बैठकले प्रमुख सचेतक शाहको संयोजकत्वमा गठित पार्टीको विधान संशोधन कार्यदलले तयार पारेको मस्यौदालाई पारित गर्न पार्टी कमिटीसमक्ष पठाउने निर्णय गरी संसदीय दलबाट पास गरेको छ। यस्तै, पार्टीको निर्णयलाई मानेर सरकारबाट बाहिरिएका तीनैजना मन्त्रीलाई धन्यवाद दिइएको छ। 

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका एमालेका तीनजनै मन्त्रीले आज राजीनामा दिएपछि एमालेले नयाँ सरकार गठनको तयारी थालेको हो। 

सभामुखसहित २० जना सांसद् रहेकाे प्रदेशसभामा एमाले ठूलो दल हो। 

सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आज राजीनामा दिएका थिए।

अब कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री र माओवादी केन्द्रका दुई मन्त्री छन्। 

यही चैत ४ गतेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठककाे निर्णय अनुसार एमालेबाट सरकारमा सहभागी भएका तीनजना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन्। उक्त बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने र सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। 

२०७४ फागुन ३ गते तत्कालीन एमालेले माओवादी केन्द्रलाई प्रदेश सरकार गठनका लागि समर्थन गरेको थियो। फागुन ६ गते सरकारमा मन्त्री गएका थिए। 

एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहीले आगामी वैशाख ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ। 

प्रदेश प्रमुखको कार्यालयले तोकिएको अवधिमै विश्वासको मत लिन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ। प्रदेशसभामा माओवादी केन्द्रका १२ (एकजना निलम्बित), नेपाली कांसका ६ र राप्रपाका १ जना प्रदेशसभा सदस्य छन्। 

२४ चैत, २०७७, २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।